प्रिय, आज प्रणय दिवसका दिन पहिलो पटक तपाईंबाट तिमी अनि प्रीय भनेर सम्बोधन गर्ने धृष्टता गर्दैछु। यो तिमीको सम्बोधनले मनमा एक प्रकारको रोमान्चकता पैदा गरेको छ। निकै नै मीठो छ यो रोमान्चकता। यो मिठास मनमा मौरीको खिलजसरी बिझेको छ। मिठो यस अर्थमा छ कि यसले मलाई पहिलोपल्ट स्वर्णिम सपना नयन भरी सजाउने अवसर दिएको छ। सँगै मेरो सपना क्षण भरमै तहसनहस हुन पो हुने कि भनेर मनको आकाशमा आशङ्काका कालो बादल मडारिन खोज्छ।
मान्छेको मन न हो जो चाहेरै पनि कहिलेकाहीँ लक्ष्मण रेखा नाघिदिन खोज्छ। तैपनि आँखाले मिठो र सुन्दर सपना सँगाल्न छाड्दैन। मेरो हृदयबाट प्रस्फुटित मायाका प्रत्येक उद्ववेग, तिम्रो चाहनामा समर्पित मेरो प्रत्येक भावना, अनायसै तिमीतर्फ बढ्ने मेरा निर्दोष पाइला, तिम्रै प्रतीक्षामा घन्टौँ टोलाइ रहने यी मेरा एकोहोरो नजर र तिम्रो सामिप्यको चाहनामा धड्किने मेरो प्रत्येक धड्कनका कारण आज मेरो कलम प्रेमको कहानी कोर्न तयार भएको छ। मलाई विश्वास छ, तिमीले झर्को नमानी एक पटक धैर्यता सहित यो चिठी पढ्ने नै छौ।
तिम्रै यादमा व्यथित मेरो मुटु थकित हुन्छ घरीघरी। लाग्छ यतिका धेरै आफन्तबीच पनि म नितान्त एक्लो र बेसहारा भएको महसुस गर्दैछु। भौतिक सुखका सामाग्री किन्न सामर्थ्य राखे पनि माया र मन किन्न नसक्नु सायद मानवजातिको सबैभन्दा निरीहता हो। यो सबै तिमीप्रतिको आशक्तिको प्रतिफल हो। त्यस्तो खाली क्षण छैन जहाँ तिम्रो याद नआएको होस्। यस्तो लाग्छ कि म तिम्रो मायाको सागरमा यति गहिरो डुबेको छु, जहाँ मोती नटिपी किनारमा आउन म राजी छैन। मेरो अन्तरआत्मा पछाडि फर्केर हेर्न कदापि चाहँदैन। तर मानिसका सबै चाहनाहरु पुरा हुन सम्भव छैन।
हो म तिमीलाई मन पराउँछु र माया गर्छु यस अर्थमा तिमीलाई मैले प्राप्त गर्नै पर्छ भन्ने पनि होइन। तर तिमीले मेरो माया र प्रेमिल भावनाको कदर गरी माया साट्ने एक मौका दियौ भने मेरो सौभाग्य हुनेछ। तर तिमी मेरो अन्तरआत्माबाट प्रस्फुटित मायाको उद्वेगलाई कोरा बकवास ठान्छौ भने मेरो भन्नु केही छैन। तिमीले मलाई मनपराउन पनि सक्छौ र घृणा गर्न पनि सक्छौ, यो तिम्रो नितान्त व्यक्तिगत निर्णय हो ।
तर, मलाई खिरिलो विश्वास छ, तिमीले मलाई तिरस्कार गर्ने छैनौ।
प्रिय, तिमी वास्तवमै मेरो प्रेरणा हौ, आदर्श हौ, पूजा हौ, श्रद्धा हौ र माया हौ। तिम्रो शालीनता, सरलता, वैचारिक व्यापकता, निर्दोषिता र निश्कलङ्कता नै मेरो लक्ष्य भएको छ। मन परेको चिज प्राप्त गर्नै पर्छ भन्ने लहड पनि मलाई छैन। त्यसैले तिमीलाई प्राप्त गर्न नपाएको झोकमा म आत्महत्या पनि गर्ने छैन। तर, तिमी बिनाको संसार अत्यन्त पीडादायी हुनसक्छ।
वस्तुतः तिमी मेरो लागि श्वासप्रश्वास जस्तै अनिवार्य आवश्यकता बनिसकेकी छौ। तिम्रो र मेरो मानसिक तथा वैचारिक समानताको संयोजन हुन सकेमा हाम्रो लागि मैले कल्पना गरेको सुन्दर संसार भने अवश्य नै प्राप्त हुनेछ। म तिमीलाई संसारका सारा खुसीहरु अञ्जुली भरी थमाईदिन्छु भन्ने दाबी गर्दिनँ। किनकि आकाशका तारा टिप्ने दिवास्वप्न भन्दा बगैँचामा फूलेको एउटा सानो शिरफूल सिउरिदिने यथार्थतामा मलाई बढी आनन्द लाग्छ। तर तिमी मधुमालती अनि म मधुकर बनी कल्पनाको वायुपंखी घोडामा सवार भई बादलपारिको देशमा सयर गर्ने सपना भने देख्न छाड्दिनँ।
न्यानो मायाको दाम्लोले एकै टाट्नामा जीवन पर्यन्त बाँधिएर तिमीलाई सदा साथ दिने बाचा भने म अवश्य नै गर्न सक्छु। हुन त यहाँ बाचा निकै सस्तो हुन्छ, बाचा तोडेर बाटो मोड्नेहरु पनि प्रशस्तै छन्, त्यसैले बाचामा विश्वास गर्नु त्यति बुद्दिमानी नहुन सक्छ। तथापि संसार यसैमा अडेका कारण म पनि बाचा गर्न तम्सिरहेको छु। आजसम्मको मप्रतिको मूल्यांकनबाट नै तिमीले अनुमान गर्न सक्छौ कि म कति हदसम्म विश्वासयोग्य छु। यसको निर्णायक तिमी स्वयं नै हौ र यसको जिम्मा मैले तिमीमाथि नै छोडेको छु।
प्रिय, यो पत्र लेखिरहँदा हात निकै काँपिरहेको छ। कतै तिम्रो अस्वीकृतिको सुनामीले मेरो कल्पनाले संसार तहसनहस पो हुने हो कि भन्ने पिरलो पनि छँदैछ। तरै पनि आफूलाई सम्हाल्ने हिम्मत जुटाउँदैछु। हुन त म आफ्नो भाग्य आफैँ लेख्न चाहन्छु। तर, यतिबेला तिमी मेरी विधाता बनेकी छौ, जसलाई मेरो भाग्य लेख्ने अधिकार मैले सुम्पेको छु।
प्रिय, हुन त माया गर्नलाई प्रणय दिवस नै कुर्नुपर्छ भन्ने होइन तर आज विशेष दिन हो। यही अवसरमा हामी दुईको अलगअलग जीवनको धागो गाँस्ने प्रस्ताव गर्छु।
प्रणय दिवसको शुभकामनासहित।
(सुरज श्रेष्ठ हङकङमा व्यवसाय गर्छन्)
प्रतिक्रिया