घरेलु मैदानमा लियोनलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वान उपाधि ह्याट्रिकको नजिक पुगेको छ।
अघिल्लो दुई सिजनको च्याम्पियन पीएसजी लगातार तेस्रो पटक लिग वान उपाधिको नजिक छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले लियोनमाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो।
केलियन एमबाप्पे बेन्चमा रहेको खेलको सुरुवातको तेस्रो मिनेटमा नै नेमान्जा माटिकको आत्मघाति गोलमा पीएसजीले सुरुवाती अग्रता बनाएको थियो।
खेलको छैटौँ मिनेटमा लुकास बेराल्डोको गोलमा पीएसजीले सुरुवातमा नै २–० को अग्रता बनाएको थियो।
त्यसपछिका थप दुई गोल गोन्कालो रामोसले गरे। पोर्चुगिज फरवार्ड गोन्कालोले खेलको ३२ औँ मिनेटमा गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा रामोसले व्यक्तीगत दोसो गोल गर्दा टोलीका लागि चौथो गोल गर्दै टोलीलाई आरामादायी अग्रता दिलाएका थिए।
खेलको ३७ औँ मिनेटमा अर्नेस्ट नुआमाहको गोल लियोनका लागि शान्त्वना गोल बन्न पुगयो।
लिगमा पाँच खेल बाँकी रहँदा पीएसजी दोस्रो स्थानको मोनाकोभन्दा ११ अंकले अघि छ। समान २९ खेलबाट दोस्रो स्थानको मोनाकोको ५५ र पिएसजीको ६६ अंक छ।
बुधबार पीएसजीलेले पुछारमा रहेको लोरिएन्टलाई पराजित गरे र दोस्रो स्थानको मोनाकोले चौथो स्थानमा रहेको लिलीलाई घरेलु मैदानमा जित्न नसके पिएसजी १२ औँ पटक लिग वान च्याम्पियन बन्नेछ।
Shares
प्रतिक्रिया