सुन्निएका हातखुट्टा। थकित शरीर। झुत्रा लुगा अनि मलिन अनुहार।
यस्तै हुलियामा गड्डाचौकी नाकामा भेटिए, दाङका मानबहादुर सुनार। भारतमा लुटिएका उनी हिँडेर मंगलबार बिहान पश्चिमी नाका गड्डाचौकी पुगेका रहेछन्।
भारतको उत्तराखण्डमा पर्ने टेहेरीमा मजदुरी गर्ने मानबहादुर भाइ नरवलालसँगै घर फर्किरहेका थिए। मजदुरी गरेर कमाएको पैसा लिएर घरमा खेतीपाती गर्न उनीहरू फर्किँदै थिए।
साथमा लुगाफाटोको झोलाझिम्टी, बालबच्चाका लागि कोसेली र नगद १० हजार भारु थियो। तर त्यो सबै लुटिएर मानबहादुर बेखर्ची अवस्थामा गड्डाचौकी नाका आइपुगे।
‘जिप ड्राइभर नेपाली नै थिए। सुर्खेत घर हो भन्थे, ८ सय रुपैयाँ भारुमा नेपालगन्जसम्म पुर्याउने भनेपछि हामी जिपमा बस्यौँ। कासीपुरमा उनीहरूले जुस दिए। विश्वास लागेर जुस पिएँ। त्यसपछि हामी बेहोस भयौँ,’ उनले भने, ‘भएभरको पैसा लुटियो। झोलीझिम्टा पनि पाइएन।’
बेखर्ची भएपछि कासीपुरमा मागेर संकलन गरिएको रकमले केही किलोमिटरको यात्रा गाडीमा गरे, उनले। त्यसपछि ३०/४० किलोमिटर हिँडेरै गड्डाचौकी पुगेको उनी बताउँछन्। लुटपाटमा परेका भाइ नरवलाल भने त्यसैदिनदेखि सम्पर्कमा छैनन्।
मानबहादुर मंसिरमा मजदुरी गर्न भारत गएका थिए। गड्डाचौकीस्थित नागरिक सहायता कक्षले मानबहादुरलाई खर्च दिएर घरतर्फ पठाएको छ।
केही दिनअघि पञ्जावबाट घर फर्किरहेको एक दम्पतीलाई पनि वनवासादेखि गड्डाचौकी आउने क्रममा नसालु पदार्थ खुवाएर लुटिएको थियो। सुर्खेतको बराहाताल गाउँपालिका–७ का मनिराम दमाई र उनकी श्रीमती सुक्मादेवीलाई लस्सीमा नसालु पदार्थ खुवाइएको थियो।
‘बिहान अँध्यारोमै वनवासा पुगेका थियौँ। गड्डाचौकी नै छाडिदिन्छु भनेर अटोले बसाएर ल्यायो,’ सुक्मादेवीको गुनासो थियो, ‘थोरै वर आएपछि लस्सी खाऊँ भन्यो, हामीले पनि खायौँ, फेरि केही थाहा छैन।’
उनका अनुसार १५ हजार भारु, लुगाकपडा र मोबाइल लुटिएको थियो। वनवासानजिकै आम बगैंचामा बेहोस अवस्थामा भेटिएका उनीहरूलाई भारतीय प्रहरीले नाकासम्म पुर्याएको हो।
गड्डाचौकीस्थित नागरिक सहायता कक्षका प्रमुख दानसिंह बोहराका अनुसार वैशाख महिनामा मात्रै लुटिएर अलपत्र परेका ११ जना नेपाली नाकामा पुगेका छन्। तीमध्ये अधिकांश नेपालीबाटै लुटिएको गुनासो उनले सुनेका छन्।
‘भारतीयबाट नेपाली सजग हुन्छन्। नेपालीहरू नेपालीलाई नै प्रलोभन देखाएर लुट्ने गरेका छन्। यहाँ आउने अधिकांश नेपालीबाटै लुटिएको भनेर गुनासो गर्छन्,’ उनी भन्छन्, ‘बसपार्कलगायत ठाउँमा चिया, चिसोमा नसालु पदार्थ खुवाएर लुट्ने समूह सक्रिय देखिन्छन्।’
सुदूरपश्चिमसहित देशका अन्य भूभागका मानिस कामको खोजीमा भारतको विभिन्न ठाउँ पुग्ने गरेका छन्।
Shares
प्रतिक्रिया