जीवनमा कति यात्रा गरियो, हिसाब छैन। बाटोमा कति भेटिए, सम्झनामा कोही रहेनन्। तर, झण्डै पाँच वर्षअघिको एक साँझ काठमाडौँदेखि दाङसम्मको यात्रा भने अहिले पनि ताजा छ।
एक्लै थिएँ, लामो यात्रामा। अलि अप्ठ्यारो महसुस भैरहेको थियो। सोच्दै थिएँ, यात्रा कस्तो होला? म गाडीको झ्यालतिरको सिटमा बसेँ। बसको सिटमै निदाएर रात बिताउनुपर्ने थियो। मनमा डर थियो, को होला सँगैको सिटमा भनेर। बसपार्कबाट गाडी हिँड्न थाल्दासम्म पनि खाली थियो सँगैको सिट। कलंकीनजिक पुग्नै लाग्दा जब लामो कपाल, गुलाबी रङको कुर्तासुरुवाल लगाएकी महिला सँगै आएर बसिन्, तब खुल्दुली शान्त भयो।
खुसी हुँदै सोधिहालेँ, ‘दिदी कहाँसम्म जाने?’
उनको अनुहारमा भने कुनै उत्साह थिएन। भनिन्, ‘प्युठान जाने। तपाईं नि?’
‘म त दाङ जाँदैछु।’
उनको चेहरामा निराशा पोतिएको सहजै थाहा पाएँ, तर कारण के थियो, थाहा पाइनँ। न त सोध्न नै आँट गरेँ। सामान्य औपचारिकतापछि खासै बोलिरहन मन लागेन। उनको आगमनले म ढुक्क भएँ। गाडी आफ्नै रफ्तारमा दौडियो।
करिब ८ बजेतिर निदाउनै लागेकी थिएँ। गाडी रोकिएपछि दिदीले हात समाउँदै भनिन्, ‘बहिनी पानी लिन जाउँ है।’ अल्छी लागे पनि हुन्छ भनेर म उठेँ। पसलबाट चाउचाउ र पानी लिएर आयौँ। त्यसपछि पनि दिदीले सोधिरहिन्, घर कहाँ, किन काठमाडौँ आएको, आदि आदि। उनको नाम उषा रहेछ।
भदौको अन्तिम साँझ रातभर झरी परिरह्यो। घुम्ती अनि खाल्डाहरु छिचोल्दै बस कुद्यो। नौबिसेको ओरालो, मुग्लिनको जाम, त्रिशुलीको बहाव, प्रहरी चेकिङ सबै छिचोलियो।
अरु बेला चुपचाप बसेपनि गाडी रोकिएका बेला केही न केही बोलिरहेकै हुन्थिन्, उषा दिदी। भेट पहिलो थियो। तर, केही समयमै हामी निकटजस्ता भयौँ।
खाना खाने समय भएपछि रोकिएको थियो गाडी। कुनै प्रसंगमा मैले काठमाडौँ आउनुको कारण सोधेँ। त्यसको जवाफ दिन खोज्दा टिलपिल भरिएका थिए उनका आँखा। सम्झनाको बाढीले उनको मन बिथोलेको थियो। आँसु पुछ्दै गर्दा लाग्थ्यो, पीरकै भारी बोकेर बाँचेको छ, उषा दिदीको एकथान जिन्दगी।
केहीबेर सन्नाटा छायो। थप केही बोलिनन्। बोल्न मन गरिनन्। तर मलाई भने जिज्ञासा जाग्यो। झन् धेरै जान्ने चाहना बढ्यो। गाडीमा फर्केपछि उनले आफ्नो झोलबाट एउटा डायरी मेरो हातमा थमाइन् र भनिन्, ‘यही हो मेरो साथी। यसैमा पोखेकी छु मैले आफ्ना व्यथा।’
मैले डायरी पल्टाएँ र पढ्न थालेँ।
प्रिय शिशिर!
तिमी कक्षाको टपर थियौ। कक्षाको मात्रै होइन, ६ देखि १० कक्षासम्म विद्यालय प्रथम पनि तिमी नै भएका थियौ। पढाइमा त्यति राम्रो गर्न सक्ने भए पनि नेपालमै केही गर्न सक्थ्यौ होला। तर तिमीले अस्ट्रेलिया रोज्यौ। तिमी अरुलाई हौसला र प्रेरणा थप्थ्यौ। तिम्रो हँसिलो अनुहार अझै पनि उस्तै ताजा बनेर आउँछ, मस्तिष्कमा। तिमीलाई याद छ कि अथवा बिर्सिसक्यौ? यदि बिर्सेका छैनौ भने मलाई एसएलसीमा विषय लागेर फेल भएपछि जबरजस्ती पढ्न लगाउने तिमी थियौ। तिम्रै समर्थन र प्रेरणाले म राम्रो अंक ल्याएर फेरि पास भएकी थिएँ।
बिर्सेकी छैन, हाम्रो भेटमा तिमी भन्ने गर्थ्यौ, जस्तोसुकै जटिलतामा पनि म तिम्रो हुनेछु। जसरी पनि हामी एक हुनेछौँ। तर त्यो बेला असम्भव हुने कुरा पनि मलाई विश्वास लाग्यो। अहिले सपना जस्तो लाग्छ त्यो विगत। तिमीले जानुअघि देखाएका सपना र गरेका बाचा ताजा छन्। जानुअघि भनेका थियौ, ‘म आर्थिक रुपमा सक्षम भएर फर्कन्छु। घर बनाउनुपर्छ। छुट्टै संसार बनाउनुपर्छ।’
तिम्रो हिँडाइ, बोलाइ सबै सबै ताजा छन्। हिजो जस्तै लाग्छ वचनबद्ध गरेको। तिमी जानुको अघिल्लो रात भित्र कसैले सुन्छन् कि भनेर घरदेखि माथि रुखमुनि बसेर बाचा गरेको। बाचा बाचामा नै सीमित भएपछि गुनासो आफैँसँग गरिरहेको छु। यो मेरो भोगाइलाई कसरी लिन्छौ होला? धोका सम्झन्छौ? या त मजबुरी सम्झन्छौ?
उसो त मसँग धेरै गुनासो रहनेछ तिम्रो। म टाढिनुलाई रहर नठानी बाध्यता ठानिदिनू। स्वार्थी बनी भन्ने ठाने पनि ठिकै छ। म के गर्न सकुँला र तिम्रो लागि केवल पर्खन त सकिनँ। मभन्दा महत्वपूर्ण लागेको तिम्रो भविष्य सपना र करिअरमा सफल हुनू, शुभकामना छ। तिमी असल छौ। थाहा छ सफल पनि हुनेछौ। मभन्दा धेरै बुझ्ने तिमी छौ। जीवनभर मेरो अभाव पक्कै खड्किने छैन।
प्रिय शिशिर! तिमी विदेश जाँदा मभन्दा महत्वपूर्ण लागेको तिम्रो करिअर बिगार्नु छैन मलाई। त्यसैले जान्छु है भन्दा हुन्छ भनेकी थिएँ। फर्काउन नै खोजेको भए पनि तिमी के आउँथ्यौ होला र? एउटी मामुली केटीको लागि। तिमी सही समयमा सही निर्णय गर्ने मान्छे हौ। संसारमा आफूबाहेक आफ्नो कोही हुँदैन भन्ने बुझेको छौ। तिमी खुसी छौ भन्ने सुन्न पाऊँ।
म हुर्केको समाजमै हुर्केका थियौ तिमी पनि। तर बुझेर पनि नबुझे झैँ गर्यौ। छोरीलाई इज्जत जोगाउन चाँडै बिहे गरिदिने चलन छ हाम्रोमा। तिमीले बिस्र्यौ कि विदेश पसेपछि, मेरो उमेर बढेसँगै म परिवारको बोझ बन्दै छु। आफ्नै बुबाआमाले पनि घरमा राख्न चाहनुभएन। बिहे गरिनस् भने आत्महत्या गर्छु भन्नुहुन्छ आमा। बाबाले अनेक पाठ रटाउनु हुन्छ। मेरो विमतिमा दाइको शिर झुक्ने र नाक काटिने कुरा छ।
आमाबुबा, दाइ र आफन्तको बचन काट्न सक्दिनँ। परिवारको अडान स्वीकार्नैपर्छ। तिमी बिनाको जिन्दगी वरबिनाको पिपल हुनेछ। हाँसोखुसी टाढा छ मबाट। आफ्नाहरुको बीचमा एक्लिएकी छु। सबै उत्साह मरेर गएको छ। तिम्रो एक वाक्यले ओठमा मुस्कान ल्याउँथ्यो। मनमा खुसी छाउँथ्यो। मान्छेहरू भन्ने गर्थे, हरेक औँसीपछि पूर्णिमा आउँछ। मैले पूर्णिमा पर्खेको धेरै भयो। अब म थाकिसकेँ। तिमीलाई पर्खिन सक्दिनँ। –उषा
पढ्दापढ्दै मन भारी भयो। दिदी निदाइसकेकी थिइन्। डायरी हातमै थियो। म पनि निदाएछु।
बिहान ब्युँझिँदा उषा दिदी थिइनन्। उनको फोन नम्बर र इमेल सहितको कार्ड, अनि मेरो हातमा भएको त्यो डायरी मेरै झोलामा राखिदिएकी थिइन्।
अहिले पनि मसँगै छ, त्यो डायरी। मसँगै काठमाडौँबाट फर्केको त्यो रात घरमा बिहेको कुरा चलेपछि पढिरहेकी उनी घर फर्केकी थिइन्। उनले बिहे गरिछन्। अहिले पनि बेलाबेला फोन गर्छिन्। ‘जिन्दगीको अनौठो परिबन्ध स्वीकार्नुको विकल्प छैन,’ उनी भनिरहन्छिन्।
म अझै पनि सोचिरहन्छु, उषा दिदीले त्यो डायरी किन मलाई छाडेर हिँडिन्?
यात्रामा धेरै भेटिन्छन्, छुटिन्छन्। तर कतिपय सम्झनाहरु छुट्दैनन्। त्यो साँझ पनि ताजा बनेर मेरो स्मृतिमा बसिरहेको छ, कुनै चलचित्रको नमिठो अंशजस्तै।
Shares
प्रतिक्रिया