ad ad

सुदूरपश्चिम


गृहप्रदेशकै अधिवेशनमा देखिएनन् भीम रावल

गृहप्रदेशकै अधिवेशनमा देखिएनन् भीम रावल

फाइल फोटो


नेपालखबर
असोज २१, २०८० आइतबार १३:४४, कञ्चनपुर

गृहप्रदेश सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेता डा. भीम रावललाई उपेक्षा गरिएको छ।

अधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली धनगढी विमानस्थल ओर्लिदा स्वागत गर्न एमाले नेता कार्यकर्ताको ताँती थियो।

तर दशौँ अधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल गृहप्रदेशकै अधिवेशनमा सहभागी भएका छैनन्।

ओली पुनर्वासस्थित सहित गोविन्द गौतमको सालिकका माल्यार्पण गर्न पुग्दादेखि अधिवेशनको उद्घाटन कार्यक्रममा अहिलेसम्म रावल देखिएका छैनन्।

नेताहरुका अनुसार हाल रावल गृहजिल्ला अछाममा रहेका छन्। अधिवेशनमा निम्तो नगरिएकाले कार्यक्रममा सहभागी नभएको रावल निकट नेताहरूको भनाइ छ।

‘रावल कमरेडलाई निम्तो गरिएन, त्यसैले उहाँ अधिवेशनमा सहभागी हुनुभएको छैन,’ रावल निकट एक नेताले भने, ‘पार्टी पङ्क्तिबाट अधिवेशनका लागि रावललाई पनि आमन्त्रण गर्नुपर्थ्यो, यो अन्याय भएको छ, यसमा हाम्रो आपत्ति छ।’

नेकपा एमाले सुदूरपश्चिम कमिटीले भीम रावल केन्द्रीयस्तरको नेता भएकोले शीर्ष तहबाटै निम्तो हुनु पर्नेमा जोड दिएको थियो। शनिबार अधिवेशनको बारेमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले भनेका थिए, ‘भीम रावल केन्द्रीय नेता हुन्। केन्द्रीय पदाधिकारी तथा सदस्य चयनमा उहाँको चासो हुन्छ। प्रदेश, जिल्ला तथा वडामा उहाँको चासो छैन।’

अधिवेशनमा सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट र नेता कर्ण थापालाई आमन्त्रण गरिएको थियो।

अधिवेशनमा एमालेका शीर्ष नेतादेखि स्थानीय नेता कार्यकर्ता सहभागी छन्। तर एमालेका पूर्वउपाध्यक्ष रावल आफ्नै पार्टीको प्रदेश अधिवेशनमा आमन्त्रण नगरिएको भन्दै कार्यक्रममा सहभागी भएका छैनन्।

गत निर्वाचनमा अध्यक्ष ओलीले टिकट नदिएपछि रावल एमालेको राजनीतिमा सक्रिय छैनन्।

गत साउन अन्तिम साता एमाले अध्यक्ष ओली र रावलबीच कुराकानी भए पनि एमालेले उनलाई पार्टीको जिम्मेवारी दिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .