दार्चुलाको लेकम गाउँपालिका–५ रिठाचौपाताका २४ वर्षीय दीपेशराज विष्टले सानै छँदा बुवा गुमाए। उनी बुवा बित्दा मात्र ५ वर्षका थिए। शिक्षण पेसामा रहेका उनका बुवा २०६१ सालतिर बितेका हुन्।
घरका जेठा छोरा हुनाले परिवारको जिम्मेवारी उनकै काँधमा थियो। सुदूरपश्चिम विश्वविद्यालयबाट बीएस्सी एग्रिकल्चर सकेर ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत गएको भदौ अन्तिम साता इजरायल गए।
परिवारको जिम्मेवारी बोकेर विदेश लागेका दीपेशराज गत शनिबार प्यालेस्टाइनी लडाकु समूह हमासको हमलामा मारिए। सहारा गुमेपछि दीपेशको परिवार यतिबेला भावविह्वल छ।
कलिलो नातिको निधनले वृद्ध उमेरकी बज्यै गलेकी छन्। आमा सम्हालिन सकेकी छैनन्। विदेशमा दीपेशको दुखान्तले भाइलाई रुवाएको छ।
त्यसो त इजरायलमा हमासको हमलामा परी उनीसहित १० नेपाली युवाको निधनले यतिबेला देश नै शोकमा डुबेको छ। आजको दिनलाई सरकारले ‘राष्ट्रिय शोक’ घोषणा गरेको छ।
दीपेशकी आमा पार्वती स्कुलमा पढाउँछिन्। उनी हाल लेकम गाउँपालिका–५ रिठाचौपातामा राहत शिक्षकको रुपमा कार्यरत छिन्।
रिठाचौपायातामा दीपेशका बज्यै र आमा बस्छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा दीपेशका काकाको घर छ।
बुवा बितेपछि दीपेशले पढाइलेखाइ महेन्द्रनगरमै बसेर गरेका हुन्।
‘बाबुले सुरुदेखि अध्ययन महेन्द्रनगरमै बसेर गर्यो, पढाइमा राम्रो थियो’, दीपेशका ठूलोबुवा हरिराज भन्छन्, ‘घरको अभिभावक नै ऊ थियो, परिवारमा ठूलो बज्रपात परेको छ।’
दीपेशले कक्षा १० सम्मको अध्ययन महेन्द्रनगरको ग्लोबल एकेडेमी गरेका थिए। त्यसपछि उनले आईएस्सी महेन्द्रनगरकै रेडियन्ट माध्यमिक विद्यालयबाट गरे।
बीएस्सी एग्रिकल्चर सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसबाट उत्तीर्ण गरेका थिए, उनले।
दीपेशका भाइ नेपाल सरकारबाट पाउने छात्रवृत्तिमा नाम निकालेर अहिले धरानमा एमबीबीएस अध्ययन गरिरहेका छन्। दीपेशको दुखान्तपछि आमा पार्वती र भाइ महेन्द्रनगर आउँदै छन्।
‘पहाडमा शव लैजान गाह्रो हुन्छ, त्यसैले यतै बुझौँला भनेर सबै यतै आउँदै छन्,’ हरिराजले भने, ‘अब शव कहिले आउँछ? पाउँछौँ कि पाउँदैनौँ भन्ने पनि थाहा छैन।’
दीपेशले पहिलो महिनाको तलब पनि बुझ्न पाएनन्। भदौ अन्तिम साता इजरायल उडेका उनको यो महिनाको अन्तिममा महिना पूरा भएर तलब आउनेवाला थियो। इजरायल पुगेको एक महिना पनि नपुग्दै हमास आक्रमणमा उनी मारिए।
Shares
प्रतिक्रिया