नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीमा तीन वर्षभित्र सुख्खा बन्दरगाह निर्माण गरिने बताएका छन्।
नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखकले सुख्खा बन्दरगाह निर्माणको लागि भारतसँग चाँडै एमओयू हुने बताए।
‘सुख्खा बन्दरगाह भारतले बनाइदिने सहमति भइसकेको छ, एमओयू मस्यौदा पठाइसकेको छ, प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा एमओयू हुन्छ,’ उनले भने, ‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौताको चरणमा छ।’
क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले कञ्चनपुरलाई ठूलो व्यापारिक, औद्योगिक र पर्यटकीय नाकाको रुपमा विकसित गरिने बताए।
महाकाली करिडोर अन्तर्गत कञ्चनपुरदेखि चीनको सीमासँग जोडिएको दार्चुलाको तिंकरसम्मको सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको उनले बताए।
‘महाकाली करिडोर दशकअघिको सपना हो, रुख कटानको आदेश नहुँदा २÷३ वर्षदेखि काम गर्न सकिएको थिएन,’ लेखकले भने, ‘रुख कटानको निर्णयपछि गरेर ट्रयाक खोल्ने काम सुरु भएको छ, यो चाँडै सकिन्छ।’
मझगाउँ विमानस्थल सञ्चालनमा देखिएको अल्झन सुल्झाउने प्रयास गरिरहेको उनले उल्लेख गरे। फरक प्रसंगमा कांग्रेस नेता लेखकले उपनिर्वाचनको परिणामले पुराना राजनीतिक दलहरुलाई सोच्नु पर्ने अवस्था सिर्जना गरेको बताए।
‘उपचुनावको परिणामले स्थापित पुराना ठूला राजनीतिक दलहरुलाई गम्भीर रुपले सोच्ने स्थिती बनेको छ, हामीले पनि अत्यन्तै गम्भीर रुपले लिएर सुक्ष्म रुपले विश्लेषण गरेर अगाडि बढ्ने कुरा गरेका छौँ,’ उनले भने, ‘हाम्रो पार्टीभित्र मात्रै होइन दल दलहरुबीच पनि यस बारेमा छलफल भइरहेको छ।’
जनताले अभिव्यक्त गरेको मतलाई स्वीकार गर्नुपर्ने बताउँदै उनले यसपटकको चुनावमा नयाँ राजनीतिक दल उदाएपछि जनतामा आशाको सञ्चार गरेको समेत बताए।
‘जनताले अभिव्यक्त गरेको मतलाई जायज मान्नुपर्छ, स्वीकार गरेर हिँड्नुपर्छ,’ उनले भने, ‘जनतामा एक खालको आशाको सञ्चार भएको छ, हामीले पनि जनतामा सकारात्मक सोच निर्माण गर्ने ठाउँमा पुर्याउनु पर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सामेल गराउने गरी छलफल भइरहेको उनले बताए।
‘प्रधानमन्त्रीज्यूले सरकारमा ल्याउनका लागि रास्वपासँग छलफल गरिरहनु भएको छ, व्यवस्थापनको चुनौती छ,’ लेखकले भने, ‘रास्वपालाई ल्याएर सरकारको स्टेन्थ बढाउने कुरा हो।’
Shares
प्रतिक्रिया