ad ad

खेल


एएफसी महिला च्याम्पियनसिप : पहिलो खेलमा आज उज्वेकिस्तानसँग भिड्दै नेपाल

एएफसी महिला च्याम्पियनसिप : पहिलो खेलमा आज उज्वेकिस्तानसँग भिड्दै नेपाल

मलेसिया प्रस्थान गर्ने बेला एएफपीको टोली


नेपालखबर
भदौ ९, २०८१ आइतबार ७:३०, काठमाडौँ

एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल एपीएफ क्लब आज (आइतबार) उज्वेकिस्तानको पीएफसी नसाफविरुद्ध भिड्दै छ।

मलेसियाको लिकास स्टेडियममा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

अनिता बस्नेतको कप्तानीमा रहेको मैदान उत्रनेछ। एपीएफले आज नसाफलाई हराए समूह चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ।

खेलमा एपीएफकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भने हुने छैनन्। उनी व्यावसायिक लिगका लागि हाल फ्रान्समा छिन्। च्याम्पियनसिपमा उनको अभाव महसुस हुन सक्नेछ।

तर राष्ट्रिय टोलीका अनुभवी खेलाडीका साथ मलेसिया पुगेको एपीएफको टोली उच्च मनोबलमा छ।

एपीएफले राष्ट्रिय टोलीमा रहेकी नेपाल पुलिस क्लबकी गोलरक्षक उषा नाथ र डिफेन्डर अमृता जैसीलाई भित्र्याएको छ। यस्तै त्रिभुवन आर्मी क्लबका अमिशा कार्की र दीपा शाहीलाई समेटेर टोलीलाई बलियो बनाएको छ।

एपीएफको टोली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङको प्रशिक्षणमा छ।

यस्तै साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा घाइते भएकी मिडफिल्डर प्रिती राईले यही च्याम्पियनसिपबाट पुनरागमन गर्दैछिन्। 

एपीएफले महिला लिग च्याम्पियनसिपको विजेताको हैसियतमा च्याम्पियनसिप खेल्न लागेको हो।

एपीएफले बुधबार मलेसियाको आयोजक सबाहविरुद्ध खेल्ने छ। एपीएफ यी दुई टोलीलाई हराउँदै समूह चरणमा स्थान बनाउने रणनीतिमा छ। 

च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुँदै छन्। यीमध्ये सन् २०२४ को फिफा वरीयताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाइसकेका छन्।

बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्नेछ। ती क्लबलाई ४ समूहमा विभाजन गरिएको छ।

यी चार समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन्। 

प्रारम्भिक चरणका खेल आज (आइतबार) देखि शनिबारसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .