भारतको गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।
सिरिजको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो।
बरोडाले भने सिरिजमा पहिलो हार भोगेको हो। बरोडाले भने आफ्नो पहिलो खेलमा गुजरातलाई ५ विकेटले हराएको थियो।
नेपाली टोलीले दिएको १ सय ५७ रनको बलियो लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा १ सय २९ रनमा अलआउट भयो।
बरोडालाई कम स्कोरमा रोक्न करण केसीले ३ विकेट लिए। अविनाश बोहोरा र सोमपाल कामीले समान २ विकेट लिए। गुलशन झा र दीपेन्द्र सिंह ऐरीले समान एक-एक विकेट झारे।
त्यसअघि गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा वरोडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५६ रनको बलियो योगफल तयार पारेको थियो।
नेपालका लागि कुशल मल्ल ४० दिपेन्द्र सिहं ऐरि ५ रनमा नटआउट रहे।
सन्दीप जोरा २९ रन बनाउँदा रन आउट हुन पुगे। अनिल कुमार शाह २५ रन बनाउँदा क्याच आउट भए। कप्तान रोहित पौडेल १८ रनमा रन आउट भए। गुलशन झा १३ रनमा क्याच आउट भए।
बरोडाका लागि भानु पानियाले ३८ रन बनाए। बाबा खानले २७ र विष्णु सोलालङकीले २५ रन बनाए।
बरोडाका लागि बाबा खानले २ विकेट लिए। मोहित मोंगिया र परिक्षित पटिदारको नामा समान एक विकेट रह्यो। नेपालले बुधबार पुनः गुजरातसँग खेल्नेछ।
नेपाली टोलीले शुक्रबार बरोडाविरुद्ध पुनः खेल्नेछ। शीर्ष २ मा रहने टोलीले फाइनल खेल्ने छन्।
Shares
प्रतिक्रिया