टोयोटा मोटर कर्पोरेसनको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस)ले राष्ट्रिय टेबल टेनिस च्याम्पियन नबिता श्रेष्ठसँग साझेदारीको घोषणा गरेको छ।
कम्पनीले टोयोटाको ग्लोबल इनिसिएटिभ ‘स्टार्ट योर इम्पोसिबल’का लागि श्रेष्ठसँग साझेदारी गरेको हो।
यस सहकार्यलाई कम्पनीले नेपाली खेलकुदलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदम भनेको छ। यूटीएसले कम्पनीको प्रेरणा, अभिवृद्धि र सामुदायिक संलग्नताको संस्कृतिलाई प्रवर्द्धन गर्ने जनाएको छ।
श्रेष्ठ टेनिसमा नौ पटक राष्ट्रिय च्याम्पियन भइसकेकी छिन्। उनी २०६७ देखि २०८० सम्म लगातार च्याम्पियन बनेकी थिइन्। उनले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, वर्ल्ड टेबल टेनिस च्याम्पियनसिप र एसियन च्याम्पियनसिपजस्ता अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि आफ्नो क्षमता प्रदर्शन गरेकी छिन्।
यूटीएसका निर्देशक सूर्यांश वैद्यले खेल क्षेत्रमा नविताको अझै सफलताको कामना गरे। कार्यक्रममा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कम्पनीले स्थानीय खेलाडीलाई साथ दिएकोमा खुसी व्यक्त गरे।
यो साझेदारीसँगै नविता विश्वब्रान्डको प्रतिनिधित्व गर्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्। उनले २ सय अन्य खेलाडीसहितको ग्लोबल टिम टोयोटा एथ्लेटको रुपमा टोयोटाको प्रतिनिधित्व गर्नेछिन्। नविताले यो सहकार्यसँगै आफ्नो खेल जीवन अगाडि बढाउनुका साथै सामाजिक काममा समेत संलग्न हुनेछिन्।
यूटीएसले नविताको भिजनलाई प्रवर्द्धन गर्ने जनाएको छ।
Shares
प्रतिक्रिया