कुशल शब्दशिल्पी बसन्त बस्नेतका आलेख हुन् वा लङफर्म फिचर, च्या खानुभोका एपिसोड हुन् वा तत्कालीन मुद्दामा गरिएका ट्विट– उनी स्पष्ट लाग्छन् मलाई। कुरा नचपाई लेख्छन्, नयाँ विषय आउँदा निर्भीक बनेर पक्षधरता देखाउँछन्। मुद्दा विशेषमा एन्टिकरेन्ट अडान राख्ने र त्यसको सामना गर्ने उनको शैलीसँग म राम्रैसँग परिचित छु। बस्नेतले लेख्ने सरस र चोटिला लेखसमेत भ्याएसम्म अद्योपान्त पढ्ने गरेको छु। अहिले उनको पहिलो उपन्यास महाभारा बजारमा आएको छ, ट्विटरदेखि फेसबुकसम्म पुस्तकको राम्रो चर्चा छ। उपन्यासको पात्र डुक्पाको ‘ओक्के छ त’ भन्ने थेगो बस्नेतका शुभेच्छुले व्यापक प्रयोग गरिरहेका छन्।
कोभिड महामारीकै बीचमा महाभारा विमोचन गर्ने दिन काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियमको डबली भरिभराउ थियो। काठमाडौँबाहिर पूर्वी भागका ठाउँठाउँमा बस्नेतले आफ्ना शुभेच्छुकबीच आकर्षक कार्यक्रम गर्दै हिँडेका थिए। यसले बस्नेत कुशल शब्दशिल्पी मात्रै होइन कुशल संगठकसमेत हुन् भन्ने पुष्टि गथ्र्यो। प्रकाशक फाइन प्रिन्टले त कोभिड महामारीमा महाभारा यात्रामा निस्किन चाहनेका लागि घरघरै ट्रक लिएर पुग्ने सार्वजनिक जानकारी गराइसकेको छ। यसरी साहित्य बजारको अहिलेको ‘हट केक’ उपन्यास महाभारा मैले पनि खरिद गरेँ र त्यसलाई तन्मयका साथ छिचोलेँ।
उपन्यास पढिसकेपछि मेरो मनमा उठेको पहिलो प्रश्न थियो, डुक्पा को हो? महाभाराको कथा सामाजिक संरचनाको कुन विन्दुमा उभिएपछि त्यस्तो देखिन्छ जसरी बस्नेतले महाभारामा देखेका छन्? मनमा उठेका यिनै प्रश्न बोकेर डुक्पा र महाभाराको पुनर्खोज गर्न म पनि महाभारा पहाड उक्लिएँ।
पहिला चर्चा गरौँ उपन्यासको मुख्य पात्र डुक्पाकै। एक शब्दमा भन्दा महाभारा डुक्पाको हीनता र आत्मग्लानिको कथा हो। डुक्पाको यही हीनता र आत्मग्लानिकै वरपर महाभाराको कथा बुनिएको छ। डुक्पाको अन्तरद्वन्द्वको मुख्य कारण भने राजनीति हो, जसमा ऊ ‘नचाहेरै’, केबल परिबन्दका कारण मिसिन पुगेको छ।
उपन्यासभरि देखिने डुक्पाको व्याकुलतालाई पुस्तकको सुरुवातमै राखिएको सुरज सुवेदीको कवितांशले शक्तिशाली रुपमा प्रस्तुत गरेको छ:
सोच्छु
आफूले (न) लडेको
युद्धका डोबहरु मेट्दैमेट्दै
अघि आएको बाटैबाटो
चुपचाप
घर फर्कौँ
तर घर पुगेपछि
नियास्रो मेट्न
छेउ आउनेहरुलाई
के ल्याएँ भनेर सुनाउनु?
के जितेँ भनेर देखाउनु?
होस्, बरु म यतै बस्छु
यो कवितांशले डुक्पाको बेचैनीलाई सम्पूर्ण रुपले समेट्छ र महाभाराको कथाकै विषयमा धेरै कुरा प्रष्ट पार्छ। पहिलो, डुक्पा लडेको युद्ध (जनयुद्ध) उसको थिएन। दोश्रो, आफ्नो भागको युद्ध लडेपछि डुक्पा हारेको छ र पश्चातापमा छ— के जितेँ भन्ने देखाउन उसँग केही पनि छैन, के ल्याएँ भन्ने देखाउन उसका हात रित्ता छन्। पूर्वी पहाड महाभाराको लिम्बु बस्तीमा जन्मिएको तामाङ सन्तान डुक्पा भेडागोठालो बाबुछिरीको छोरो हो। पत्नीको मृत्युपछि डुक्पा र उसको दाइ घ्याङसिङलाई बाबुछिरीले नै हुर्काउँछ। डुक्पालाई पढ्नमा दिलचस्पी नभए पनि किताब बाहिरको सिर्जनशील जीवनको भोगाधिकार गर्न भने कुनै कसर बाँकी राख्दैन। सबैभन्दा बढी ऊ बजार जाँदा देखेको ट्रक हाँक्ने ड्राइभर बन्ने सुदूर सपनाले मोहित हुन्छ। ड्राइभरको सान र खलाँसीको हाँकधाकले उसलाई सपना र विपनामा ट्रककै पछिपछि कुदाउँछ। डुक्पा गुच्चादेखि क्यारमबोर्ड र फुटबलदेखि ताससम्मको परीक्षामा समूह नै बनाएर टप गर्छ। कण्डम फुकेर उडाउनेदेखि केटीहरुलाई फ्लाइङ किस उडाउनेसम्म, बेन्चबाट अगाडि फर्किएर कालोपाटीमा मुत्नेदेखि धामी बस्नेसम्मका गतिविधिमा मैमत्त छ ऊ। जवानी चढ्दै जाँदा फुङसिङ मेलामा पालाम गाउँदै र पाँचवटा हिन्दी गीतमा मौलिक ‘डुक्पा डान्स’ गरेकै भरमा उसको एकै झमटमा सुक्मती लिम्बुसँग प्रणय गाँसिन्छ।
यही विन्दुबाट उसको जीवनमा प्रेमले प्रवेश गर्छ। उनीहरुबीचको प्रणय चर्चाको केन्द्रमा डुक्पा छ, पितृसत्ताको प्रभाव कम पर्ने भनिएको लिम्बु समुदायकी सुक्मती निमित्त पात्र मात्रै छ। सुक्मतीका लागि डुक्पा युद्ध लडेझैँ भलिबल खेल्छ, सुक्मती आमाले बुनेको गुलाबी स्विटर र आफैँले बुनेको मफलर बोकेर डुक्पाको विजयसामु खडा हुन्छे। एकदिन सुक्मतीलाई कुनै पत्तै नदिई, गाउँलेलाई कुनै खबर नगरी डुक्पा गाउँबाट बेपत्ता भएर ट्रक सपनालाई पछ्याउँदै मधेस झर्छ। ट्रकमा खलाँसीको काम गर्दागर्दै एकदिन ऊ ट्रक ड्राइभर बन्ने बाल सपनालाई साकार पारिछाड्छ। सपनाको दुनियाँमा उसले आफ्नो नाम बदलेर डेनी लामा बन्न पुगेको छ। डेनी लामाको माओवादी युद्धसँग संयोगले जम्काभेट हुन पुग्छ। लोकल दादाले एकजना ट्रक ड्राइभर मारिदिएपछि भएको आन्दोलनको नेतृत्व गर्ने क्रममा उसको कमरेड पार्थिवसँग भेट हुन्छ। पालम गाउँदागाउँदै एकै झमटमा सुक्मतीको प्रेममा परेको डुक्पा अलिअलि अन्यौलकै बीचमा पार्थिवसँग भेट्नेबित्तिकै कमरेडहरुलाई जिपको पछिल्लो सिटमा राखेर ‘पार्टी काम’ गर्न थालिहाल्छ। यहीँबाट सुरु हुन्छ उसले ‘नलडेको युद्ध’ र त्यसका विभिषिकाबाट आक्रान्त डुक्पाको अन्तरद्वन्द्वको कथा।
यति कथाबाट के थाहा हुन्छ भने भेडागोठालाको घरमा जन्मिएको/हुर्किएको, महाभारा पहाडको तामाङको छोरासँग आफैँले युद्ध लड्नुपर्ने कुनै कारण थिएन। गाडी हाँकेर रसरङमा मस्त जीवन बाँचिरहेको ड्राइभरको जीवन बिथोल्नकै लागि डुक्पाको जिपभित्र पछिल्लो सिटमा खुसुक्क छिरेको थियो माओवादी युद्ध। युद्ध कसैको हुनका लागि उसका जीवनमा अर्थराजनीतिक र सामाजिक अन्तरविरोधका घर्षणहरु आइपुग्नुपर्छ। महाभाराको कथा डुक्पाको जीवनका त्यस्ता घुम्ती छिचोल्दै अघि बढ्छ, जहाँ सुखी जीवन तहसनहस बनाउन जबर्जस्ती आइपुगेको हुन्छ माओवादी युद्ध। कक्षामा पढ्दा खस भाषाले बेलाबेला सिर्जना गर्ने असहजताबाहेक डुक्पा र उसको समाजसँग युद्ध लड्नुपर्ने गरी शोषण र उत्पीडनको कुनै वस्तुगत परिस्थिति छैन।
संघीय लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थाले समेत खुवालुङ फुटाउने विकासको मोडल निर्यात गर्दै हिँडेको, किरात र लिम्बुवानको आदिम थातथलोमाथि त्यहाँका आदिवासीको दाबीलाई इन्कार गर्दै हिँडेको, नौजवान युवाका छाती नापेर ब्रिटिस र भारतीय सैनिकमा पैठारी गर्दै हिँडेको, सिङ्गो वस्तीको उत्पादनशील युवा जनशक्ति सोहोरेर अरब पठाइरहेको वस्तुस्थितिमा राज्यसत्तासँग पूर्वी पहाड रिसाइबसेको छ। तर, एकात्मक हिन्दुराज्यकालीन कथा बोकेको महाभारामा अमूर्त पहाड पटकपटक रेडियोसँग रिसाउँछ। पहाड साँच्चै कुनै राज्यसत्तासँग होइन, रेडियोसँगै रिसाइबसेको थियो त? हो भने त्यो कुन पहाड हो? कसको पहाड हो? कुन र कसको रेडियोसँग रिसाएको हो? यी प्रश्नका उत्तर महाभारामा भेटिँदैनन्।
जसरी महिला पात्र छ भन्दैमा त्यो कथा महिलाको हुँदैन, दलित पात्र राख्नासाथ दलितको कथा हुँदैन, त्यसैगरी माओवादी कार्यकर्ताका रुपमा उपन्यासले डुक्पालाई उभ्याए पनि यो कुनै माओवादी योद्धाको कथा होइन। आफूले नलड्नुपर्ने युद्धमा परिस्थितिवश जोडिएको डुक्पा उपन्यासभरि युद्धबाट भाग्न मात्रै खोज्छ। माओवादी जनयुद्ध डुक्पाको किल्किलेमा अड्किएको त्यस्तो हड्डी भएको छ, जसलाई पेटभरि छादेर आनन्दले बस्न चाहन्छ ऊ। डुक्पा यतिसम्म काँतर छ कि आपत मात्रै लिएर आएको क्रान्तिले उसलाई ‘भगवान अरु बेलाभन्दा बढ्दा चाहिने’ बनाउँछ(पृ.२८५)। ‘युद्धको विभीषिकाले गाँज्दै लग्यो भने यत्तिकै मारिनुपर्ने त्रास’मा निरीह बनेको डुक्पालाई ‘आफूले हिँड्न नचाहेको बाटोमा जबर्जस्ती घचेटिएर हिँड्नुपरे जस्तो अनुभूति’ हुन्छ(२८६)।
महाभारा पढ्दै गर्दा म आफ्नै सुदूर बाल–विगतमा पुगेँ। त्यसदिन बिहानैदेखि एकनास झरी दर्किरहेको थियो। आमा मझेरीमा चामल केलाउँदै हुनुहुन्थ्यो। कम्मरमा ग्रिनेड र पछाडि प्लास्टिकको ओत लगाएर रुकस्याक भिरेका दुई जना माओवादी युवतीहरुले त्यसदिन भिजेका गोल्डस्टार बिहान करिब १० बजेतिर हाम्रो दलिनमा फुकालेका थिए। तिनले दिउँसोभरि आमासँग लामो बात मारे। तिनले स्वस्थानी र धर्मशास्त्रका कुरा गरे, चुलाचौकामा कसरी महिलालाई कज्याएको छ भनेर व्याख्या गरे, आमाले बेहोरिरहेका उत्पीडनका एकएक पत्रहरु हाम्रो घरको मझेरीमा छरपस्ट पारिदिए।
लामो व्याख्यान सुनेपछि आमाले सुस्तरी सुस्केरा हालेर भन्नुभयो– ‘हुन त हो नि, हामी आइमाईको जिन्दगी चुलोचौको र घरधन्दामै बित्छ।’
आमाको सकारात्मक जवाफ पाएर एउटीले थपी– ‘हामी त्यही भएर युद्धमा छौँ आमा!’
‘जतापनि मान्छे मारेका खबर आउँछन्, यस्तो कल्कलाउँदो उमेरमै युद्धमा हिँड्दा सेनाले मारिदियो भने?’
आमाको प्रश्न मुखबाट झर्न नपाउँदै एउटी लडाकुको जवाफ मझेरीमा खसिसकेको थियो–‘दुश्मनले मार्यो भने देशका लागि सहिद भइन्छ आमा!’
आमासँग यस्तो सवालजवाफ भएको दुई हप्ता बित्न नपाउँदै सहिद बन्छु भनेर जवाफ दिने युवतीलाई रामेछापको कुनै विकट जंगलमा सेनाले हत्या गरेको थियो। आमा अहिले पनि त्यस युवतीको साहसिलो जवाफ सम्झिराख्नुहुन्छ।
मैले भेटेका माओवादी कार्यकर्ता हिम्मत, साहस र सपनाले भरिएका थिए। तर, महाभाराको मुख्यपात्र डुक्पा (कमरेड थेबा) यति आत्महीन, त्रस्त र उजाड छ कि उसका आँखामा कुनै सपना छैनन्। बरु समयक्रममा लारुम्बाको धार्मिक मठमा आफूलाई समर्पित गरेकी डुक्पाकी प्रेमिका सुक्मती राजनीति सचेत भाषा बोल्छे, आफ्नो सार्वभौम अस्तित्वको दाबी गर्छे तर डुक्पा अन्यौल र अस्पष्टताको चक्रवातमा यसरी हेलिएको छ कि भोक न तिर्खाको पार्टी छाडेर सुक्मतीका लागि धार्मिक वस्त्र ओढ्न छिनभरमै तयार हुन्छ। यति भयभीत, क्षतविक्षत र आत्महीन डुक्पासँग पहिलो लडाइँमै मर्न तयार भएका, मुक्ति वा मृत्युमध्ये एक रोज्ने कसम खाएका, वैकल्पिक राज्यसत्ता निर्माण नगरेसम्म नफर्किने प्रण गरेका हजारौँ माओवादी लडाकुहरुको तुलना हुनै सक्दैन। सैयौँ वर्षअघिका विद्रोहका कथा त खोज्न सकिने युगमा बाँचिरहेका हामीलाई लाखौँ मान्छेले देखेभेटेका, त्यही युद्धबाट फर्किएर समाजमा विभिन्न भूमिकासहित बाँचिरहेका तत्कालीन माओवादी कार्यकर्तासँगै सोध्न सकिन्छ– ए युद्ध लडेकाहरु हो! कुनै सपनाबिनै युद्ध लडिरहेको, मृत्युको भयले पलपल मरिरहेको कमरेड थेबाजस्तै थियौ त तिमीहरु?
संस्थागत स्मृमि कमजोरै भए पनि लडाकुले लेखेका डायरी, माओवादी कार्यकर्ताले लेखेका पुस्तक, तिनीहरुमाथि लेखिएका फिचर हाम्रा पुस्तकालयमा भेटिन्छन्। सजिलै भन्न सकिन्छ–त्यति अन्यौल र अस्पष्टताका साथ युद्ध लड्न सकिँदैनथ्यो। त्यसरी लडेको युद्धले समाजव्यवस्थामै खलबल पुर्याउने कुनै ल्याकत राख्दैनथ्यो। कुनै साहस र सपनाविहीन डुक्पाले स्वप्नमय माओवादी युद्धका गौरवगाथाको प्रतिनिधित्व गर्न सक्दैन। डुक्पा मात्रै होइन कटक साङपाङ र अरु उसका माओवादी साथीले पनि युद्धको प्रतिनिधित्व गर्न सकेको देखिँदैन। उनीहरु जीवनहीन रुखा जार्गन बोल्छन्, हाँस्दैनन्, रमाउँदैन्, ख्यालठट्टा गर्दैनन्। ती पात्र जिउँदा मान्छे नभई एलियनजस्ता लाग्छन्।
डुक्पाको चर्चापछि उपन्यासमा आएको अर्को केन्द्रीय विषय हो माओवादी जनयुद्ध। कोभिड संकटपछि फस्टाएको ‘अनलाइन फुड डेलिभरी सर्भिस’ जस्तो गरी कतै तयार भएर गाउँमा दुःख बढाउन आइपुगेको छ जनयुद्ध। कुशल सम्पादक बस्नेतको महाभारालाई समाचारको भाषामा भन्ने हो भने यो त्यस्तो ‘लङ फर्म रिपोर्ट’ हो, जसको एंगलले युद्ध बर्बर थियो भन्छ र त्यसका लागि मनग्य ‘ब्याकग्राउन्ड इन्फर्मेसन’ जुटाएको छ।
सम्पादक बस्नेतलाई पत्रकारितामा ‘ब्यालेन्स्ड’ हुनु कति आवश्यक छ भन्ने चेत नहुने सवालै भएन, उनले उपन्यास पनि समाचारजस्तै चुस्त रुपले सन्तुलित बनाएका छन्। युद्ध बर्बर थियो भन्ने कोणसहित उल्टो पिरामिड आकारमा लेखिएको असाध्यै सन्तुलित उपन्यास हो महाभारा। हेडमास्टरलाई कालोमोसो दल्ने, पुल भत्काउने, स्थानीयलाई तर्साउने र धम्क्याउने, व्यक्ति हत्या गर्ने माओवादीको ‘ज्यादती’ लाई उनले जति मिहीन ढंगले प्रस्तुत गरेका छन्– निहत्था मान्छे मार्ने, बीच जंगलमा कालोपट्टी बाँधेर भाग्न लगाउने र पछाडिबाट गोली ठोक्ने, गिरफ्तारी गरेर गैरन्यायिक ढंगले ब्यारेकभित्रै माओवादी कार्यकर्ताको हत्या गर्ने सेनाको आततायी कर्मलाई पनि त्यति नै मिहीन ढंगले उतारेका छन्। समाचारजस्तै तत्कालीन राज्य र विद्रोहीका आततायी कर्मबीच सन्तुलन कायम गरे पनि राज्यव्यवस्था र समाजव्यवस्थामा असन्तुलन पैदा भएपछि नै युद्ध हुने गर्दछ भन्ने बोध उपन्यासमा कतै भेटिँदैन।
साहित्यिक सिर्जनामा अर्थ राजनीतिक र सामाजिक/सांस्कृतिक असन्तुलनको खोजी हुन सके त्यसले युद्धलाई हेर्ने नवीन दृष्टिकोण दिन सक्थ्यो। समाचारमा जसरी त्यसको एंगललाई पुष्टि गर्ने तथ्य खोजिन्छ, यस उपन्यासमा ठिक त्यसैगरी युद्ध आतंकपूर्ण थियो भन्ने कोणलाई पुष्टि गर्ने तथ्यमात्रै खोजिएको छ। त्यस अर्थमा उपन्यासको वैचारिक अन्तर्य सिद्धान्तहीन तटस्थता हो। ‘सिद्धान्तहीनता’ र ‘तटस्थता’ को पनि आफ्नै राजनीति र पक्षधरता हुन्छ। यही वैचारिक अन्तर्यलाई टेवा दिन उपन्यासले निरपेक्ष रुपमा मानवताको वकालत गरेको छ। त्यस्तो मानवतावाद जसको कुनै वैचारिकी/दार्शनिकी पक्षधरता हुँदैन। भूपी शेरचनले यस्तो मानवतावादका विषयमा लेखेको कविता स्मरण गर्नुपर्ने हुन्छः
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोँगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ
(यद्यपि आजको पर्यावरणीय चेतले पृथ्वीमा बाँच्ने मान्छेबाहेकका जीवको समेत सहज जीवनको पैरवी गर्छ र त्यसमा मेरो सहमति छ।)
निरपेक्ष मानवतावादको लीला वास्तवमै अपरम्पार छ! छोरा कृष्णप्रसाद अधिकारीको हत्याका विषयमा नन्दप्रसाद अधिकारीलाई अनशन बसाएरै ‘हत्या’ गरिदिन्छ। यस्तो लीला बुझिसकेपछि आमा गंगामाया अधिकारी क्यामराका सामु ‘मानवअधिकारवादी’ को नामसूची सार्वजनिक गर्दै तिनका धन्दाबारे आँसु र आक्रोश दुवै पोख्छिन्। युद्धमा शान्ति र शान्तिमा युद्ध चाहने यस्तो ‘मानवतावाद’ कै स्वरुप महाभारामा देखिन्छ। त्यहीकारण उपन्यासकार एक ठाउँमा आफैँ अघि सरेर भन्छन्:
क्रान्तिमा चाहिनेजति बलिदानको भावना डुक्पामा पनि होला। तर यसका लागि चाहिने जति क्रुरता उसमा थिएन। उसको भावुकताको कुनै सिमाना थिएन(२६१)।
क्रान्तिमा चाहिने क्रुरता भनेको कति हो? त्यसको मापन के ले गर्छ? पुस्तौँदेखि आफूमाथि थोपरिएको घोषित/अघोषित युद्धमाथिको प्रतिवाद होला नि क्रान्ति भनेको! क्रान्तिप्रति लेखकको यस्तो दृष्टिकोण आउनुको कारण माथि नै उल्लेख भइसक्यो– यो उपन्यासको वैचारिक अन्तर्य भनेकै सिद्धान्तहीन तटस्थता हो। यस्तो तटस्थताले वैचारिक रुपमा प्रभुत्वशाली पक्षप्रति गहिरो पक्षधरता देखाउने गर्दछ।
यसको अर्को प्रमाण– उपन्याससँग जोडिएको धार्मिकतामा पाइन्छ। उपन्यासमा धार्मिकताको केन्द्रमा लारुम्बा छ र लारुम्बाको केन्द्रमा सत्यहाङमापन्थी गुरुभन्दा बढी मिङ्सो शेर्मा छ। लप्टन बुढाको छोरो मिङ्सो हिन्दुहरुको हेपाइमा परेको, संस्कृत भाषालाई एकल जातीय राज्यले दिएको मान्यताको खिलाफमा तर्क गर्ने, खसभाषीहरु उनीहरुको भाषामा पढाएकाले नै अगाडि बढेको भनेर भाषिक उत्पीडनविरुद्ध तर्क गर्ने, ब्राह्मण पुरोहितहरुलाई शास्त्रार्थ गरेर पराजित गर्ने साथै पृथ्वीनारायण शाहले लिम्बुवानसँग गरेको सम्झौताअनुसार स्वायत्त लिम्बुवानको चेतसहित तर्क गर्ने पात्र हो। मिङ्सो किरात र लिम्बुवानमाथि भएको उत्पीडनको गहिरो बोध भएको र प्रतिरोधी चेतना सशक्त भएको पात्र हो।
तर, यी सबै तर्क र मिङ्सोको राजनीतिक चेतका पछाडि उसको केवल धार्मिक विभाजन गर्ने, पैसा कमाएर घडेरी जोड्ने, माओवादीको प्रतिकारमा धार्मिक सेना बनाएर युद्ध लड्ने ध्याउन्न छ। मिङ्सो असाध्यै दुर्जन, विभाजनकारी, धार्मिक, स्वार्थअन्ध र व्यक्तिगत महत्वाकांक्षा पालेको व्यक्ति हो। उसले निर्दलीय पञ्चायती व्यवस्थालाई साथ दिन्छ, आफ्नो स्वार्थमा बाधा उत्पन्न भएपछि ‘अति जान्नेसुन्ने हुन खोज्दा’ लारुम्बामाथि संकट उत्पन्न गराउँछ। समग्रमा मिङसोको खलनायकीको व्याख्या गर्छ उपन्यासले।
किरात राज्यसमिति बनाएको, स्वायत्त लिम्बुवानको एजेन्डा अघि सारेको माओवादीका कार्यकर्ताले महाभारामा किरात र लिम्बुवानमाथि भएको ऐतिहासिक उत्पीडनको कुनै चर्चा गर्दैनन्। गाउँको भट्टीमा बसेर बियर पिउँदै राजनीतिक गफ गर्ने रिटायर्ड लाहुरे बुढाले कहिल्यै भाषिक तथा सांस्कृतिक उत्पीडनको चर्चा गर्दैनन्। कुत्सित धार्मिक एजेन्डा नभएका तर आफ्नो ऐतिहासिक थातथलोमाथि दाबी पेस गर्ने कुनै पहिचानप्रेरित पात्र पनि उपन्यासमा उपस्थित छैनन्। मुखर रुपले किरात लिम्बुवानको ऐतिहासिक उत्पीडनमाथि चर्चा गर्ने पात्र छ मिङ्सो, जसको व्यक्तिगत सम्पत्ति आर्जनजस्तो कुत्सित स्वार्थबाहेक अर्को एजेन्डा छैन। यस्ता असाध्यै स्वार्थी र नसुल्झिएका पात्र अघि सारेर उपन्यासकारले लिम्बुवान र किरातमाथिको उत्पीडनबारे कुन दृष्टिकोण अघि सारेका हुन्? त्यही वर्चश्वशालीको शोषण र उत्पीडनकारी दृष्टिकोण। जसले किरात र लिम्बुवानमाथिको उत्पीडनलाई अनदेखामात्रै गर्दैन भद्धा मजाक पनि गर्छ।
के महाभारा प्रेमको कथा हो त? उपन्यासमा डुक्पाको घनघोर प्रेम छ, सुक्मतीसँग। एक शब्दमा भन्ने हो भने डुक्पाको प्रेम प्रतिबद्धताविहीन छ। सुक्मतीसँग पहिलो भेटमै प्रेम पर्छ, उसले सहर जाने बाटो रोज्छ, त्यो पनि सुक्मतीको सल्लाहबिनै। सहर पुगेपछि अन्य केटीसँग निर्बन्ध रत्तिन्छ। आफ्ना सहयोद्धा माओवादी कार्यकर्तासँग निसंकोच द्विअर्थी संवाद बोलेर इतरिन्छ। अन्तिममा युद्धदेखि थकित र गलित भएर गाउँ फर्किन्छ। त्यत्रो धोका र अन्तरघातका बाबजुद सहजै धार्मिक मार्ग छाडेर गाउँ पढाउन थालेकी सुक्मतीलाई ‘आफ्नो’ बनाउँछ। यस्तो चरम पुरुषकेन्द्री र पितृसत्ता प्रभावी सम्बन्धलाई प्रेम ठानियो भने त्यसले उन्मुक्त र सह–अस्तित्वमा आधारित प्रेमकै हुर्मत लिन्छ। त्यसैले यो प्रेमको कथा झनै होइन, बरु मैमत्त र स्वेच्छाचारी पुरुषको अन्तरघात र पितृसत्तात्मक अपेक्षा अनुरुप महिला समर्पणको माग गर्ने दुर्भाग्यपूर्ण र दमनकारी कथानक हो। महाभाराको ‘प्रेमकथा’ले युगौँ लामो उत्पीडनलाई जायज ठहर्याउने, पुरुष अनुकुल व्याख्या भइआएको असमान शक्ति सम्बन्धलाई वैधानिकता दिन्छ।
महाभाराले सामाजिक संरचनाको निश्चित विन्दुमा उभिएर अत्यन्त शक्तिशाली र मनमोहक पूर्वेली लवजमा युद्ध, राजनीति र प्रेमको कथा भन्छ। तर, त्यो सहअस्तित्वमूलक प्रेम, सत्ताप्रतिरोधी राजनीति, डुक्पा र माओवादी जनयुद्धको कथा बन्न सकेन। सामाजिक पृष्ठभूमिका आधारमा उपन्यासका हरेक पात्रको अस्तित्वमाथि प्रश्न उब्जिन्छ। अपवादबाहेक महाभाराको कथामा ती पात्रहरुलाई जसरी प्रतिनिधिमूलक रुपमा उभ्याइएको छ, त्यो ग्राह्य छैन। मुख्य पात्रहरुको उपस्थिति अपवादमा मात्रै सम्भव छ, प्रतिनिधिका रुपमा तिनलाई उभ्याउनु वर्चश्वशाली समुदायको हित रक्षाको भाष्य स्थापित गर्ने प्रयास मात्र बन्छ।
यो उपन्यासको सबैभन्दा सशक्त पक्ष नै प्रतिगमनको बार्दलीमा उभिएर बसन्तले महाभारामार्फत पूर्वेली लवजमा चुनौती पेस गरेका छन्– ‘ए युद्ध लड्ने झ्याँक्नेहरु हो! तिमीहरुले लडेर के पाइस्? जितेँ भनेर के ल्याइस्? तर्क गर्न सक्छस्?’
युद्ध लड्नेहरुले भुइँबाट डुक्पाकै लवजमा चुनौती फिर्ता गर्नुपर्नेछ– ‘तिम्रो चुनौती हामीलाई ओक्के छ त!’
होइन भने युद्ध लड्नेहरुका कथा नलड्नेहरुले यसैगरी भ्रष्टीकृत गरेर पस्किरहनेछन्।
(मनोज खतिवडा नागरिक अभियानकर्मी हुन्)
Shares
प्रतिक्रिया