भारतमा मजदुरी गरेर स्वदेश फर्किरहेका तीनजना नेपाली नागरिक लुटिएका छन्। उत्तराखण्डको हल्द्वानीमा भारतीय महिलाले जुसमा नशालु पदार्थ खुवाएर तीनजना नेपाली नागरिकलाई लुटेका हुन्।
भारतमा लुटपाटमा परेर गड्डाचौकी नाकामा बेखर्ची पुगेका सुर्खेत र जाजरकोटका उनीहरूकाे इलाका प्रहरी कार्यालय (गड्डाचौकी) ले उद्धार गरेको छ।
‘भारतमा लुटिएर बेहोस अवस्थामा नाकामा पुगेका तीनजना नेपालीको उद्धार गरेर उपचारका लागि महाकाली अस्पताल पुर्याएका थियौँ’, इलाका प्रहरी कार्यालय (गड्डाचौकी) का प्रहरी नायब निरीक्षक देवसिंह बुडालले भने, ‘चार जनामध्ये एक जना निदाएका थिए, जुसमा नशालु पदार्थ सेवन गराएर भारतीय महिलाले सँगै रहेका अन्य तीनजनालाई लुटपाट गरेका रहेछन्।’
सुर्खेतको भेरीगंगा नगरपालिका–४ बाउनीचोरका ६० वर्षीय मिलन राजी, जाजरकोटको भेरी नगरपालिका–४ का ५७ वर्षीय लालबहादुर नेपाली र सोही ठाउँका ५५ वर्षीय केशर वली लुटपाटमा परेका हुन। उनीहरूको साथमा रहेको ४५ हजार भारु र तीन मोबाइल लुटेर लगिएको छ।
लुटपाटमा परेका नेपाली नागरिक भारतको गढवालमा मजदुरी गर्थे। नयाँ वर्षका लागि घर खर्च जोहो गरेर फर्किरहेका उनीहरू लुटपाटमा परेका हुन्।
ती तीनजनासँगै बसमा सुर्खेतको भेरीगंगा नगरपालिका–४ बाउनीचोरका ५२ वर्षीय ताराबहादुर मगर पनि घर फर्किरहेका थिए। हल्द्वानीमा करिब ४० वर्ष उमेरका दुई भारतीय महिलाले उनीहरूलाई जुस खुवाएका थिए।
त्यसबेला मगर भने निदाएकाले लुटपाटबाट जोगिएको प्रहरीले जनाएको छ। तिनै मगरले उनीहरूलाई उद्धार गरेर गड्डाचौकी नाकासम्म पुर्याएका थिए। उनीहरूलाई प्रहरीले उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरेको थियो।
लुटपाटमा परेपछि नयाँ वर्ष मनाउन घर फर्किरहेका ती नेपाली बेखर्ची स्वदेश पुगेका छन्। उनीहरूलाई घर पुग्नसमेत खर्च छैन।
‘महिलाले दिएको जुस सेवन गरेपछि आफूहरू बेहोस भएको र त्यसपछि केही थाहा नभएको जानकारी गराएका छन्,’ प्रहरी नायब निरीक्षक बुडालले भने, ‘अस्पतालमा उपचार पछि अहिले उनीहरू होसमा आएका छन्।’
बेखर्ची बनेका उनीहरूलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरले बससँग समन्वय गरेर गन्तव्यसम्म पठाउने तयारी गरेको छ।
Shares
प्रतिक्रिया