विश्व क्रिकेटको सर्वोच्च निकाय हो– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)। यसका अध्यक्ष ग्रेग बार्कलेले गत साता मात्रै नेपाल भ्रमण गरेर फर्किए।
उनको भ्रमणले नेपालको क्रिकेट विकासमा थप टेवा पुग्ने चर्चा नेपाली क्रिकेट वृत्तमा छ। खासगरी पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास छ।
पछिल्लो समय नेपाली क्रिकेटले पाइरहेको लोकप्रियतासँग जोडेर पनि उनको भ्रमणलाई हेरिएको हो। नेपाल भ्रमणका दौडान उनी त्रिवि क्रिकेट मैदान, मूलपानीको निर्माणाधीन मैदानमै पुगेर अवलोकन गरे।
त्रिविमा पुग्दा उनले आफूले टिभीमा देखेको दर्शकभरी मैदान यही हो भनेर सोधेका थिए। यसले पनि उनी नेपाल आउन कति लालायित थिए भन्ने बुझाउँछ।
त्यसो त नेपालमा देखिएको क्रिकेट क्रेजको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि राम्रै चर्चा हुने गरेको छ।
‘त्यति सहज छैन न्युट्रल भेन्यु’
नेपालको आफ्नै ‘फ्यान बेस’, फैलिँदो लोकप्रियता र पाइरहेको सफलताले नेपाललाई ‘न्युट्रल भेन्यु’ बनाउन सके देशले नै राम्रो फाइदा लिन सक्नेबारे कुरा उठ्न थालेको छ।
न्युट्रल भेन्युको रुपमा विकास गर्न सकिए पर्यटनसँगै आर्थिक रुपमा पनि फाइदा लिन सकिने चर्चा चल्ने गरेको छ। खासगरी दक्षिण एसिया विश्व क्रिकेटकै केन्द्रका रुपमा देखिँदै गर्दा नेपालभित्र यसबारे बहस र चर्चा हुनु स्वाभाविक पनि हो।
यस्तोमा भारत र पाकिस्तानबीचको वैमनश्यताका कारण उनीहरु एकअर्का देशमा गएर खेल्दैनन्। त्यसैले नेपाललाई न्युट्रल भेन्युका रुपमा विकास गर्न सकिने अवसर छ।
तर त्यसका लागि त्यति सहज नरहेको बार्कलेको संकेत छ।
‘न्युट्रल भेन्युका लागि एउटा मात्र रंगशाला भएर पुग्दैन, त्यसका लागि वैकल्पिक रुपमा ३/४ वटा वैकल्पिक मैदानको आवश्यकता छ’, बार्कलेको आशय थियो।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्द पनि पूर्वाधारको सवालमा आईसीसीले अहिले नै यसबारे केही नगर्ने बताउँछन्।
त्यसो भए बार्कलेको भ्रमणलाई कसरी लिने त भन्नेमा भने चन्द उनको भ्रमणबाट धेरै फाइदा पाउन सक्ने देख्छन्।
बार्कलेसँग छलफल र भेटघाट गरेका उनले भने, ‘तर, क्रिकेटको एक्टिभिटिज (गतिविधि) गर्न दिने, स्टेडियम बन्यो भने अन्य प्रतियोगता गर्न दिने, ठूला देशहरुलाई नेपालमा खेल्नका लागि वातावरण बनाइदिने, टेस्ट राष्ट्रहरुलाई नेपालमा खेल्न पठाइदिने सवालमा आईसीसी सकारात्मक छ।’
बार्कलेको भ्रमणलाई अध्यक्ष चन्द मुख्य रुपमा सरकारको धारणा बुझ्नका लागि भएको मान्छन्।
उनको भ्रमणपछि आईसीसीले नेपालको क्रिकेटलाई ध्यान दिने विश्वास पनि चन्दको छ।
वुमन्स प्रिमियर लिग (डब्ल्युपीएल) का क्रममा भारत आएका बार्कले सोही सिलसिलामा नेपाल आएका थिए।
पूर्वाधार विकासलाई प्राथमिकता दिएको नेपालको सन्देश
नेपालमा तीन दिन बसेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङसँग भेट गरेका थिए।
नेपाली खेलकुदका विशिष्ट व्यक्तिसँग भेटका साथै उनले मैदानको अवलोकन पनि गरेका थिए। सरकारसँगको भेटमा नेपालको क्रिकेट विकासमा सरकारले खुला प्रतिबद्धता जनाएको अध्यक्ष चन्दले बताए।
सरकारको तर्फबाट क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै स्टेडियम बनाउने र फ्लड लाइट राख्ने तथा सरकारले राष्ट्रिय गौरवका आयोजनामा समेटेका मैदानसहित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र अन्यलाई तयार पार्ने प्रतिबद्धता जनाइएको छ। समग्रमा क्रिकेटमा लगानी बढाउने प्रतिबद्धता सरकारले दिएको छ।
नेपालको क्रिकेट मैदानको अवलोकन गरेपछि बार्कलेले नेपालको क्रिकेट पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताएका थिए।
उनले भने, ‘नेपालका क्रिकेटका समर्थक राम्रा छन् तर पूर्वाधार विकासमा धेरै गर्नुपर्नेछ। पूर्वाधार विकास भएका आईसीसीका धेरै सिरिजहरु गर्न सक्छौँ।’
धेरै एक्सपोजर खेल पाउने सम्भावना कति?
क्यानका सचिव पारस खड्काले पनि आईसीसीको अध्यक्ष पहिलो पटक नेपाल आउनु गर्वको कुरा भएको बताए। उनको भ्रमणले नेपालले धेरै एक्सपोजर खेल पाउने सम्भावना देखेको उनी बताउँछन्।
नेपालले सन् २०२७ मा यू–१९ महिला विश्वकपका लागि तयारी गरिरहेको छ। नेपालले बंगलादेशसँग सहआयोजकका रुपमा विश्वकप आयोजना गर्न लागेको हो। त्यसका लागि सरकार पनि सकारात्मक रहेको सचिव खड्काले बताए।
आईसीसी अध्यक्षको नेपाल भ्रमणले सन् २०२७ अघि नेपालले टेस्ट राष्ट्रसँग खेल्ने वातावरण बनाउने आशा राखिएको छ।
अध्यक्ष चन्दले भने, ‘पूर्वाधार राम्रो भयो भने नेपालमा क्रिकेट राम्रो हुन्छ, आईसीसीको पनि ध्यान जान्छ, ठूला ठूला प्रतियोगिता गर्न ३/४ वटा मैदान चाहिन्छ। टेस्ट प्लेइङ राष्ट्रको आधारशिला पनि मैदान नै हो।
टेस्ट प्लेइङ देश बन्नका लागि सोही फरम्याटको प्रतियोगिता मात्र हुनुपर्छ भन्ने मात्र होइन। टुडे–थ्री डेको क्रिकेट नहुँदा पनि बन्न सक्छ।
नेपालले अहिले एक दिवसीय खेल खेलिरहेको छ। अबको जोड भनेको पूर्वाधार विकास नै हो। आईसीसीको मुख्य जोड पनि पूर्वाधारमा नै छ।
अध्यक्ष चन्दका अनुसार बाँकी आईसीसीले गर्ने स–साना पूर्वाधारमा सहयोग, सामग्री, क्रिकेट प्रवर्द्धनको कुरा होला। उसले पूर्वाधारका लागि भनेर छुट्टै सहयोग नगरे पनि अन्य थप सहयोग गर्नेछ।
Shares
प्रतिक्रिया