कञ्चनपुरमा महिलामाथि आक्रमण गर्ने बाघलाई स्थानीयले दिउँसोदेखि घेरेर बसेका छन्। आक्रमणको घटनापछि बेलौरी नगरपालिका–८ पचुईको खप्टिनालास्थित झाडीमा लुकेको बाघलाई स्थानीय र सुरक्षाकर्मीले घेरा हालेका हुन्।
बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली खप्टिनाला आउँदैछ। उक्त टोलीलाई सहयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली बाघ रहेको क्षेत्रमा पुगिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले जानकारी दिए।
‘आवश्यक परेमा हात्तीको प्रयोग गर्न सकिनेछ, त्यसका लागि बेल्डाडी पोष्टमा हात्ती तयार अवस्थामा राखिएका छन्,’ उनले भने।
शुक्रबार (आज) बिहान करिब ११ बजेतिर पचुईकी गंगा चन्दलाई बाघले आक्रमण गरेको थियो। गाउँका ४/५ जना महिलासँगै घाँस काट्न उनी बिहान खप्टिनाला क्षेत्रमा गएकी थिइन्।
आत्तिदै गाउँमा आएका ती महिलाले घटनाबारे बताएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी उक्त क्षेत्रमा पुगेका थिए। बाघले स्थानीयलाई झम्टिएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको जनाएको छ।
बाघको आक्रमणपछि महिला बेपत्ता भएकी छन्। अहिलेसम्म उनको अवस्था अज्ञात छ। प्रहरीका अनुसार बाघ घटनास्थल क्षेत्रमै देखिएकाले ती महिलाको खोजीका लागि त्यस क्षेत्रमा जान सकिएको छैन।
घटनापछि बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीय आक्रोशित छन्। उनीहरुले ढुंगा प्रहार गर्दा एक जना प्रहरी कर्मचारी घाइते भएका छन्।
ड्रोन क्यामेरामा बाघ र महिलाका लुगा देखिएको सव डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवले बताए।
‘बर्दियाको प्राविधिक टोली घटनास्थलमा पुगेपछि बाघलाई नियन्त्रणमा लिइनेछ,’ उनले भने।
उनका अनुसार बाघलाई डार्ट गरी लठ्याएर नियन्त्रणमा लिइन्छ। राति हुन लागेकाले त्यो काम आजै गर्ने वा भोलि त्यसको टुंगो भने लागिसकेको छैन।
घटनापछि स्थानीय त्रसित छन्। करिब १ हजारको संख्यामा रहेका स्थानीयले बाघलाई घेरा हालेर बसेका छन्। बाघ फुत्किएमा फेरि अरुमाथि आक्रमण हुनसक्ने भयमा उनीहरु छन्।
चन्दसँगै घाँस काट्न गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए। उनीहरु बोल्न सक्ने अवस्थामा छैनन्। यो घटनाले पचुई क्षेत्रमा त्रास फैलिएको छ।
यसअघि चैत मध्यतिर घाँस काट्न दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा मृत्यु भएको थियो। त्यस लगत्तै सीमावर्ती भारतीय गाउँमा पनि बाघकै आक्रमणमा अर्की एक महिलाले पनि ज्यान गुमाएकी थिइन्।
यी घटनाहरुले यो क्षेत्रमा त्रास बढेको हो। जिल्ला सव डिभिजन वन कार्यालयले बाघ विचरण गर्ने सम्भावित स्थानहरूमा स्वचालित क्यामेरा जडान गरेपनि तस्बिर भने कैद हुन नसकेको जनाएको छ।
Shares
प्रतिक्रिया