पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य आरोपितलाई पक्राउ गर्न माग गर्दै शनिबार (आज) चितवन बन्द गरिएको छ। मुख्य आरोपित उद्योगी प्रदीप रुङ्गटालाई पक्रन माग गर्दै न्यायिक संघर्ष समितिले चितवन बन्द गराएको हो।
किटानी जाहेरीमा नाम उल्लेख भएका जीवन रावललाई प्रहरीले सिमराबाट पक्राउ गरिसकेको छ। अनमोल फिड्सका लेखा प्रमुख रावलले रुङ्गटासँग मिलेर कँडेललाई मानसिक तनाव दिएको आरोप छ। अनमोल फिड्सको ८५ प्रतिशत सेयर खरिद गरेका रुङ्गटा र रावलले तनाव दिएको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेको उनको परिवारले जनाएको छ।
आत्महत्या दुरुत्साहन गर्नेहरूलाई कारबाही नभएसम्म चरणबद्ध आन्दोलन गर्दै जाने न्यायिक संघर्ष समितिले चेतावनी दिँदै शनिबार चितवन बन्द गरेको हो।
न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात तथा बजार क्षेत्रमा परेको छ। बन्दकर्ताहरूले ठाँउठाँउमा बन्द गराउँदै हिँडे पनि अहिलेसम्म गाडीमा तोडफोड र अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय (चितवन) ले जनाएको छ।
नेपाली कांग्रेसका पूर्वकोषाध्यक्षसमेत रहेका कँडेलको न्यायको माग गदै जिल्लामा ३ दिनदेखि आन्दोलन भइरहेका छन्।
मोटरसाइकलमा चढेर घुमेका बन्दकर्ताले जिल्लाका विभिन्न स्थानमा पुगेर बन्द गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय (चितवन) का प्रमुख राजकुमार तामाङले बताए।
‘शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको चितवन बन्दको प्रभाव यातायात क्षेत्रमा परेको छ। बन्दका कारण लामो दूरीका गाडी सञ्चालन हुन सकेका छैनन्। छोटो दूरीका गाडी पनि सहज रूपमा चल्न सकेका छैनन्। बन्दकर्ताले पुलचोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा जम्मा भएर गाडी चलाउन रोकेका छन्।
वैशाख १९ गतेदेखि भरतपुर अस्पतालको शवगृहमा राखिएको कँडेलको शवको अझै पोस्टमार्टम हुन सकेको छैन।
चितवन बन्दको भिडिओ
Shares
प्रतिक्रिया