दार्चुलाको ब्याँस गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी अझै सुरु हुन सकेको छैन। भारी वर्षा र हिमपातका कारण दोस्रो दिन खोज/उद्धार सुरु गर्न नसकिएको हो। हिजो साँझ छाङरु फर्किएका सुरक्षाकर्मीहरु आज घटनास्थलतर्फ जान सकेका छैनन्।
छाङरुको गाँगाबगरस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र सीतापुलमा रहेको नेपाल प्रहरीको टोली भारी हिमपातका कारण अहिलेसम्म घटनास्थल जान नसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। ‘छाङरुमा टोली स्ट्यान्डबाइ छ, हिमपातका कारण डाँडामा उक्लिन सक्ने अवस्था छैन’, उनले भनिन्।
मंगलबार दिउँसो आएको हिमपहिरोमा ५ जना यार्सागुम्बा संकलक बेपत्ता भएका छन्। हराएका १२ मध्ये ७ जनालाई भने सुरक्षाकर्मीले हिजै उद्धार गरेको छ। ४ महिला र एकजना पुरुषको भने कुनै अत्तोपत्तो लाग्न सकेको छैन।
छाङरु गाउँको पूर्व दुई–अढाई घण्टाको पैदल दूरीमा रहेको भोलुम डाँडामा ५ फीट भन्दा बढी हिउ जमेको छ। उक्त क्षेत्रमा ४ दिनदेखि निरन्तर हिमपात भइरहेको व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताए।
हिजो बेपत्ता भएका मध्ये ३ जना डोटी बुडरका छन् भने २ जना व्याँसको छिमेकी दुँहु गाउँपालिकाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
हिमपहिरोले यार्सा संकलक बसिरहेका टेन्टहरु पुरेको थियो। पुरिएकामध्ये ७ जनाको सुरक्षाकर्मीले हिजै उद्धार गरी छाङरु ल्याएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सोमो थापा छन्।
यस्तै उक्त हिमपहिरोमा परी दुँहु गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर पनि बेपत्ता भएका छन्।
उक्त क्षेत्रमा लगातार हिमपात भइरहेको छ। बाक्लो हिउँ र अध्याँरो भएकाले छाङरुबाट गएको सशस्त्र र नेपाल प्रहरीको टोली हिजो साँझ ७ जनाको उद्धार गरी फर्किएको थियो।
हिमपातले दोस्रो दिनको खोज/उद्धार प्रभावित भएको छ। टोली घटनास्थल पुगेर हराइरहेकाहरुको अवस्था पत्ता लागेमा त्यसतर्फ हेलिकप्टर पठाउन सकिने प्रशासनिक अधिकारीहरुले बताए। त्यसका लागि नेपाली सेनासँग समन्वय भइरहेको उनीहरुको भनाइ छ।
Shares
प्रतिक्रिया