प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा सत्ता गठबन्धनका दलबीच सिट भागबण्डा मिलाउन गाह्रो परेको छ।
प्रदेशमा प्रतिनिधि सभाका लागि १६ सिट छन्। तर गठबन्धनमा आबद्ध पाँच दलमध्ये प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सिट संख्याभन्दा बढी दाबी गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति बनेको नेपाली कांग्रेसले सुदूरपश्चिमका १६ सिटमध्ये ७ वटामा दाबी गरेको छ।
कैलाली क्षेत्र नम्बर १, ५, कञ्चनपुर २, ३, डडेल्धुरा, दार्चुला र बाजुरामा आफूले उम्मेदवारी दिन पाउनुपर्ने दाबी कांग्रेसले गरेको छ। यसबाहेक कैलाली–३ मा माओवादी केन्द्रले दाबी गरेको छ।
कञ्चनपुर १, कैलाली २, अछाम २ र बैतडी कांग्रेस र माओवादी केन्द्र दुवैले आफूले पाउनुपर्ने अडान राखेका छन्।
कांग्रेसले दाबी गरेको कैलाली ४, अछाम १ र बझाङमा एकीकृत समाजवादीले पनि आँखा लगाएको छ। डोटीमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्र तीनै दलको दाबी छ।
सिट भागबन्डा गर्न गठित कार्यदलले भाग मिलाउने काम गरिरहेको छ। सिट संख्याभन्दा बढी दाबी गरिँदा गठबन्धनभित्र भाग मिलाउन ‘फलामको चिउरा चपाए’सरह भएको छ।
०७४ को चुनावमा नेकपा एमालेले डोटी, बझाङ, बाजुरा, अछाम–१, २, दार्चुला, कैलाली–२, ५ गरेर ११ सिट जितेको थियो।
एमालेसँग चुनावी तालमेल गरेको नेकपा माओवादी केन्द्रले कैलाली–३, ४ र कञ्चनपुर–१ मा जितेको थियो। तीमध्ये कैलाली–३ बाट विजयी गौरीशंकर चौधरी र कैलाली–४ बाट विजयी लेखराज भट्ट अहिले नेकपा एमालेमा छन्।
शेरबहादुर देउवाले डडेल्धुराबाट जितेर कांग्रेसलाई सुदूरपश्चिममा ‘शून्य’बाट जोगाएका थिए। कैलाली–१ बाट तत्कालीन राष्ट्रिय जनता पार्टीका रेशम चौधरीले चुनाव जितेका थिए।
यसपटकको चुनावमा ०७४ को सहयात्री दल माओवादी केन्द्र कांग्रेससँग मिलेपछि एमाले एक्लै चुनाव लड्नुपर्ने अवस्था छ। कैलालीका केही क्षेत्रबाहेक सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
सत्ता गठबन्धनका दल सिट बाँडफाँटमा जुटिरहँदा नेकपा एमाले भने गठबन्धनविरुद्ध चुनाव लड्ने आफ्ना बलिया उम्मेदवारको खोजी गर्दै चुनावी रणनीति बनाउन व्यस्त छ।
सुदूरपश्चिममा प्रतिनिधि सभाका १६ सिटका सम्भावित प्रतिस्पर्धीको जिल्लागत विवरण
कञ्चनपुर
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा गठबन्धन भए क्षेत्र नम्बर २ र ३ कांग्रेस र १ माओवादी केन्द्रले पाउने सम्भावना रहेको नेताहरू बताउँछन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगरको निर्वाचन क्षेत्र १ मा कांग्रेसको पनि दाबी छ।
०७४ सालको निर्वाचनमा मगरसँग दोब्बर मतान्तरले पराजित कांग्रेसका दिवानसिंह विष्टले क्षेत्र नम्बर १ मा दाबी प्रस्तुत गरेका छन्।
वाम गठबन्धनकी साझा उम्मेदवार मगरले ०७४ सालको निर्वाचनमा ३८ हजार ४६७ मत ल्याएकी थिइन्। कांग्रेसका विष्टले १९ हजार २१९ मत मात्रै ल्याएका थिए।
कञ्चनपुर १ माओवादीको भागमा परेमा बिना मगर नै उम्मेदवार बन्ने छिन्। क्षेत्र नम्बर १ मा चुनाव लड्न नेकपा एमालेमा तीन जना आकांक्षी देखिएका छन्।
एमालेका खेम सुवेदी, रामचन्द्र नेपाल र वीरबहादुर थापा (पातल) मध्ये एकले क्षेत्र नम्बर १ मा गठबन्धनविरुद्ध चुनाव लड्न सक्ने एमालेका एक नेता बताउँछन्।
यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउद चुनाव लड्ने छन्। उनीसँग प्रतिस्पर्धा गर्न एमालेमा दुई जनाले उम्मेदवारी दाबी गरेका छन्।
एमालेबाट जितेका क्षेत्र नम्बर २ का अहिलेका सांसद नरबहादुर धामी र वचनबहादुर सिंहमध्ये एक जना साउदको प्रतिस्पर्धी बनाउने तयारी एमालेले गरेको छ।
कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखकको ३ नम्बर निर्वाचन क्षेत्रमा एमालेका ४ जना आकांक्षी छन्। ०७४ मा लेखकलाई झिनो मतान्तरले हराएका एमालेका डा. दीपक प्रकाश भट्टले फेरि लेखकविरुद्ध लड्ने इच्छा देखाएका छन्।
यस्तै, नेकपा एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, सुदूरपश्चिम सह–इन्चार्ज राजेन्द्र रावल र एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्टलाई पनि लेखकको सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
कैलाली
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा ५ वटा निर्वाचन क्षेत्र छन्। कैलालीमा गठबन्धन, नेकपा एमाले र टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।
कैलालीमा सत्तारुढ गठबन्धनका दलले चुनावी तालमेल गरे नेकपा एमालेले पनि नागरिक उन्मुक्ति पार्टीसँग तालमेल गर्ने चर्चा पनि उत्तिकै छ।
गत स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनलाई उछिन्दै नागरिक उन्मुक्ति पार्टीले कैलालीमा बलियो उपस्थिति देखाएको छ।
उसले कैलालीका ४ स्थानीय तहमा (भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा प्रमुख–उपप्रमुख दुवै र टीकापुर नगरपालिका प्रमुख) पद जितेको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशम चौधरीले एमालेकी गरिमा शाहलाई फराकिलो मतान्तरले हराएका थिए। यसपटक त्यहाँ चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चुनाव लड्ने तयारीमा छिन्।
उनी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन्। रेशम चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौँरा थारूले बताए।
नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा हिमाञ्चलराज भट्टराई र प्रेम साउदले चुनाव लड्ने आकांक्षा देखाएका छन्। यस्तै सोम थापा र तपेन्द्र रावलले पनि एमालेबाट क्षेत्र नम्बर १ मा दाबी गरेका छन्।
नागरिक उन्मुक्ति पार्टीसँग तालमेल भए एमालेले क्षेत्र नम्बर १ छाड्ने छ। एक्लै चुनाव लड्न परे अरूभन्दा बलिया र पुराना नेता भट्टराई र साउद भएकाले उनीहरूमध्ये एमालेले चुनावी मैदानमा उतार्न सक्ने एक नेताको दाबी छ।
यहाँ गठबन्धनबाट कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीको सम्भावना बढी छ। उनीबाहेक डा. रणबहादुर रावल, जनक चौधरी र बुद्धिसागर चौधरीले पनि दाबी गरेका छन्।
गठबन्धनबाट क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादी केन्द्र दुवैको दाबी छ। कांग्रेसबाट मोहनसिंह राठौर र कमल शाहले दाबी गरेका छन्।
०७४ सालको चुनावमा एमालेका झपटबहादुर रावलसँग झिनो मतान्तरले पराजित कांग्रेसका राठौरको दाबी बलियो छ। कैलाली–२ कांग्रेसले पाए उनै राठौर प्रतिस्पर्धामा उत्रिन सक्ने सम्भावना छ।
माओवादी केन्द्रका तर्फबाट कैलाली–२ मा संविधानसभा सदस्य भगत बडुवालको चर्चा छ। एमालेबाट झपटबहादुर रावल, सूर्यबहादुर थापा र कमला वलीको दाबी छ।
०७४ मा जितेका रावल एमालेका नेता भीम रावलनिकट मानिन्छन्। एमालेभित्रको धुव्रीकरणमा संस्थापन पक्षले मोर्चाबन्दी गरेर भीम रावललाई एक्लो बनाउँदै छ।
त्यस्तो अवस्थामा कैलालीमा २ मा झपट रावल टिकट पाउनबाट बञ्चित हुनसक्ने एक नेताको भनाइ छ। ‘अरू उम्मेदवार भन्दा बलियो उहाँ (झपट) नै हो, तर गुटगत हिसाबले टिकट नपाउन सक्नु हुन्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘क्षेत्र नम्बर २ मा एमालेमा उहाँको विकल्प अरू कोही छैन।’
नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नम्बर २ मा अरुण चौधरीलाई अघि सार्ने तयारी गरेको छ। उनी नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशको संगठन विभाग प्रमुख हुन्।
गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ३ मा माओवादीको दाबी बलियो छ। अघिल्लो प्रतिनिधि सभा सदस्यमा पनि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गौरीशंकर चौधरी विजयी भएका थिए। तर अहिले उनी एमालेमा छन्। एमालेले यहाँ उनैलाई अघि सार्ने तयारी गरेको छ।
क्षेत्र नम्बर ३ माओवादी केन्द्रले पाए वीरमान चौधरी र कृष्ण चौधरी ‘कुन्दन’मध्ये चुनाव लड्ने सम्भावना छ। कांग्रेसबाट क्षेत्रका नम्बर ३ मा खेम चौधरी र भीम बडुवालले दाबी गरेका छन्। गठबन्धनमा क्षेत्र नम्बर ३ माओवादी केन्द्रले पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन्।
सत्तारुढ गठबन्धनमा कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेका छन्। कांग्रेसबाट ०७४ सालमा लेखराज भट्टसँग पराजित कांग्रेसका सुनिल भण्डारीले यसपटक पनि दाबी गरेका छन्।
यहाँ नेकपा एकीकृत समाजवादीका तर्फबाट दीर्घ सोडारीको नाम पनि चर्चामा छ। ०७४ मा वाम गठबन्धनबाट जितेका तत्कालीन माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट यसपटक एमालेबाट चुनाव लड्ने तयारीमा छन्। उनी एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन्।
निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनबाट नेपाली कांग्रेसको दाबी छ। यहाँबाट ०७४ को चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा चुनाव लडेकी थिइन्। उनी वाम गठबन्धनबाट एमालेका नारदमुनि रानासँग ४ हजार ८८० मतले हारेकी थिइन्।
रानाले २७ हजार २०२ मत ल्याउँदा राणाले २२ हजार ३२२ मत पाएकी थिइन्। यसपटक पनि कैलाली ५ मा रानालाई नै दोहो¥याउने तयारी एमालेको छ।
सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा रहेकी कांग्रेस नेतृ आरजु भने उम्मेदवार बन्ने अझै निश्चित भइसकेको छैन। प्रधानमन्त्रीकी पत्नी हुनाले उनले चाहे कैलाली ५ मा सहजै टिकट पाउँछिन्।
डडेल्धुरा
प्रधानमन्त्री देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुरामा एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ। देउवाको गृहजिल्ला भएको हुनाले पनि प्रतिनिधि सभाको सिट कांग्रेसले गठबन्धनका अन्य दललाई दिँदैन।
डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा नै चुनावी मैदानमा उत्रिने छन्। तर पत्नी आरजुका लागि सुरक्षित राख्न डडेल्धुरा छाडेर देउवा आफू अन्यत्रबाट चुनाव लड्ने चर्चा पनि व्यापक छ।
०६४ सालको चुनावदेखि देउवासँग प्रतिस्पर्धा गरिरहेका माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट यसपटक गठबन्धनका कारण डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्न पाउँदैनन्।
कांग्रेसबाट कारबाहीमा परेका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले देउवाविरुद्ध चुनाव लड्ने चर्चा छ। अहिले उनी नेपाली कांग्रेस बीपीको वरिष्ठ उपसभापति हुन्।
गत स्थानीय तहको निर्वाचनमा उनै मल्लले एमालेसँग तालमेल गरेर देउवाको गृहजिल्लामा कांग्रेसलाई चुनौती दिएका थिए।
०७४ को चुनावमा कांग्रेसबाट डडेल्धुरामा प्रदेश सभा सदस्य जितेका मल्लले देउवाविरुद्ध संघीय चुनाव लड्ने वा नलड्ने भनेर अझै खुलाएका छैनन्।
स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गरेको कांग्रेस बीपीले यसपटकको संघ र प्रदेश सभा सदस्य चुनावमा पनि तालमेल गर्न सक्ने नेताहरू बताउँछन्।
स्थानीय निर्वाचनको मतपरिणाम अनुसार डडेल्धुरामा कमजोर देखिएको नेकपा एमालेमा प्रतिनिधि सभाका लागि अहिलेसम्म कोही स्पष्ट रूपमा खुलेका छैनन्।
सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा, एमाले डडेल्धुरा अध्यक्ष प्रकाश साउद तथा जिल्ला विकास समितिका पूर्वसभापति गजेन्द्र शाही प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा प्रस्तुत हुन सक्ने एमाले डडेल्धुरामा चर्चा छ।
अछाम
दुई निर्वाचन क्षेत्र रहेको अछामको क्षेत्र नम्बर १ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले दाबी गरेका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आकांक्षी छन्।
कांग्रेसबाट ०७४ मा हारेका भरतकुमार स्वाँर, गोविन्दबहादुर शाह, मेघराज खड्का र टीकाराम खनालले क्षेत्र नम्बर १ चुनाव लड्ने इच्छा देखाएका छन्।
यो नेकपा एमालेका नेता डा. भीम रावलको क्षेत्र पनि हो। एमालेमा यसपटक उनी सँगै पूर्वमाओवादी पृष्ठभूमिका झपट बोहरा, जिल्ला विकास समितिका पूर्वसभापति कृष्णप्रसाद जैसी र एमाले सुदूरपश्चिम उपाध्यक्ष कमल तिमल्सेनाले पनि चुनाव लड्ने इच्छा देखाएका छन्।
अछामको क्षेत्र नम्बर २ मा कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन्। माओवादी केन्द्रबाट शरदसिंह भण्डारी, जानकी साउद र रामप्रसाद तिमिल्सेनाको नाम चर्चामा छ। यो क्षेत्र माओवादीको भागमा परे भण्डारीले टिकट पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन्।
क्षेत्र नम्बर २ मा कांग्रेसबाट पुष्प बहादुर शाह, बलबहादुर कुँवर र रामबहादुर विष्टले चुनाव लड्ने इच्छा गरेका छन्।
एमालेबाट ०७४ सालमा जितेका यज्ञ बोगटी नै दोहरिन सक्ने सम्भावना बढी छ। तर यही क्षेत्रमा एमालेका शिवप्रसाद उपाध्यायले पनि उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।
दार्चुला
दार्चुलाको एउटा सिटमा गठबन्धनबाट नेपाली कांग्रेसको दाबी छ। कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र ०७४ मा हारेका विक्रमसिंह धामी आकांक्षी छन्।
एमालेका नेता तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्ना यसपटकको निर्वाचनमा पनि दोहरिन सक्ने सम्भावना छ। उनले ०७४ मा कांग्रेसका विक्रम धामीलाई हराएका थिए।
त्यसबेला वाणिज्य मन्त्री बडू भने समानुपातिकमा गएका थिए। गठबन्धन भए यसपटक प्रत्यक्ष चुनाव लड्ने बडूले योजना बनाएका छन्।
डोटी
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले दाबी गरेका छन्।
कांग्रेसका तर्फबाट पूर्वमन्त्री वीरबहादुर बलायर, एकीकृत समाजवादीबाट पूर्वमन्त्री प्रेमबहादुर आले र माओवादी केन्द्रबाट सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आकांक्षी हुन्।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा डोटी नेपाली कांग्रेसको भागमा पर्ने सम्भावना बलियो छ। तर आले र भट्ट पनि क्षेत्र आफ्नो पोल्टामा पार्न सक्रिय छन्।
डोटीमा गठबन्धनविरुद्ध चुनाव लड्न नेकपा एमालेबाट अहिलेसम्म कसैले दाबी प्रस्तुत गरेका छैनन्। नेकपा एमाले डोटीकी इन्चार्ज गौरी वली तथा अध्यक्ष चक्र मल्लमध्ये एकलाई एमालेले उम्मेदवार बनाउन सक्ने एक नेताले बताए।
बैतडी
एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा गठबन्धनबाट माओवादी र नेपाली कांग्रेस दुवैको दाबी छ। यहाँ माओवादी केन्द्रबाट नरेन्द्र कुँवर र नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द तथा नरबहादुर चन्दको नाम चर्चामा छ।
कांग्रेस बैतडीका सभापतिसमेत रहेका चन्द कांग्रेसको संस्थापन इतर समूह निकट मानिन्छन्।
नरबहादुर ०७४ सालको चुनावमा एमालेका दामोदर भण्डारीसँग हारेका थिए। गठबन्धनमा बैतडी कांग्रेसको भागमा परे नरबहादुर पनि अर्कोपटक चुनाव लड्ने दाउमा छन्।
नेकपा एमालेबाट ०७४ मा जितेका भण्डारी नै यसपटक दोहोरिन सक्ने सम्भावना छ। उनी अहिले नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष पनि हुन्।
बझाङ
बझाङमा गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी छ। यहाँ एउटा मात्रै संघीय निर्वाचन क्षेत्र छ। नेपाली कांग्रेसका तर्फबाट पृथ्वी बहादुर सिंह र अर्जुन जङ्ग बहादुर सिंहको नाम चर्चामा छ।
नेकपा एकीकृत समाजवादीले पाएमा भानुभक्त जोशी चुनावी मैदानमा उत्रिने तयारीमा छन्। नेकपा एमालेबाट ४ जनाको नाम चर्चामा छ।
०७४ को प्रतिनिधि सभा निर्वाचन जितेका भैरव बहादुर सिंह, ऐन महर, अफिलाल ओखेडा र आशा विक एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका आकांक्षी हुन्।
बाजुरा
बाजुरामा अहिले गठबन्धनका तर्फबाट कांग्रेसका बद्री पाण्डे र कविराज पण्डितको नाम चर्चामा छ। पण्डित ०७४ मा एमालेका लालबहादुर थापासँग हारेका थिए।
उनै पण्डित फेरि उम्मेदवार बन्ने दाउमा छन्। कांग्रेसका पाण्डे पनि संघीय सांसद बन्ने दौडमा छन्।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेबाट कर्ण थापा र लालबहादुर थापाको नाम चर्चामा छ। कर्ण थापा ०५६ सालको चुनावमा कांग्रेसका जनकराज गिरीसँग हारेका थिए।
त्यसपछि पनि ०६४ को चुनावमा कांग्रेसका देवराज जोशीसँग पराजित उनी ०७० मा कांग्रेसकै जनकराज गिरीलाई हराउँदै संसद् छिरेका थिए। ०५४ को जिल्ला विकास समिति सभापति रहेका लालबहादुर थापाले ०७४ को चुनाव जितेका थिए।
Shares
प्रतिक्रिया