नेपालमा क्रिकेट क्रेज दिनदिनै बढ्दो छ। जुनसुकै फम्र्याटको खेल हुँदा पनि हजारौँ दर्शक टोलीको हौसला बढाउन मैदानमै पुग्छन्।
पछिल्ला दिन एकपछि अर्काे सफलतातिर लम्किरहेको क्रिकेटले आमनेपालीको ध्यान तान्दैछ।
क्रिकेटको यो क्रेजले चर्चित हाँस्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई पनि तान्यो।
देश–विदेशमा विभिन्न कार्यक्रम गर्न गइरहने यो जोडीले त्यहाँ सुविधा सम्पन्न रंगशाला देख्दै आएका थिए।
नेपालमा क्रिकेट क्रेज भए पनि भौतिक संरचना अभाव थियो। गतिलो संरचना नहुँदा चौरमा बसेर पनि दर्शकले नेपाली खेलाडीको मनोबल बढाएको कुराले उनीहरूको मन छोयो।
त्यही भएर सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्ने निचोडमा उनीहरू पुगे।
त्यसका लागि यो जोडीको प्रोफाइलले पनि साथ दियो। क्रिकेट रंगशालाको सपना देख्नुअघि यो जोडीले महोत्तरी र काभ्रेपलाञ्चोकमा भूकम्पपीडित र गरिबका लागि आकर्षक सामूहिक बस्ती बनाइसकेका थिए। यी बस्ती बनाउना उनीहरूलाई देशदेखि विदेशसम्मका नेपालीले आर्थिक सहयोगसँगै हौसला दिए।
लाखौ दर्शकलाई हँसाउन सक्ने यो जोडीले ती दुई बस्ती बनाएर विश्वास जितिसिकेका थिए। यस्तोमा क्रिकेट रंगशालाको सपना देखेका उनीहरूको एउटा आग्रहमै करोडौँ सहयोग जुट्ने अवस्था बन्यो।
भिडिओ
२०७२ सालको महाभूकम्पपछि महोत्तरीमा एकीकृत नमुना मुसहर बस्ती बनाउन लाग्दा उनीहरूले सबैभन्दा पहिले सहयोग जुटाए।
त्यसपछि भूकम्पीडितका लागि काभ्रेको गिरान्चोकमा पहरी बस्ती उनीहरूले त्यसैगरी ठड्याए। धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत उनीहरूले दुवै ठाउँमा सयभन्दा बढी परिवारका लागि सुन्दर सामूहिक बस्ती तयार पारेका थिए।
त्यहीबेला नेपाली क्रिकेटको क्रेज बढ्दो थियो। अर्कातिर समर्थकको चासो पनि क्रिकेटमा बढ्दो क्रममा थियो।
दुईवटा बस्ती बनाउन सफल यो जोडी रंगशाला बनाउने योजनातिर लागेर जमिन खोज्न जुट्यो। पैसा तिर्नु नपर्ने, सकभर सरकारी जग्गा नै उनीहरूको खोजीमा थियो। धेरैतिर धाएपछि उनीहरूले चितवनमा जग्गा पाए।
जग्गा खोजीका क्रममा उनीहरू भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकहाँ पुगे। उनैले क्रिकेट रंगशाला बनाउने जग्गा दिन तयार भइन्। महानगरले २०७५ सालमा सम्झौता गरेर धुर्मस–सुन्तलीलाई कृषि क्याम्पसको जग्गा दियो।
२० बिघा ६ कठ्ठा जग्गामा धुर्मुस–सुन्तली फाउन्डेसनले रगंशाला बनाउन थाल्यो। फाउन्डेसनले देश–विदेशबाट एकैपटक सहयोग माग्यो। सुरुमा चन्दादाता धेरै देखिए, सहयोग पनि गरे।
अनिश्चित श्रोत साधन र चन्दाको भरमा फाउन्डेसन रंगशाला निमार्णमा जुट्यो। रंगशालाकै लागि भनेर फाउन्डेसनले स्वदेश र विदेशमा रहनेबाट चन्दा उठायो। महापुराणसमेत लगायो।
स्थानीयबासीदेखि बालबालिकालेसमेत खाजा खर्च कटाएर सहयोग गरे। तर त्यहीबेला विश्वमा कोभिड महामारीको संकट आयो। यो संकटले विश्वमै आर्थिक समस्या देखियो। त्यसपछि सहयोगका लागि तयार चन्दादाता पन्छिन थाले।
कोभिडको संकटसँगै आर्थिक सहयोग आउन छाडेपछि तथा सरकारी प्रतिबद्धतासमेत पूरा नहुँदा फाउन्डेसनले १६ करोड बढी ऋण देखाउँदै रगंशाला निमार्णबाट हात झिक्यो। सहयोग दाताहरूबाट दिने भनेको रकम नउठेको भन्दै २०७८ साउनदेखि निमार्ण रोकियो।
मैदानमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको फाउन्डेसनले जनाएको छ।
अलपत्र परेको लामो समयपछि गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरे।
गत कात्तिकमा यो रंगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्यो।
यही रगंशालामा अहिले प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता चलिरहेको छ। प्रतियोगिताको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि यसअघिका जटिलता र समस्या समाधान हुँदै गएको बताए।
उनले भने, ‘निमार्ण द्रूत रुपमा बढ्दै गएका छन्। यसका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त श्रोत सुनिश्चित गरिनेछ।’
यो क्रिकेट रगंशाला निमार्णपछि चितवन र आसपासको क्षेत्र स्पोर्टस् हबको रुपमा विकास हुने बताएका उनले युवा पलायन रोक्नसमेत सहयोग पुग्ने विश्वास दिलाए।
बागमती खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले गौतमबुद्ध अन्तराष्ट्रिय रगंशाला देशमा मात्रै नभइ विदेशमा पनि चर्चाको विषय भएको बताए।
रंगशाला निमार्ण रोकिँदा धेरैमा निराशा छाएको भन्दै अहिले बागमती सरकारले यही मैदानमा खेल उत्सव उद्घाटन गरेर खुसीको सञ्चार गराएको बताए।
केही समयअघिसम्म अलपत्र यो मैदानको निर्माण अब भरतपुर महानगर र बागमती प्रदेशको आर्थिक साझेदारीमा अघि बढ्ने छ।
उनले भने, ‘अब यो निर्माण हुन्छ भन्नेमा विश्वस्ता छु। डीपीआर रिभ्यु गरेर ठेक्का आव्हान भएको छ। ३० महिनामा यसको प्याकेज निर्माण सम्पन्न भइसक्छ। बजेट अभाव हुँदैन। यसका लागि केन्द्र सरकारले पनि चासो दिएको छ। खेल पुर्वाधार मध्येमा यो प्राथमिकतामा छ। महानगरले यसको अगुवाइ गरेको छ।’
भरतपुरमा मैदान निर्माण हुँदा बहुआयामिक फाइदा हुने उनी बताउँछन्। उनले थपे, ‘चितवनको सबैभन्दा महत्वपूर्ण भौतिक पुर्वाधार यही हो। अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा यहाँको व्यापार बढ्छ, खेलाडीले आफ्नै सुविधासम्पन्न ठाउँमा खेल्न पाउँछन्।’
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले तीन वर्षसम्म रोकिएको मैदानको टेण्डरको समय सकिन लागेको सुनाए। अबको २ महिनामा निर्माण सामग्री आउने उनले बताए।
१ अर्बभन्दा बढी रुपैयाँको टेण्डर आव्हान भएको छ। पहिलो चरणमा मैदान चलायमान भएपछि भीआईपी टावर बन्ने उनले सुनाए।
पाँच वर्षअघि भरतपुर–१५ क्रिकेट मैदान बन्छ भनेर आफूहरूले नसोचेको उनी सुनाउँछन्। ‘यसको जस धुर्मुस–सुन्तलीलाई जान्छ, मेगा प्रोजेक्ट आउँदा यस्तो होला भनेर सोचेका थिएनौँ।
अहिले मेयर सा’व रंगशाला तयार पार्न लाग्नु भएको छ। सोचे जस्तो सजिलो नहुने रहेछ। हाम्रो जिल्ला क्रिकेटको हब बन्नेछ’, उनले भने।
निर्माण पूरा भएपछि यो नेपालको सबैभन्दा राम्रो मैदान हुनेछ। यसमा नेपाल क्रिकेट संघले अन्तराष्ट्रिय प्रतियोगिता गर्न सक्नेछ।
Shares
प्रतिक्रिया