सिद्धान्ततः कम्युनिस्ट दर्शन अँगाल्ने व्यक्ति ‘भगवान्’मा विश्वास गर्दैनन्। कम्युनिस्ट दार्शनिक कार्ल मार्क्सले भनेका छन्, ‘धर्म अफिम हो।’
यसको अर्थ– धर्म, देवीदेवता भन्ने कुरा अफिमजस्तै नशा हुन्, जसले मानिसलाई लठ्याउने कामबाहेक केही गर्दैनन्। अथवा जसरी अफिमको अम्मलले मानिसलाई फाइदा गर्दैन, त्यसरी नै धर्म र भाग्यवादका कुराले पनि मानव जीवनलाई लाभ पुर्याउँदैन, मुक्ति दिँदैन भन्न खोजिएको हो भनेर लगाउन सकिन्छ।
उसो त एमालेको नाममै मार्क्स छन्– एकीकृत मार्क्सवादी–लेलिनवादी। तर मैले आफू बुझ्ने भएदेखि आजका मितिसम्म यस पार्टीका सर्वाेच्च नेता केपी शर्मा ओलीले मार्क्सवाद, लेलिनवाद वा कम्युनिस्ट दर्शनबारे बोलेको वा व्याख्या गरेको सुनेको छैन।
बरु पछिल्लोपटक उनको आचरण एउटा कम्युनिस्ट होइन, धार्मिक व्यक्तिको जस्तो देखिन थालेको छ।
उनीभित्र लुकेको धार्मिक व्यक्तित्व प्रत्यक्ष रूपमा केही समयअघि पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेदेखि प्रकट भएको हो। त्यसलगत्तै उनले चितवनको माडीमा राम मन्दिर स्थापना गरे। त्यसपछि त उनको धार्मिक विश्वास अझ प्रखर रूपमा सार्वजनिक भयो।
आज (मंसिर १० गते) उनको ‘कम्युनिस्ट’ पार्टी नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन पनि त्यही जिल्लामा भइरहेको छ। उद्घाटन स्थल पनि उनले ‘पवित्र’ नारायणी नदी किनारमा बनाए। आज त्यहीँ एमालेको महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ।
त्यस समारोहमा उनले राखेको विचारले त झन् उनी ‘भगवान’प्रति कति विश्वास गर्छन् भन्ने छर्लङ्ग पारेको छ।
मन्तव्यका क्रममा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किने दाबी गरे। र, त्यसका लागि उनले एमालेप्रति मतदाता तान्ने भाषण गरे। तर कुनै कम्युनिस्ट दर्शन र साम्यवादको व्याख्या गरेर होइन, सूर्य ‘भगवान्’को महिमा गाएर अर्थात् धर्मको ‘अफिम’ खुवाएर– सोझासिधा जनतालाई लठ्याउने प्रयास गरिरहेका थिए।
एउटा ‘कम्युनिस्ट’ नेताको भाषण कुनै ‘धार्मिक गुरु’को झैं लाग्थ्यो।
उनले सूर्यसम्बन्धी गायत्री मन्त्र ‘ओम भूर्भस्व...’ जपे, अनि नेपालीमा अथ्याउँदै भने-
‘हे सूर्य देवता! तिमीले नै संसारलाई प्रकाशित गरेका छौ। दुनियाँलाई उज्यालो दिएका छौ। तिमीले दुनियाँलाई न्यानो बनाएका छौ। तिमीले दुनियाँलाई विभिन्न मौसमहरू, सिजनहरू दिएका छौ। तिमीले ऋतुहरू दिएका छौ। तिमीले यामहरू दिएका छौ। तिमीले सुक्खा बनाउछौ, गर्मी बनाउछौ, हिउँद बनाउछौ, बर्खा बनाउछौ। जाडो बनाउछौ, गर्मी बनाउछौ, सबै कुरा तिमीले गर्छाै। सृष्टि गर्छाै र दुनियाँलाई सृष्टिबाट पाल्छौ। हे सूर्य! तिमीले हामीलाई अँध्यारोबाट उज्यालोतिर लैजाऊ। यही मन्त्रले भन्छ– ओम् भूर्भस्व।’
अगाडि भन्दै गए, ‘त्यही मन्त्रले भन्ने सूर्य नेकपा एमालेको सूर्य चिह्न छ, नेकपा एमालेको सूर्य चिह्न, कसैलाई पनि बोक्न गाह्रो छैन। हामी भन्न सक्छौं– हे सूर्य! दुनियाँलाई उज्यालो पारेका छौ, दुनियाँलाई ताप दिएका छौ, नेपालबाट गरिबी हटाउन नेकपा एमालेको झन्डा भएका छौ।’
यति मात्र होइन उनले सूर्य ‘भगवान्’को महिमा गान गर्न महाभारतको कथा पनि सुनाए।
‘महाभारतको युद्धमा अर्जुनले तागत प्राप्त गर्नका लागि हनुमानको ध्वजा, हनुमानको झन्डा बनाएका थिए। कसैले वाण हान्यो भने हनुमानको झन्डा अगाडि सरेर रोक्थ्यो’, ओलीले भने, ‘नेकपा एमालेमाथि कसैले वाण चलाउँछ भने सूर्यअंकित झन्डाले रोक्नेछ ती वाणहरू। एमाले माथिका प्रहारहरूलाई रोक्नेछ, किनभने यो सूर्यअंकित झन्डा- यो चुनाव चिह्न देशका लागि समर्पित छ, जनताका लागि समर्पित छ...।’
तर फेरि लगत्तै उनले आफूलाई अरू (नेकपा माओवादी केन्द्र) भन्दा ‘असली कम्युनिस्ट’ साबित गर्ने (दुष्) प्रयास पनि गरे।
भने, ‘म सूर्य चिह्नमा बढी जोड किन दिइरहेको छु भने...हँसिया, हथौडा अलिक अलमल अलमल पारिराख्याछ मान्छेहरूलाई। हँसिया हथौडा बोकेर वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर तमासा गर्नेहरूले पनि बोकिरहेका छन्। तिनले फ्याँके हुन्थ्यो त्यो, तिनले छोडे हुन्थ्यो त्यो, दुनियाँमा धेरैले छोडे, यिनले किन छाड्दैनन्, मैले त्यो बुझ्दिनँ।’
उनले कसैकाे नाम नलिए पनि यो प्रहार त्यही (चितवन) जिल्लामा घर भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति हो भन्ने जसले पनि सहजै बुझ्न सक्छन्।
तर ओलीले जसरी कांग्रेससँग गठबन्धन गरेर पनि माओवादी केन्द्रले हँसिया-हथौडा नछाडेको बुझ्न सकिरहेका छैनन्, त्यसैगरी मैलेचाहिँ आफूलाई ‘असली कम्युनिस्ट’ दाबी गरिरहेका उनले आफ्नो ‘कम्युनिस्ट’ पार्टी– नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादी (नेकपा एमाले) प्रति मतदाता आकर्षण गर्न मार्क्स–लेनिनको सिद्धान्त होइन, किन पशुपति, राम र सूर्य भगवानको बखान गर्छन्, बुझ्न सकिरहेको छैन।
सुन्नुहोस् तलको भिडिओमा एमाले अध्यक्ष ओलीको भाषण–
Shares
प्रतिक्रिया