ad ad

खेल


कठिन रूट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ– धाविका सन्तोषी

कठिन रूट भएकाले राम्रो प्रदर्शन गर्न सकिनँ– धाविका सन्तोषी

नेपालखबर
साउन २७, २०८१ आइतबार १८:४५, काठमाडौँ

नेपालकी म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा म्याराथनको रुट केही कठिन भएकाले सोचेअनुरुप प्रदर्शन गर्न कठिन बताएको बताएकी छिन्।

पेरिस ओलम्पिकमा ९२ धाविकामध्ये उनी प्रतिस्पर्धामा ७९औं स्थानमा खुम्चिएकी छिन्। जहाँ ११ धाविकाले म्याराथन पूरा गर्न नै सकेनन्।

म्याराथन पूरा गरेपछि पत्रकारसँगको कुराकानीमा सन्तोषीले नेपालबाट करियरकै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ आएपनि पेरिस पुगेपछि रुट कठिन भएको जानकारी पाएपछि पूरा गर्न नै चुनौती भएको बताइन्।

आफ्नो करियरकै चुनौतीपूर्ण कोर्सका रूपमा यो म्याराथनलाई लिएको उल्लेख गर्दै सन्तोषीले आफू १५ किलोमिटरसम्म समय सुधार गर्न भन्दा पनि दूरी पार गर्न तवरबाट दौडिएको बताइन्।

यो म्याराथनमा नेदरल्याण्डकी सिफन हसन दुई घण्टा २२ मिनेट ५५ सेकेण्डका साथ स्वर्ण जित्न सफल भइन्। उनले ओलम्पिक रेकर्ड राखिन्। 

इथोपियाकी टिगस्ट एसिफाले रजत र हेलेन ओबिरीले कांस्य पदक जितिन्।

एसिफाले दुई घण्टा २२ मिनेट ५८ सेकेण्ड समय लगाउँदा हेलेनले दुई घण्टा २३ मिनेट १० सेकेन्डमा पार गरिन्।

सन्तोषीले भने दुई घण्टा ५५ मिनेट ६ सकेण्डको समय खर्चिइन्। पेरिस ओलम्पिकमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गरे। कुनैपनि खेलाडीको प्रदर्शन सुखद् रहन सकेन। 

अधिकांश खेलाडीको चुनौती प्रारम्भिक चरणमा नै सीमित हुँदा प्रदर्शन पनि राम्रो बन्न सकेन। सन्तोषीको चुनौती नै पेरिस ओलम्पिकमा नेपालको अन्तिम प्रतिस्पर्धा हो।

यसअघि सुटिङकी सुस्मिता नेपाल, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, जुडोकी मनिता श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले चुनौती प्रस्तुत गरेका थिए।

सन्तोषीको करियरको यो दोस्रो अन्तर्राष्ट्रिय म्याराथन हो। बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्।

निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २२ सेकेण्डमा पार गरेकी थिइन्। 
यो नै उनले दौडिएको पहिलो र एक मात्रै म्याराथन हो। त्यो समय उनले पेरिसमा सुधार गर्न सकिनन्। गत १९ औं एशियाली खेलकुदमा पनि उनले सहभागिता जनाएकी थिइन्।

सन्तोषीको मुख्य प्रतिस्पर्धा १० हजार मिटर दौड हो। यसै विधामा उनले १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदक पनि जितेकी छन्। 

नेपाललाई एथलेटिक्सतर्फ सागमा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्। ३० वर्षीय सन्तोषीले युनिभर्सालिटी कोटाअन्तर्गत पेरिस ओलम्पिकको म्याराथनमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।

नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सन्तोषीको सहभागिताका लागि नाम सिफारिस गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .