आधारभूत तहबाट सांगीतिक क्षेत्रमा उदाएका गायक प्रकाश सपुतले गत शुक्रबार गीतिकथा ‘पिर’ सार्वजनिक गरे। यसअघिका गीत–संगीतबाट पनि राम्रै चर्चा पाएका प्रकाशको गीतिकथा ‘पिर’ भने चर्चाको शिखरमा त पुग्यो, तर चर्को विवादसँगै। तत्कालीन नेकपा माओवादी युद्ध बिसाएर शान्ति प्रक्रियामा आएपछि यसका नेता र कार्यकर्ताको जीवनस्तरमा आएको फरकपन अनि त्यही परिवर्तनका लागि लडेका कार्यकर्ताले जीवनयापनका लागि भोगिरहेको दुःख र त्यसमा नेताले गरेको बेवास्ताको प्रसंग गीतको भिडिओमा समेटिएको छ।
हो, यतिबेला धेरै माओवादी कार्यकर्ताले बाँच्नका लागि गरिरहेका संघर्ष यस्तै अझ यसभन्दा दर्दनाक छ। देशमा परिवर्तन ल्याउने सपना बोकेर युवा उमेरको जीवनलाई हत्केलामा राखेर तत्कालीन जनमुक्ति सेना युद्धमा होमिएका थिए। जसको बलमा राजनीतिक व्यवस्था त परिवर्तन भयो तर धेरै इमान्दार कार्यकर्ता किनारामा छन्। गीतिकथा सार्वजनिक भएपश्चात् यसप्रति जति विरोधका स्वर आए उनीहरूको आपत्ति यो कुरामा छैन।
गीतिकथाको अन्त्यमा जसरी दुःख पाएकी एक पूर्व लडाकु महिला देह व्यापारका लागि एक कोठामा देखाइएको छ, माओवादी नेता–कार्यकर्ताहरूको तीव्र रोष त्यसप्रति नै हो। हिजो जीवनको उर्वर समय देश परिवर्तनका लागि लडाइँमा बिताएका माओवादी कार्यकर्ताको जीवन यसै पनि सहज छैन, आफ्नो स्वाभिमान कायम राख्दै अभाव र दबाबबीच जीवनसँग पौंठेजोरी खेल्दै बाँचिरहेका कार्यकर्ताको मन यो गीतिकथाले साँच्चै बिथोलेको छ।
आफ्नो शरीरभरि गोलीका छर्रा बोकेर सागका मुठा बेच्दै गुजारा गरिरहेका पूर्वलडाकुहरूको मानसपटलमा मुक्तिका लागि लडेका योद्धालाई देह व्यापारमा संलग्न चरित्रका रूपमा प्रस्तुत गरिदिँदा उनीहरूको स्वाभिमानमा कस्तो ठेस पुग्यो होला! गायक प्रकाश सपुतलाई त्यस कुरासँग के सरोकार रह्यो र!
प्रकाशले देखाएका अन्य कुरासँग धेरैजसो माओवादी कार्यकर्ता सहमत नै छन् तर जब उनले अभावका कारण पूर्व जनमुक्ति सेना महिला यौन व्यवसायमा लागेको तथा श्रीमती विदेश गएको ३ महिना नबित्दै पूर्वलडाकु पुरुष यौनकर्मीकहाँ पुगेको दृश्य देखाए, तब जनयुद्ध लडेका यौद्धको अपमान भएको महसुस गर्दै उनीहरू रुष्ट भएका हुन्।
जनमत ‘पिर’ गीतिकथाका पक्ष र विपक्षमा बाँडिएको छ। माओवादी पंक्तिबाट तीव्र आक्रोश आउन थालेपछि केही विद्वान् एउटा गीतले डगमगाउने कस्तो युद्धको जग रहेछ भन्ने टिप्पणी गरिरहेका छन्। तर तिनलाई के थाहा, आत्मसमर्पण गर्नुभन्दा बरु मृत्यु ठीक भनेर जेलनेल र कठोर यातना भोग्न तयार भएका साहसीहरूको कथा!
हो, ती साहसी मान्छेहरू कमजोर छैनन्, अभावसँग जुध्दैछन् तर स्वाभिमानका साथ बाँचिरहेका तिनको मनमा यो प्रसंगले कति चोट पुग्यो होला भन्ने कसरी अनुभूति गर्न सकून्? हो, तिनै स्पातिला मान्छेहरूको मनमा प्रकाशको कथाले हलचल मच्चायो। जब आफ्नो अस्मिताको कुरो आयो, तब पक्कै ती योद्धाहरूमा प्रकाशको ‘पिर’ले पीर थप्यो।
माओवादी आन्दोलन मन नपराउनेहरूले प्रकाश सपुतले गज्जब ग¥यो भनिरहेका छन् भने माओवादी कार्यकर्ताले आफ्नो स्वाभिमानमा चोट लागेको महसुस गरिरहेका छन्। हिजो आन्दोलनमा लागेका लाखौं योद्धामध्ये धेरै जनाले दुःख पाएको कुरा साँचो हो, प्रकाशले गीतमा भनेजस्तै आफ्ना नेताप्रति ती माओवादी कार्यकर्ताको गुनासो पक्कै छ, तर त्यसमा प्रकाशले जब देह व्यापारको तीर रोपे तब स्वाभिमानी योद्धाहरूको मन दुख्यो र गिजोलियो।
देह व्यापारको प्रसंगमा लगेर अपमान नगरेको भए यो भिडिओले ती आधारभूत कार्यकर्ता जो हिजो देशका लागि युद्धमा होमिए र आज आफ्नो जीवन गुजाराका लागि तुफानी लडाइँ लडिरहेका छन्, उनीहरूले मनदेखि यो गीतिकथाको प्रशंसा गर्ने थिए। जब यो गीतिकथा विवादमा आयो तब चर्चा बढेपछि लाखौंले हेरे, भ्युज करोड पुग्ला, प्रकाशले मनग्गे कमाउलान् तर जसको स्वाभिमानमा उनले प्रहार गरेका छन्, तिनका अगाडि शिर ठाडो पारेर आँखा जुधाउन सक्लान्?
फिल्ममा जस्तो पक्कै ऐतिहासिक विषयमा कथा पस्किँदा मजाक गर्ने छुट कसैलाई छैन। गीतिकथामा देह व्यापार गर्ने पात्रका रूपमा उभ्याइएकी महिला पूर्वकार्यकर्ता भन्ने आयो, तर अन्तर्वार्तामा उनले म देह व्यापार गर्थें त भनेकी छैनन्। उनले कार्यकर्ताले दुःख पाएको कुरा जे भनिन्, त्यसप्रति त गीतिकथामा विरोध जनाउने सबैको समर्थन नै देखिन्छ।
प्रकाश सपुतले माओवादी कार्यकर्ताको विषयमा देह व्यापारको प्रसंग थपेर ‘पिर’माथि पीर थपेका छन्।
जसले परिवर्तनका लागि लडे उनीहरूले आफ्नो इतिहास उतारेनन्, जसले इतिहास उतार्न खोज्यो, उसलाई छेउटुप्पो थाहा छैन। उसले व्यापार मात्र जान्यो र इतिहासलाई विद्रुपीकरण गर्यो।
Shares
प्रतिक्रिया