च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा बुधबार राति उपाधि दाबेदार म्यानचेस्टर सिटी र रियल मड्रिड भिड्दै छन्।
क्वार्टरफाइनलको दोस्रो लेग सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा हुनेछ।
खेलअघि सिटीका मिडफिल्डर बर्नान्डो सिल्भाले लगातार दोस्रो वर्ष ट्रेबल उपाधि जित्न आफूहरुका लागि प्रेरणा भएको बताएका छन्।
सिटीले गत वर्ष प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको उपाधि जितेको थियो।
खेलअघि सिल्भाले भने, ‘हामी सिटीको विरासत सिर्जना गर्न सक्छौँ। हामी लगातार दुई पटक च्याम्पियन्स लिग जित्न चाहान्छौँ। यदी हामीले लगातार दुइ वटा ट्रेबल जित्यौँ भने त्यो विरासत हुनेछ।’
उनले एक हप्तामा सबै प्रतियोगिताबाट बाहिर हुन सक्ने भए पनि आफ्नो टिम लडिरहेको बताए।
सिटीले शनिबार एफए कपको सेमिफाइनलमा चेल्सीको सामना गर्दै छ। प्रिमियर लिगमा पनि सिटीलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ।
Shares
प्रतिक्रिया