ad ad

खेल


हालान्डको २ गोलमा म्यानचेस्टर सिटी विजयी, अपराजित यात्रा जारी

हालान्डको २ गोलमा म्यानचेस्टर सिटी विजयी, अपराजित यात्रा जारी

नेपालखबर
भदौ ३०, २०८१ आइतबार ७:१७, काठमाडौँ

एर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ। 

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा ब्रेनफोर्डविरुद्ध सिटी २–१ गोलअन्तरले विजयी भएको हो।

खेल सुरु भएको २३ सेकेन्डमै योगेन विसाले गोल गरेर ब्रेनफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए। तर जारी सिजनमा सबैभन्दा छिटो गोल गरेर पनि ब्रेनफोर्डले सुरुवाती अग्रता जोगाउन सकेन।

सुरुवातमा पछि परिसकेको सिटी, हालान्डले २ गोल गरेपछि अपराजित यात्रा कायम राख्न सफल भएको हो।

सिजनको सुरुवातदेखि नै उच्च फर्ममा देखिएका हालान्डले दुवै गोल पहिलो हाफमा गरेका हुन्।

जारी लिगमा ९ गोल गरेका हालान्ड सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। ३ गोल गरेका लिभरपुलका मोहमद सलाह दोस्रो स्थानमा छन्। 

खेलको १९औँ मिनेटमा हालान्डले पहिलो गोल गरेपछि सिटी ब्रेनफोर्डसँग बराबरीमा आएको थियो। फेरि ३२औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी २–१ ले अघि भयो। यसपछि कुनै गोल हुन नसक्दा सिटी २–१ ले विजयी भएको हो। 

जितसँगै शीर्ष स्थानको सिटीले दोस्रो स्थानको लिभरपुलसँग अंक दूरी बढाएको छ।

चार खेलबाट सिटीले १२ अंक बनाएको छ भने लिभरपुलको ९ अंक छ।

गएरातिकै खेलमा म्यानचेस्टर युनाइटेडले साउथहेप्टनविरुद्ध ३–० को फराकिलो जित दर्ता गरेको छ।

अर्को खेलमा ब्राइटन र एप्सबिच टाउनले गोलरहित बराबरी र क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ को बराबरी गर्दै अंक बाँडे।

यस्तै फुलहाम र वेस्ट ह्यामले पनि १–१ को बराबरी गरेभने एस्टोन भिल्लाले एभर्टनविरुद्ध ३–२ को संर्घषपूर्ण जित हासिल गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .