प्रदेशमा आर्थिक भार थपिएको भन्दै मुख्यमन्त्रीको शपथलगत्तै मन्त्रालयको संख्या घटाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १६ महिना नबित्दै १३ मन्त्रालय पुर्याउने भएका छन्।
२६ पुस २०७९ मा मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका मुख्यमन्त्री जम्मकट्टेलले फेरि एक मन्त्रालय थप्ने गृहकार्य सुरु गरेका छन्।
अघिल्लो कार्यकालको अन्तिममा १४ मन्त्रालय रहेको बागमतीमा तीन मन्त्रालय कटौती गर्दै ११ मन्त्रालय बनाएका उनलाई दलीय भागबण्डा पुर्याएर प्रदेशमा आफ्नो नेतृत्व टिकाइराख्न मन्त्रालय थप्ने बाटो समातेका हुन्।
१२ मन्त्रालय रहेको प्रदेशमा १३ मन्त्री नियुक्त गरिपछि बिना विभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिन एक मन्त्रालय थप्ने गृहकार्य सुरु भएको बताइएको छ। हाल रहेका नेकपा एकीकृत समाजवादीका दुई मन्त्री मध्ये कोही पनि ब्याक हुन नमानेपछि एक मन्त्रालय थपेरै भएपनि दलीय भागबण्डा मिलाउने गृहकार्य सुरु भएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले बताए।
उनका अनुसार नेकपा एसले प्रस्ताव गरेको दुई विकल्प मध्ये एक विकल्प पूरा गर्नेगरि मन्त्रालय संख्या बढाउने रणनीति सुरु भएको हो। यसअघि मन्त्री व्यवस्थापनका लागि एमाले बागमतीका सचेतक मधुसूदन पौडेलको संयोजकत्वमा बनेको कार्यदलले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई दुईवटा प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा नेकपा एसलाई प्रदेशमा रहेका मन्त्रालयहरुमध्ये रोजेकै मन्त्रालय दिनुपर्ने एउटा प्रस्ताव थियो। यसो हुँदा नेकपा एसका एक मन्त्री फिर्ता हुने भनिएको थियो।
यस्तै, दोस्रो प्रस्तावमा रोजेको मन्त्रालय नलिने तर तीनजना मन्त्रीलाई नै व्यवस्थापन गर्नुपर्ने उल्लेख थियो। रोजेकै मन्त्रालय दिँदा माओवादी केन्द्रको पोल्टामा रहेको सामाजिक विकास मन्त्रालय अथवा भौतिक पूर्वाधार विकास मन्त्रालय सुम्पिनु पर्ने भएपछि दोस्रो प्रस्ताव अनुसार एक मन्त्रालय थपेर तीनजना मन्त्रीलाई नै व्यवस्थापन गर्न लागिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत बताउँछ।
प्रदेश सरकारमा नेकपा एसका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल माओवादी–कांग्रेस र नेकपा एसको गठबन्धन हुँदा नै सरकारमा सहभागी भएका थिए भने बिना विभागीय मन्त्री रमा आलेमगर मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिँदा अर्थात् १९ चैत २०७९ मा नियुक्त भएकी थिइन्।
त्यसो त, एक हप्ताभित्र विभागीय जिम्मेवारी दिने भन्दै बिना विभागीय मन्त्री नियुक्त गरेका मुख्यमन्त्रीले एक महिना बित्नै लाग्दा पनि विभागीय जिम्मेवारी नतोकिएको भन्दै मन्त्री आलेमगरले राजीनामा दिने चेतावनी नै दिएकी छिन्। आफूले आउँदो १९ गतेसम्म कुर्ने, त्यतिबेलासम्म पनि विभागीय जिम्मेवारी नपाए राजीनामा दिने बताएकी हुन्।
‘मुख्यमन्त्रीज्यूले केही दिन पर्खिदिनोस् भनेर मानेर बसेको हुँ,’ मन्त्री आलेमगरले भनिन्, ‘अब केही दिन कुर्छु। मेरो पार्टीका नेताहरुले पनि १९-२० गतेसम्म कुरौं भन्नुभएको छ। त्यतिबेलासम्म पनि वास्ता गरेनन् भने मैले राजीनामा दिन्छु। यो मेरो मात्रै राजीनामा हुने छैन। सिंगो पार्टीको राजीनामा हुनेछ।’
बागमतीमा हाल मुख्यमन्त्री सहित माओवादीको भागमा ४ मन्त्रालय छ। नेकपा एमालेले अर्थ मन्त्रालय सहित ५, नेकपा एकीकृत समाजवादीको बिना विभागीय मन्त्री सहित ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का एक मन्त्री छन्। मुख्यमन्त्रीको शाख जोगाउनका लागि विश्वासको मत लिएपिच्छे मन्त्री थप्दै लानुपर्ने बाध्यतामा मुख्यमन्त्री जम्मकट्टेल छन्। गत १९ चैतमा पनि समर्थन नपुग्ने देखिएपछि नेकपा एसकी आलेमगरलाई मन्त्री नियुक्त गरेका उनलाई आलेमगरकै जिम्मेवारी टाउको दुखाईको विषय बनिरहेको छ।
Shares
प्रतिक्रिया