ad ad

खेल


१० औँ राष्ट्रिय खेलकुदको अन्तिम तयारीमा कर्णाली

रंगशाला निर्माणको काम ९० प्रतिशत पूरा
१० औँ राष्ट्रिय खेलकुदको अन्तिम तयारीमा कर्णाली

दिनेश बुढा
साउन १, २०८१ मंगलबार १२:४०, सुर्खेत

आगामी मंसिरमा कर्णालीमा हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता सञ्चालनको लागि भौतिक संरचनाका कामहरूको निर्माणको काम सकिने चरणमा पुगेको छ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालका अनुसार प्रदेश गौरवको आयोजना अन्तर्गतको प्रदेश रङ्गशाला निर्माणको ९० प्रतिशत काम सकिएको छ। 

बाँकी काम अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी तीव्र काम भइरहेको छ। यो रङ्गशाला १०औँ राष्ट्रिय खेलकुद आयोजनालाई लक्षित गरी निर्माण थालिएको हो। 

२०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गर्ने समयसीमा रहे पनि कोरोना माहामारी लगायतका कारणले ढिलाइ भएको हो। प्रदेश रंगशाला कर्णाली सरकार स्थापनायताको एक मात्र गौरवको आयोजना हो। रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने गरी संरचना तयार हुँदै छन्।  

यस्तै, १० हजार दर्शक अट्ने क्षमताको रङ्गशालाको फिनिसिङ लगायतका काम गर्न बाँकी छन्। पहिलो चरणमा डिजाइन, फिल्ड निर्माण लगायत काम भएका थिए। ती काम ६ महिनाको अवधिमै सकिएको थियो। सञ्ज्यालका अनुसार अब मेसिनरी काम मात्रै बाँकी छन्। छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने काम पनि बाँकी छन्। 

यस्तै, झ्यालढोका, बाथरुम फिटिङ गर्नुपर्ने काम पूरा हुन बाँकी छ। यी सबै काम साउन र भदौ महिनामा जुनसुकै हालतमा सम्पन्न गरिने उनको दाबी छ। प्यारापिट, स्वीमिङ पुल, छाना लगाउने बाहेकको भौतिक संरचनाको काम सबै सकिएको छ।

रंगशाला वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका काम अन्तिम चरणमा छन्। आउटडोर मोडमा बास्केट बल, भलिबल लगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ। 

२०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशालाको शिलान्यास गरेका थिए। ३० महिनाभित्र अर्थात् ०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी ०७८ कात्तिक २८ गते एमएसी–जीएसएल जेभी काठमाडौंले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माणको जिम्मेवारी पाएको थियो। 

यद्यपि विविध कारणले रङ्गशालाको काम समयमै सम्पन्न हुन नसकेकाले अब केही महिनाका लागि म्याद थप गरेर निर्माण कार्य जारी रहेको छ। 

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सञ्ज्यालका अनुसार रंगशालाका अधिकांश भित्रिकाम पूरा भइसकेका छन्। 

यस्तै, भौगोलिक विकटताले गर्दा पनि सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन। पूर्वाधार निर्माणका लागि योजनागतरूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन्। 

धमाधम निर्माण हुँदै पूर्वाधार
यस्तै, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णाली प्रदेशमा धमाधम खेल पूर्वाधार निर्माण भइरहेका छन्। ठेक्का सम्झौताअनुसार तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी धमाधम खेल पूर्वाधार निर्माण भइरहेको प्रदेश खेलकुद परिषद्ले जनाएको छ। 

परिषद्का अनुसार हाल डोल्पा र सल्यानबाहेक कर्णालीका अन्य आठवटै जिल्लामा खेल पूर्वाधार निर्माण भइरहेका छन्। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करणको तयारीस्वरूप आवश्यक खेल पूर्वाधार निर्माण भइरहेका हुन्।

प्रदेश रंगशालामा फुटबल मैदान, भलिबल कभर्डहल, ट्र्याक एन्ड फिल्ड र स्विमिङ पुल निर्माणका काम भइरहेका छन्। 

त्यस्तै, भीआईपी प्यारापिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण भइरहेको छ।

प्रदेश रंगशालामै हृयाण्डबल र बास्केट बल लगायत खेलका आउटडोर पनि बनाइँदै छ। हाल विभिन्न पूर्वाधार निर्माणका काम भइरहेको बताउँदै अपांगता भएका व्यक्तिका लागि पारा खेल पूर्वाधारसमेत निर्माण गर्ने तयारी रहेको परिषद्ले जनाएको छ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वैकल्पिक खेल मैदानको प्रयोग गर्ने गरी जिल्ला–जिल्लामा खेल पूर्वाधार निर्माण थालिएको हो। ती मैदानहरूलाई विकल्पका रूपमा राखिनेछ। वैकल्पिक मैदानहरूमा खेल तालिकाअनुसार प्रयोगात्मक खेलहरू हुनेछन्।

जसअन्तर्गत कालिकोट र जाजरकोटमा कभर्डहल निर्माणको बहुवर्षीय खरिद स्वीकृत प्रक्रिया अघि बढेको छ। मुगु जिल्लामा कबड्डी मैदान निर्माणको प्रक्रिया अघि बढाइएको छ। दैलेखमा उपभोक्ता समिति मार्फत कभर्डहल मर्मत गरिएको छ। 

यस्तै, हुम्लामा एक करोड ५० लाख लागतमा हकी खेलमैदान निर्माण गरिएको छ। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी जुम्लामा पनि खेल पूर्वाधार निर्माण भइरहेका छन्। भलिबल खेलमैदान तथा प्यारापिट निर्माणको काम जारी छ।

यस्तै, सुर्खेतको चिसापानीमा फुटबल मैदान निर्माण भइरहेको छ। दसौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा कालिञ्चोक क्रिकेट मैदान निर्माणको काम अन्तिम तयारीमा छ। 

वीरेन्द्रनगरमा देउडा पार्कसहितको अर्को क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ। चार करोड ५९ लाख लागत रहेको रंगशालामा संरचना निर्माणको ठेक्का जिम्मेवारी अभियान कन्स्ट्रक्सन काठमाडौंले लिएको छ। 

२४ खेल प्रस्तावित
प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सञ्ज्यालका अनुसार १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २४ वटा खेल सञ्चालनका लागि प्रस्ताव गरेको छ। राष्ट्रिय खेलकुद परिषदको प्रस्तावमा भने ३५ वटा खेल छन्। गण्डकी प्रदेशमा सम्पन्न नवौँ खेलकुदमा ३६ वटा खेल समावेश गरिएको थियो। कर्णालीमा प्याराग्लाइडिङबाहेकका ३५ खेल गर्न सकिने राखेपको प्रस्ताव छ।  

यसको निर्णय भने अब बस्ने राष्ट्रिय खेलकुद सरोकारवालाहरूको बैठकले लिनेछ।

सञ्ज्यालका अनुसार मंसिर २ गते उद्घाटन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप खेलकुद पोषक र खेलकुद गीत निर्माणदेखि खेल प्रशिक्षणका अभ्यासहरू समेत तीव्र रूपमा भइरहेका छन्।

सचिव सञ्ज्यालले भने, ‘प्रदेश गौरवको आयोजना अन्तर्गत कर्णाली रङ्गशाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। जिल्ला जिल्लामा खेल संरचना धमाधम बन्दै छन्। १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि हामी तयारी अवस्थामा छौँ। अधिकांश खेल सुर्खेतमै र केही खेल अन्य जिल्लामा सञ्चालन गर्ने तयारी छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .