नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।
नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि गत माघ २६ गते प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता हैसियतमा उनी मुख्यमन्त्री बनेका हुन्।
सत्तामा कांग्रेसलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ।
मुख्यमन्त्री शाहका ६ महिना सरकार विस्तारमै बिते। बुधबार नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउँदै मुख्यमन्त्री शाहले आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिए।
सुदूरपश्चिमको सत्तामा कैलाली जिल्लाबाट निर्वाचित सांसदको हालीमुहाली देखिएको छ। १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीका ५ प्रदेश सांसद अहिले मन्त्री छन्।
मुख्यमन्त्री शाहसहित अहिले सुदूरपश्चिम सरकारको क्याबिनेट ९ सदस्यीय छ। कैलालीमा निर्वाचन क्षेत्रपिच्छे मन्त्री छन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका शाह कैलाली २ (१) बाट निर्वाचित सांसद हुन।
निर्वाचन क्षेत्र नं. २ कै अर्का प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित सांसद पनि प्रदेश सरकारमा मन्त्री छन्। नागरिक उन्मुक्तिबाट चुनाव जितेका रामेश्वर चौधरी हालै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन्।
कांग्रेसका प्रकाशबहादुर देउवा अहिले भौतिक पूर्वाधारमन्त्री छन्। उनी कैलाली निर्वाचन क्षेत्र नं. ५ को प्रदेशसभा २ बाट निर्वाचित हुन्।
कैलाली ५ (१) बाट निर्वाचित रमेश सिंह धामी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छन्। उनी माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन्।
कैलाली क्षेत्र नं. १ को प्रदेशसभा १ बाट निर्वाचित कैलाश चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री छन्।
उनले नागरिक उन्मुक्तिबाट चु्नाव जितेका हुन्। ९ सदस्यीय क्याबिनेटमा ४ मन्त्री मात्र कैलालीबाहिरका छन्।
बैतडी १ (२) मा कांग्रेसबाट निर्वाचित शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्। नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन्। उनी बाजुरा १ (१) मा नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेका हुन्।
अछाम १ (२) बाट निर्वाचित झपडबहादुर साउद सामाजिक विकासमन्त्री छन्। उनी माओवादी केन्द्रका नेता हुन्।
डडेल्धुराकी समानुपातिक सांसद गीतादेवी माल प्रदेश सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री छिन्। कञ्चनपुर, दार्चुला र बझाङबाट यतिबेला प्रदेश सरकारमा कोही पनि मन्त्री छैनन्।
केन्द्र सरकारमा पनि कैलालीबाट निर्वाचित सांसद मन्त्री छन्। योसँगै कैलालीबाट प्रदेश र केन्द्रमा गरी ६ जना मन्त्री छन्।
कैलालीको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट निर्वाचित नागरिक उन्मुक्तिकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।
Shares
प्रतिक्रिया