एएफसी महिला च्याम्पियनसिप अन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा नेपालको एपीएफ क्लब उज्वेकिस्तानको पिएफसी नसाफसँग पराजित भएको छ।
मलेसियाको लिकास स्टेडियममा भएको खेलमा एपीएफ नसाफसँग १–० गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा एपीएफले गोल खान पुग्यो। दोस्रो हाफको चौथो मिनेटमा लिलि नाइबर लरेन्सले गरेको गोल नै नसाफका लागि निर्णायक बन्यो।
नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपीएफ पहिलो टोली हो। पहिलो खेलमा नै हार व्यहोरेसँगै एपीएफको समुह चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ।
एपीएफले अब दोस्रो खेलमा बुधबार मलेसियाको घरेलु टोली सबाहविरुद्ध खेल्नेछ।
एपीएफले नेपालको महिला लिग च्याम्पियनसिपको विजेताको हैसियतमा च्याम्पियनसिप खेल्न लागेको हो।
च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन्। च्याम्पियनसिपमा सन् २०२४ को फिफा वरियताको शीर्ष ८ मा रहेका राष्ट्रका क्लबहरुले सिधै समुह चरणमा स्थान बनाएका छन्।
बाँकी १४ राष्ट्रका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ।
१४ देशका क्लहरुलाई ४ समूहमा विभाजन गरिएको छ। चार समूहका विजेताले च्याम्पियन्सिपको समूह चरणमा स्थान बनाउनेछन्।
Shares
प्रतिक्रिया