भक्सहलको मातृकम्पनपी स्टेलान्टिसले ३० अर्ब युरोभन्दा धेरै रकम विद्युतीय सवारीसाधनमा लगानी गर्ने भएको छ ।
बीबीसीका अनुसार यही वर्षको अन्त्यसम्ममा उक्त लगानी भइसक्नेछ ।
कम्पनीले सन् २०२६ सम्ममा पेट्रोल कारको जस्तै विद्युतीय कारको मूल्य पनि बढी नपर्ने गरी लगानी गर्न लागेको जनाएको छ । त्यस्तै स्टेलान्टिसले युरोप र अमेरिकामा आफ्नो रणनैतिक योजना पूरा गर्न कम्तीमा पाँचवटा ब्याट्री प्लान्टहरु स्थापना गर्ने जनाएको छ ।
कम्पनीले फ्रान्स र जर्मनीमा यसअघि नै दुईवटा ब्याट्री प्लान्ट स्थापना गर्ने घोषणा गरिसकेको छ । तेस्रो प्लान्ट भने इटालीको टर्मोलीमा स्थापना गर्ने जनाइसकेको छ । स्टेलान्टिस विश्वको चौथो ठूलो कार उत्पादक हो ।
गत जनवरीमा इटालेली र अमेरिकी कम्पनी फियाट क्राइस्लर र फ्रान्सको पीएसएबीच मर्जर भएर जनवरीमा स्टेलान्टिस बनेको थियो । यो कम्पनीले अहिले विद्युतीय कार निर्माता टेस्लासँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ ।
स्टेलान्टिसले पुज्योट, जीप, ¥याम, फियाट र ओपेललगायत आफ्ना सबै १४ सवारीसाधन ब्रान्डमा पूर्ण विद्युतीय कारको बिक्री थाल्ने जनाएको छ ।
योसँगै उसले विद्युतीय सवारीसाधनको मूल्य सुपथ र दिगो हुने गरी ध्यान केन्द्रित गरेको जनाएको छ । तर प्यासेन्जर कारको मूल्य कतिसम्म कायम हुने भन्नेबारे चाहिँ उसले खुलाइसकेको छैन ।
कम्पनीले कमर्सियल सवारीसाधन पनि विद्युतीय बनाउने जनाएको छ । सँगसँगै यही वर्ष अन्त्यसम्म हाइड्रोजन फ्युलसेल भएका सवारीसाधन पनि बजारमा ल्याउने जनाएको छ ।
स्टेलान्टिसका प्रमुख कार्यकारी कार्लोस टाभारेसले अहिलेको समय रुपान्तरणको समय भएको बताए । सोही कारण कम्पनीले विद्युतीय यात्रामा पूर्णगतिमा सुरु गरेको उनको भनाइ छ ।
कम्पनीका अनुसार विद्युतीय कारहरु चारवटा प्लेटफर्ममा बन्नेछन् । ती कारको ड्राइभिङ रेन्ज एकपटकको चार्जमा पाँच सयदेखि आठ सय किमिसम्म रहनेछ । यसको फास्ट चार्जिङ क्षमता प्रतिमिनेट ३२ किमिको रहेको कम्पनीले जनाएको छ ।
यही हप्तामात्रै कम्पनीले बेलायतस्थित चेसाइरमा एलेसमिअर पोर्ट प्लान्टमा विद्युतीय भ्यान बनाउने घोषणा गरेको थियो ।
त्यसमा कम्पनीले १० करोड पाउन्ड स्टर्लिङ लगानी गर्ने र बेलायत सरकारले तीन करोड पाउन्ड योगदान गर्नेछ ।
कारखानामा एक हजार रोजगारी समेत सिर्जना हुने बताइएको छ ।
Shares
प्रतिक्रिया