कांग्रेससँग तालमेल गरेर चुनावमा होमिएको नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका १६ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये ४ वटामा आफ्ना उम्मेदवार उठायो।
माओवादी केन्द्रबाट कैलाली क्षेत्र नं. २ मा भगतबहादुर बढुवाल, क्षेत्र नं. ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर १ मा बिना मगर र बैतडीमा नरेन्द्रबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा थिए।
मंसिर ८ अघि नै अन्तिम चुनाव मतपरिणाम सार्वजनिक भएका कैलाली २, ३ र कञ्चनपुर १ मा माओवादीका उम्मेदवार भारी मतान्तरले हारे। बैतडीको मतगणना भने जारी थियो।
त्यहाँ नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी र माओवादीका नरेन्द्रबहादुर कुँवरबीच कडा टक्कर भइरहेको थियो। बैतडी जितेको भए माओवादी केन्द्र सुदूरपश्चिममा ‘क्लिन स्विप’ हुनबाट जोगिने थियो।
त्यसमा भण्डारी र कुँवर थोरै मतले अघि पछि भइरहँदा सबैको ध्यान तानियो। अन्ततः नेकपा एमालेका दामोदर भण्डारीले १ हजार ५३१ मतले माओवादीका कुँवरलाई पछि पारे।
कुँवरलाई हराएर भण्डारीले नेकपा माओवादी केन्द्रलाई सुदूरपश्चिममा ‘क्लिन स्विप’ बनाए। भण्डारीले ३३ हजार ६११ मत पाए भने कुँवरले ३२ हजार ८० मत ल्याए।
माओवादीलाई प्रतिनिधि सभातर्फ सुदूरपश्चिममा ‘क्लिन स्विप’ गर्न भूमिका खेल्ने उनै भण्डारी माओवादीको समर्थनमा मन्त्री बनेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा भण्डारीले मन्त्रीको शपथ खाइसके पनि उनको मन्त्रालय भने अझै एकिन भएको छैन।
नेकपा एमालेले प्रत्यक्षतर्फ दुई सिट जितेको छ। बैतडीका भण्डारी र कञ्चनपुर १ का तारालामा तामाङ एमालेबाट निर्वाचित सांसद हुन्।
को हुन भण्डारी?
वि.सं. २०४६ सालको जनआन्दोलनबाट प्रभावित भएर राजनीतिमा आबद्ध भएका थिए - भण्डारी। विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका उनी ०४८ सालमा अनेरास्ववियु बैतडीको जिल्ला कमिटी अध्यक्ष भएका थिए।
त्यसपछि उनी ०५० सालमा नेकपा एमालेको बैतडी जिल्ला कमिटी सदस्य भएका थिए। भण्डारी ०५४ सालमा जिल्ला कमिटी उपसचिव भए।
उनले ०५६ देखि ०६४ सम्म एमाले बैतडीको नेतृत्व सम्हाले। ०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भएका भण्डारी हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष छन्।
पाटन नगरपालिका–६ का भण्डारीको जन्म वि.सं. २०३० कार्तिक २० गते भएको थियो। उनले स्नातक तहसम्मको अध्ययन गरेका छन्।
माओवादी–कांग्रेसको गठबन्धन विरुद्ध एक्लै चुनावी प्रतिस्पर्धा गरेका भण्डारी जित निकालेर तेस्रोपटक संसदमा पुगे।
उनले पहिलो पटक ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा बाजी मारे। त्यसबेला उनले कांग्रेसका लोकराज अवस्थीलाई पराजित गरेर पहिलो पटक संसद यात्रा तय गरेका थिए।
०७४ मा पनि उनले अपराजित यात्रा कायमै राखे। त्यस बेला भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई पराजित गरेका थिए। यसबीचमा उनले ०७३ सालमा अर्थ राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने भण्डारी माओवादीका कुँवरसँग हारेका थिए।
Shares
प्रतिक्रिया