बागमती प्रदेश सरकार बिस्तार हुने भएको छ।
हाम्रो नेपाली पार्टी (हानेपा) का सांसद शैलेन्द्रमान बज्रचार्यलाई सरकारमा सहभागी गराउन लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको हो।
सरकारमा सहभागी हुनका लागि सांसद बज्राचार्य प्रदेशको राजधानी हेटौंडा आइरहेको स्रोतले जनाएको छ।
केही दिनअघिसम्म मुख्यमन्त्रीको बार्गेनिङ गर्दै सरकारमा सहभागी नहुने बताएका बज्रचार्यले गत शुक्रबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
ईमेलमार्फत समर्थन फिर्ता लिएको जानकारी गराएका उनी सरकारमा सहभागी हुन लागेकोबारे हानेपाका केन्द्रीय नेता भने जानकार नरहेको बताउँछन्।
हानेपाका अध्यक्ष अनन्त घिमिरेले आफ्ना सांसद सरकारमा सहभागी हुन लागेको थाहा नभएको बताए।
प्रदेश सभामा हानेपाका दुईजना सांसद छन्। पार्टी अध्यक्ष घिमिरेले बिहीबार बागमती प्रदेशको राजनीतिक अवस्था र पार्टीको भूमिकालाई लिएर आफ्नो पार्टीका सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको बताए। तर छलफलअघि नै प्रदेशसभा सदस्य बज्राचार्य सम्पर्कविहीन भएको उनले बताए।
यता, सरकारमा सहभागी हुनेबारे छलफल गर्न बज्राचार्यसँगै एमालेका केही सांसदहरू पनि हेटौंडा आइरहेको संसदीय दलका सचेतक मधुसूदन पौडेलले बताए।
उनका अनुसार छलफल सकारात्मक भए आजै बज्राचार्यलाई मन्त्रीको सपथ गराउने तयारी भइरहेको छ।
Shares
प्रतिक्रिया