महेन्द्रनगरमा खुलेका क्यासिनोका कारण सीमावर्ती क्षेत्रका भारतीय नागरिक घर न घाटको अवस्थामा पुगेका छन्। जग्गा, जमिन र सारा सम्पत्ति क्यासिनोमा जुवा खेलेर गुमेपछि उनीहरूको बिल्लीबाठ भएको हो।
कानुनले प्रतिबन्ध लगाएकोभन्दा बढी भारतीय रुपैयाँ बोकेर महेन्द्रनगर आउनेलाई त्यहाँको प्रहरीले सीमा नाकामा रोकेर पैसा जफत गर्न थालेका छन्।
तर विभिन्न बैंक र हुन्डीमार्फत रकम मगाएर क्यासिनोमा जुवा खेल्ने र मस्ती गर्नेहरू बढेपछि यो सीमावर्ती क्षेत्रका लागि विकराल समस्या बन्दै गएको छ। यसले पारिवारिक र सामाजिक विग्रह त बढेको छ नै, मानवीय समस्या पनि निम्तिन थालेको छ।
अहिले महेन्द्रनगरमा दुईवटा मिनी क्यासिनो सञ्चालनमा छन्। यी क्यासिनोहरूमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। विदेशीहरूलाई लक्ष्य गरेर खुलेका क्यासिनोमा भारतीय नागरिकको दिनहुँ भीड लाग्न थालेको छ।
‘विभिन्न आकर्षक प्रस्ताव राखेर भारतीय नागरिकलाई क्यासिनोसम्म पुर्याउने गरिन्छ’, स्रोतले भन्यो, ‘कतिपय क्यासिनोले सीमावर्ती भारतीय बजार र नाकासम्मै गाडी पठाएर उनीहरूलाई ल्याउने र छाड्ने व्यवस्था मिलाएका छन्।’
भारतीय खेलाडी ओसार्न एउटै क्यासिनोका ४/५ वटा गाडी नाकामै पार्किङ गरिएका हुन्छन्। भारतीय नम्बर प्लेटका ती गाडी त्यहीँका व्यक्तिका नाममा रहेको प्रहरी स्रोतले जनाएको छ।
सामान्य व्यक्तिलाई भने शारदा ब्यारेजको पुल खुल्ने र बन्द हुने निश्चित समयबाहेक गाडीमा आउजाउ गर्न दिइँदैन। जुवाडेहरूलाई भने २४सै घण्टाजस्तो सुविधा दिने गरेको पाइएको छ। गाडीमा हुँइकिने उनीहरूलाई सामान्य जाँचसमेत गरिँदैन।
‘यस्तो कार्यमा शारदा ब्यारेज प्रहरी र पुलका ढोका खोल्ने सिँचाइ विभागका कर्मचारीको पनि मिलेमतो हुने गरेको छ’, स्रोतले भन्यो, ‘स्थानीय एजेन्टहरूले उनीहरूलाई मासिक रकमको जोहो गरेका हुन्छन्।’
नाकामै बसेर ग्राहक लिएर आउने एजेन्टहरूलाई पनि क्यासिनो सञ्चालकहरूले ‘कमिसन’ दिने गरेका छन्। कञ्चनपुर प्रशासनले भने क्यासिनोको विषयमा आँखा चिम्लिने गरेको छ। कुनै घटना, दुर्घटनाबाहेक क्यासिनोमा प्रहरी छिर्ने गरेको छैन।
‘नेपाली नागरिक क्यासिनो छिरेर जुवा खेलेमा मात्र हाम्रो सरोकार रहन्छ, विदेशीलाई नै केन्द्रित गरी सरकारी निकायले अनुमति दिएको क्यासिनोमा हामीले हस्तक्षेप गर्ने कुरा भएन’, प्रहरी स्रोतले भन्यो।
सीमावर्ती भारतीय बजार बनबसा र टनकपुरका मात्र होइनन्, खटिमा, सितारगन्ज, रुद्रपुर, हल्द्वानी, बरेली र कहिलेकाहीँ दिल्लीसम्मकै ग्राहक महेन्द्रनगरका क्यासिनोमा आउने गरेका छन्।
ती ग्राहकहरूलाई क्यासिनो सञ्चालकले खानपान र रात्रीबाससहितको प्रबन्ध मिलाउने गरेका छन्। कतिपयले त नियमित आउने ग्राहकलाई सापटी दिएर पनि जुवा खेलाउने गरेको स्रोतको दाबी छ।
भारतीय प्रहरीले महेन्द्रनगरका क्यासिनोमा आएर जुवा खेल्ने प्रवृत्ति बढेकाले त्यसविरुद्ध सीमा क्षेत्रमा सचेतना अभियान सञ्चालन गरिरहेको छ। अनधिकृत ढंगले भारतीय रकम महेन्द्रनगर लग्नेविरुद्ध पनि कानुनी कारबाही गरिरहेको छ। तर ती दुवै अभियान खासै प्रभावकारी हुन सकेका छैनन्।
‘एकपटक जुवाको लत लागेकाहरू पैसा सकिएर सडकमा नआउँदासम्म त्यसमै लिप्त हुन्छन्’, सीमावर्ती बजार बनबासास्थित स्रोतले भन्यो, ‘कति जनाले घरजग्गा र सारा सम्पत्ति सक्काइसके।’
महेन्द्रनगरस्थित बैंकबाट सजिलै रकम झिक्न सकिने, हुन्डीमार्फत अवैध कारोबार हुने र विश्वासिलो नेपाली नागरिकको खातामा रकम पठाएर पनि भारतीय नागरिकले जुवा खेल्ने गरेका छन्। भारतीयसँग निकट सम्बन्ध भएका महेन्द्रनगरका कतिपय व्यापारीले त जुवाडेहरूलाई ‘मिटर ब्याज’मा पनि पैसा पनि दिने गरेका छन्।
Shares
प्रतिक्रिया