ad ad

अटो


नेपालमै सुरु भयो टीभीएसका बाइक उत्पादनः १ अर्ब लगानी, तीन सय जनालाई रोजगारी

नेपालमै सुरु भयो टीभीएसका बाइक उत्पादनः १ अर्ब लगानी, तीन सय जनालाई रोजगारी

वसन्त अर्याल
भदौ १९, २०७७ शुक्रबार ९:१२,

जगदम्बा मोटर्सले १ अर्बको लगानीमा टीभीएसका बाइक नेपालमै उत्पादन सुरु गरेको छ। कम्पनीले सिमरामा प्लान्ट स्थापना गरी नेपालमै उत्पादन सुरु गरेको हो।

नेपालमा आधिकारिकरुपमा टीभीएसका बाइक तथा स्कुटर बिक्रीवितरण गर्दै आएको व्यावसायिक घराना शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोर्टसले प्लान्टमा लगानी गरेको हो।

जगदम्बा मोटर्सले नेपालमा अत्यधिक रुचाइएको अपाचे १६० को बाइकबाट उत्पादन गर्दै छ। वार्षिक १ लाख क्षमता भएको टीभीएस प्लान्टले एक वर्षभित्र अधिकांश बाइकको एसेम्बलिङ नेपालमै गर्ने लक्ष्य राखेको छ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले परीक्षण उत्पादनको अन्तिम चरणमा रहेको बताए।

‘अहिले परीक्षण उत्पादनमै छौँ। अबको केही समयपछि अपाचे १६० बाइक उत्पादन गर्दै छौँ’, अग्रवालले नेपालखबरसँग भने, ‘प्लान्टको क्षमता वर्षको झण्डै १ लाख उत्पादन गर्ने छ। टीभीएसको सबै सवारी नेपालमै उत्पादन गर्ने सोच छ।’

deepak agrawal 3

कम्पनीले अहिले करिब सय जना दक्ष जनशक्ति ‘हायर’ गरिसकेको भने अझै सय जना ‘हायरिङ’ प्रक्रियामै छ। अहिले करिब ३ सय बढीले रोजगारी पाउने कम्पनीले दाबी गरेको छ।

‘प्लान्ट निर्माणमा करिब १ अर्ब लागानी गरेको छ। माथिल्लो तहका करिब ३ प्रतिशतजति जनशक्ति बाहिरबाट ल्याउँछौँ भने बाँकी ९७ प्रतिशत नेपालीले नै रोजागारी पाउँछन्’, उपाध्यक्ष अग्रवालले भने।

जगदम्बा मोटर्सले भारतको टीभीएस मोटर्स लिमिटेडसँग सहकार्य गरी नेपालमा प्लान्ट स्थापना गरेको हो। कम्पनीले एसेम्बलको लागि आवश्यक सामग्री सबै टीभीएस कम्पनीबाटै आउनेछन्।

tvs simara 2

‘हामीले टीभीएसको सहकार्यमा प्लाल्ट सुरु गरेकाले शतप्रतिशत एसेम्बलको सामग्री टीभीएसबाटै ल्याउँदै छौँ’, अग्रवालले भने, ‘टीभीएसको कोलाब्रेसन (सहकार्य)सँगै प्राविधिक सहयोग रहेको छ। उहाँहरुको सहयोगविना हामी एक्लैले काम गर्नसक्ने अवस्था छैन। उत्पादनको ट्रायल, टेस्टिङ, गुणस्तर मापदण्ड सबै टीभीएस बाट नै सहयोग रहेको छ।’

सरकारले आर्थिक ऐनमार्फत नेपालमा दुईपांग्रे सवारी उत्पादन गर्नेलाई २५ प्रतिशतसम्म अन्तःशुल्क छुट दिइरहेको छ। सुरुमा ५० प्रतिशतसम्म छुट दिएको सरकारले पछिल्लो समय २५ प्रतिशत मात्रै छुट दिइरहेको छ।

सरकारले आर्थिक ऐन २०७७ अनुसार गाडी एसेम्बल गर्ने उद्योगलाई भने ५० प्रतिशतसम्म छुट दिने भएको छ। गत वर्ष २५ प्रतिशत अन्तःशुल्क छुट हुने व्यवस्था रहेकोमा अहिले ५० प्रतिशत पुर्याएको छ।

हाल नेपालमा गोल्छा अर्गनाइजेसनले बजाजको बाइक एसेम्बल गर्दै आएको छ भने अब शंकर ग्रुपले टीभीएसका बाइक एसेम्बल गर्न लागेको हो।

यी कम्पनीले नेपालमा उत्पादन गर्दा पनि आयात गर्दा जस्तै लागत लाग्ने बताएका छन्।

apache 160 bike

अग्रवालले भने, ‘नेपालमै उत्पादन गरे पनि हामीले बढी सरकारबाट सहयोग हुने देखेका छैनौँ। सरकारको अहिलेको कर प्रणालीले नेपालमा उत्पादन गर्दा र बाहिरबाट ल्याउँदा मूल्यमा खासै फरक पर्ने देखिँदैन। आगामी दिनमा सरकारसँग कुरा गरेर केही छुट पायौँ भने हामी घटाउँछौँ।’

टीभीएसले नयाँ–नयाँ प्रोडक्सन नेपालमा ल्याउँदै आएको छ। बाइकमा अपाचे आरटीआर १६०, आरटीआर २०० फोरभी एबीएस, आरटीआर १८०, आरआर ३१०, स्टाइकर १२५, म्याक्स १२५ रहेका छन्।

टीभीएस स्कुटरमा सबैभन्दा लोकप्रिय एनटर्क रहेको छ। त्यसैगरी क्लासिक जुपिटर, जेस्ट, विगोलगायतका छन्। तीन पांग्रे समेत बिक्री गर्दै आएको कम्पनीले टीभीएस किङ डिलक्स जीए प्लस र डुराम्याक्स रहेका छन्।

tvs simara 3

करिब ४ दशकदेखि भारतमा उत्पादन
टीभीएस मोटर्स भारतमा स्थापना भएको करिब चार दशक भएको छ। टीभीएस मोटर्स कम्पनी भारतमा तेस्रो ठूलो दुईपांग्रे कम्पनी हो। कम्पनीले भारतमा करिब ३ खर्ब राजस्व तिर्दै आएको छ।

भारतमा टीभीएसको वार्षिक ३० लाख बढी युनिट बिक्री गर्दै आएको कम्पनीको उत्पादन क्षमता करिब ५० लाख रहेको छ। तीन पांग्रे समेत उत्पादन गर्दै आएको कम्पनीले १२ लाख उत्पादन क्षमता रहेको टीभीएस उल्लेख गरेको छ।

tvs simara 4

भारतबाहिरका देशमा निर्यात गर्नेमा टीभीएस दोस्रो स्थानमा पर्छ। करिब ६० देशमा भारतबाट बाइक निर्यात गर्दै आएको बताएको छ।

टीभीएस मोटर्सले दुईपांग्रेमा मोपेड, स्कुटर, सहज यात्री बाइक, अपाचे सिरिज र आरआर ३१० जस्ता रेसिङ बाइक उत्पादन गर्दै आएको छ।

टीभीएसको भारतमा तामिलनाडु हेडक्वार्टरसहित प्लान्ट, कर्नाटका र हिमाचल प्रदेशमा र भारत बाहिर इन्डिोनेसियामा उत्पादन प्लान्ट रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .