ad ad

बागमती


बागमती : १७ हजार गाईभैंसीलाई लगाइयो लम्पी स्किन विरुद्धको खोप

बागमती : १७ हजार गाईभैंसीलाई लगाइयो लम्पी स्किन विरुद्धको खोप

नेपालखबर
असार ४, २०८० सोमबार १९:२६, काठमाडौँ

बागमती प्रदेशमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावित गाईभैंसीलाई खोप अभियान सञ्चालन गरिएको छ।

प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्मको अवधिमा १७ हजार १ सय ३५ गाईभैंसीमा यो रोग विरुद्धको खोप लगाइएको छ।

जेठ मसान्तसम्ममा प्रदेशका १३ वटै जिल्लामा गरी १८ हजार ४ सय ६० गाईभैंसीमा यो रोगको संक्रमण देखिएको छ। प्रभावित क्षेत्रका गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयको पशु विकास शाखाले जनाएको छ।

मकवानपुरमा हालसम्मको अवधिमा ८ हजार १ सय १३ गाईभैंसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। यहाँ हालसम्मको अवधिमा ७ हजार २ सय ९१ गाईभैंसीमा यो रोगको संक्रमण देखिएको थियो भने २ सय ७४ गाईभैंसीको मृत्यु भएको थियो। प्रभावित क्षेत्रका अन्य गाईभैंसीमा समेत यो रोग विरुद्धको खोप अभियान चलाइएको बताइएको छ।

यस्तै, लम्पी स्किन रोगले सबैभन्दा धेरै प्रभावित क्षेत्र नुवाकोट हो। हालसम्मको अवधिमा यहाँ ४ हजार ६ सय ६५ गाईभैंसी संक्रमित भएका छन् भने १ सय ५५ गाईभैंसीको लम्पी स्किन रोगकै कारण मृत्यु भएको छ। नुवाकोटमा ४ हजार ८ सय २५ गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको मन्त्रालयका कृषि विकास महाशाखा प्रमुख निशान्त शर्माले जानकारी दिए।

काठमाडौंमा १ सय ५१ गाईभैंसीमा यो रोगको संक्रमण भएकोमा ३ वटा गाईभैंसीको मृत्यु भएको छ। यहाँ ५ सय ५ वटा गाईभैंसीलाई यो रोग विरुद्धको खोप लगाइएको बताइएको छ।

यस्तै, दोलखामा १ सय ५२ वटा गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको तथ्यांक छ भने यहाँ हालसम्मको अवधिमा ६१ वटा गाईभैंसीमा यो रोग देखिएको थियो। दोलखामा लम्पी स्किनका कारण गाईभैंसीको मृत्यु नभएको मन्त्रालयका पशु विकास शाखा प्रमुख शर्माले जानकारी दिए।

सिन्धुपाल्चोकमा हालसम्मको अवधिमा १ सय ८७ वटा गाईभैंसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ। यहाँ ९८ वटा गाईभैंसी यो रोगबाट प्रभावित भएका छन् भने एउटा गाईको लम्पी स्किनकै कारण मृत्यु भएको बताइएको छ।

चितवन प्रभावित जिल्ला मध्येको दोस्रो हो। यहाँ ४ हजार ३ सय ७७ गाईभैंसी लम्पी स्किन रोगबाट प्रभावित भएको मन्त्रालयको तथ्यांक छ। जसमध्ये १ सय ४० गाईभैंसी सो रोगका कारण मृत्यु भएका छन् भने हालसम्मको अवधिमा चितवनमा ३ हजार ३ सय ८० गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयका पशु विकास महाशाखा प्रमुख शर्माले जानकारी दिए।

प्रदेशका बाँकी ७ जिल्लाहरु ललितपुर, भक्तपुर, रामेछाप, सिन्धुली, धादिङ, रसुवा, काभ्रेपलाञ्चोकले भने हालसम्म खोप प्रक्रिया अघि नबढाएको शर्माको भनाई छ।

‘सो कार्यक्रमका लागि पशुपन्छी कोष संक्रात्मक रोग खोप शिर्षकमा हरेक जिल्लामा बजेट पुगिसकेपनि काम सुरुवातमा ढिलाई भएको हो। अर्को आकस्मिक रोग नियन्त्रण भन्ने शिर्षकमा पनि बजेट भएको भएर हाललाई सो शिर्षकबाट कार्यक्रम अघि बढाउन जिल्लाका भेटेनरी अस्पतालहरुलाई निर्देशन गरेका छौं’ उनले भने।

रोकथामका लागि सक्रिय मन्त्रालय
प्रदेशको १३ वटै जिल्लामा सरोकारवालाहरु माझ जनचेतना फैलाउन मन्त्रालयले प्रचार प्रसार सामग्री तथा सूचना प्रकाशन गरेर सुसूचित गराउने काममा सक्रियता देखाउँदै आएको मन्त्रालयका सचिव शरण कुमार पाण्डेले बताए।

यस्तै, रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशिघ्र शुरु गर्न जिल्लास्थित भेटेरिनरी अस्पताललाई निर्देशन दिएर खोपमा तीव्रता दिइएको पाण्डेको भनाइ छ। बागमती प्रदेशभित्र कुनै स्थानमा लम्पी स्किन फैलिएमा मन्त्रालयको टोल फ्रि नम्बर १८१०६००००११ मा सम्पर्क गर्न समेत कृषक तथा सरोकारवालाहरुलाई मन्त्रालयले अनुरोध गरेको छ।

कस्तो हुन्छ लक्षण?
उच्च ज्वरो (१०४ फरेनहाइट वा माथि) आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण गाईमा देखिएको छ। शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन्।

साथै कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यस रोगमा देखिन्छन्। यस रोगबाट एउटा क्षेत्रमा सामान्यतः २० प्रतिशतजति गाई बिरामी हुने र १ देखि ५ प्रतिशतसम्म मर्न सक्छन्।

धेरै पशु नमर्ने भए पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र बाँझोपन हुने भएकाले खोरेँत रोगले जस्तै यो रोगले पनि ठूलो आर्थिक क्षति पुर्याउन सक्छ। यो रोग मानिसमा भने सर्दैन।  

त्यस्तै, संक्रमित गाईभैंसीको आवतजावत र लसपसबाट तथा संक्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा पनि यो रोग सर्ने गरेको पाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .