बागमती प्रदेशमा एमालेले तत्काल सरकार नछोड्ने भएको छ। केन्द्रबाट निर्देशन नआएसम्म एमालेले सरकार नछोड्ने भएको हो।
सोमबार केन्द्र सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई गरेको समर्थन फिर्ता लिए पनि बागमतीमा भने अहिले नै सरकार छोड्ने स्थितीमा नरहेको प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले बताए।
‘केन्द्रबाट जस्तो निर्देशन आउँछ, हामीले त्यस्तै निर्णय गर्ने हौं। अहिलेसम्म सरकारको समर्थन फिर्ता लिने अथवा राजीनामा दिने भन्ने कुरा आएको छैन,’ मन्त्री श्रेष्ठले भने।
प्रदेश सरकार छोड्दा सबैतिर एकैपटक छोड्ने र एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट पनि तत्काल माओवादीले समर्थन फिर्ता नलिएको र मन्त्रीहरुले नछोडेको अवस्था रहेको छ।
‘अहिले तत्कालका लागि प्रदेश सरकार नछोड्ने र पार्टीको केन्द्रबाट निर्देशन आएपछी सरकार छोड्ने तयारीमा छौं,’ प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री तथा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले नेपालखबरसँग भने।
राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय भएपनि प्रधानमन्त्रीबाट अपमान भएको भन्दै सोमबार नै समर्थन फिर्तासहित मन्त्रीहरूले सरकार छाडेका हुन्।
केन्द्रको निर्देशन कुरेर बसिरहेका प्रदेशका मन्त्रीहरु सत्तामा रहने कि सत्ता बाहिर भन्ने बिषयमा अन्यौल देखिएका छन्।
यद्यपी, केन्द्रीय निर्देशन प्राप्त भएको खण्डमा एमालेका मन्त्रीहरू तत्काल सरकार छोड्ने विषयमा सकारात्मक देखिएका छन्।
बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री छन् भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री गरी एमालेका ४ मन्त्री छन्।
११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेका २७ सदस्य रहेका छन्।
Shares
प्रतिक्रिया