नागरिक उन्मुक्ति पार्टीकै २ सांसदले मुख्यमन्त्री पद दाबी गरेपछि निर्णय हुन नसकेको सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाटै फेरि एकीकृत समाजवादीका नेतालाई मुख्यमन्त्री बनाउनेगरी प्रदेश प्रमुखकहाँ दाबी पेस गरिने भएको छ।
नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी (नाउपा), माओवादी केन्द्रसमेतको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन्।
नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०), नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीको समर्थन लिएर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाँदै छन्।
तर प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दिएको समयसीमा यही वैशाख २ गते साँझ ५ बजेबाट सकिइसकेको छ भने उक्त अवधिभित्र नाउपाकै दुई नेता कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले बहुमत देखाउँदै मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन्।
तर एकै दलबाट दुई जनाको दाबी आएकाले निर्णय गर्न नसकेका प्रदेश प्रमुख मियाँ कानुनी परामर्शमा रहेका बेला फेरि एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्रीमा दाबी गर्ने भन्दै प्रदेश प्रमुख कार्यालयतर्फ लागेका हुन्।
आजै बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिमको अप्ठेरो फुकाउन प्रधानमन्त्रीले आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेको दाबी गरेका थिए।
सोलगत्तै एकीकृत समाजवादी आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भन्दै अघि बढेको हो।
शीर्ष तहमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि प्रदेशका सत्ताघटक दलहरू छलफल गरेर अहिले प्रदेश प्रमुखको कार्यालयमा गइरहेको एक नेताले बताए।
यसअघि मुख्यमन्त्री पद नपाएपछि कांग्रेससँग मिलेर नाउपाको रेशम पक्षका लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन भनी प्रदेश प्रमुखको कार्यालय गएको एकीकृत समाजवादी अहिले मुख्यमन्त्री आफैँले पाउने भएपछि फेरि सत्ता गठबन्धनतिरै फर्किएको हो।
यसअघि सत्ता गठबन्धनका दलबीच एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिँदै यसअघिको दाबी रद्द गरेर उपयुक्त नयाँ प्रक्रिया थाल्दै दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी गर्न सकिने विषयमा छलफल भएको थियो।
Shares
प्रतिक्रिया