१८ वर्ष विद्यालय र क्याम्पस धाएर लिएका सर्टिफिकेट घरको दराजमा थन्क्याएँ। देखेका सपना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्दै गर्दा हत्या गरेँ। परिवार, साथीभाइ, आफन्त समुन्द्र पारी छुटे।
वर्षौँ गरेको संघर्ष, सीप मूल्यहीन बन्यो। देश, भाषा, नेता, सत्ता सबै पराई बने। आफ्नो बन्यो त केवल हरियो पासपोर्ट र विदेशी भूमि।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिर्दै गर्दा मनमा यस्तै कुराहरु खेलिरहेका थिए। पत्रकारिता क्षेत्रमा ७ वर्षसम्म गरेको संघर्ष, परिवार, साथी सबै कुराबाट टाढा हुनुपर्दा मनमा कहाँ शान्ति मिल्दोरहेछ ! तर, बाध्यता थियो देश छाड्नैपर्ने।
नेपालमा पलायनको मनोविज्ञान हावी छ। बाबुआमाले समेत विदेशमा आफ्नो सन्तानको भविष्य सुरक्षित देख्छन्। अधिकांश युवा युरोपियन मुलुक छिर्दै गर्दा सुखी हुने मनोविज्ञानमा छन्। यसैकी एक पात्र हुँ म !
विमानस्थलमा खुट्टा काँपिरहेका थिए। बुबा, आफन्त र समिति साथीसँग विमानस्थलबाट छुट्टिँदै गर्दा मन भारी भयो। परिवार र साथीहरुसँग छुटिँदा नरसाएका आँखा विमानस्थल छिरेपछि ओभाउन सकेनन्।
सिंगापुर एयरलाइन्सको विमानमा काठमाडौंदेखि सिंगापुरसम्मको यात्रा तय भयो। काठमाडौँबाट जहाज छुट्ने समय दिउँसोको १ः३० बजे थियो। तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी जहाज छुट्यो।
जहाजमा चढेका अधिकांश युरोपियन मुलुक जाने थिए। पढ्न र कमाउन भन्दै अष्ट्रेलिया, जापान जाने युवा विमानमा धेरै थिए। केही यात्री यही रुट भएर अन्य देश जाने पनि थिए।
नेपालबाट उडेको १५ मिनेटपछि जहाज बेस्सरी हल्लियो। जहाजका धेरै नागरिक चिच्याउन थाले। अगाडि ‘कुहिरो’ छ भन्ने सूचना आयो।
उनीहरु चिच्याउन थालेपछि भने मलाई पनि केही डर भयो। मैले पढेको थिएँ हवाइ यात्रा ९९ प्रतिशत सुरक्षित हुन्छ। यो सम्झिएपछि भने म डराउन छोडिसकेको थिएँ।
म विमानको अन्तिम सिटमा थिएँ। छेउमा थिए सुर्खेतका एक युवा, उनले अष्ट्रेलिया जाने बताएका थिए। उनीसँगको कुराकानीकै क्रममा थाहा भयो कि उनले अष्ट्रेलियामा एक दशक समय बिताएका रहेछन्। उनको परिवार अष्ट्रेलियातिरै रहेछ।
‘आमा सुर्खेतमै हुनुहुन्छ’ उनी भन्दै थिए, ‘बुवाको वार्षिकीका लागि एक महिनाअघि नेपाल आएको हुँ।’
अष्ट्रेलियामा जवानी खर्चेका उनले बुवाले अन्तिम सास फेर्दा पनि नेपाल आउन पाएनन् रे। गत वर्ष बुवा बितेपछि नेपाल आएर काजक्रिया गरेँ। उनको अनुहार हेर्दा रोजगारी साथै अवसरका खोजीमा देश छाड्ने युवाको मनोदशा पढ्न सहजै सकिन्थ्यो। विदेशमा पुगेपछि बुबाआमाले अन्तिम सास फेर्दासमेत देश फर्कन नपाउने युवाको मर्म झल्काउँथ्यो। यात्रा लम्बिएसँगै अँध्यारो हुँदै गएको थियो। घामले पृथ्वीको फन्को मा¥यो सायद।
यतिबेला मुलुक स्थानीय सरकारको निर्वाचनको संघारमा थियो। अझ भनौँ लोकतन्त्रको महत्वपूर्ण पर्व। नेता गाउँगाउँमा पुगेर हात जोड्दै नेपाललाई समृद्ध बनाउने, नेपालमा नै रोजगारी सिर्जना गर्ने विश्वास दिलाइरहेका थिए।
अर्कोतिर दैनिक म जस्तै हजारौँ युवा देश छाड्न बाध्य। विमानमा अधिकांश युवा थिए। उनीहरुको मुहार हेरेर अनुमान लगाउन सकिन्थ्यो कि देश छाड्ने यि युवाले हाम्रा नेताले देखेको समृद्ध नेपालको सपना पक्कै पूरा गर्ने थिए।
सपना मात्र बाँड्ने हाम्रा नेताले, भिजन देखाउन किन सकेनन् ? नेताले देखाएको सपना पूरा गर्ने हो भने नेपाली अवसरको खोजीमा समुन्द्र पारी पुग्नुपर्ने त थिएन ! बादलमाथि उडिरहँदा मेरो मनमा अविच्छिन्न रुपमा यस्तै प्रश्न खेलिरहेका थिए।
यतिकैमा नेपालबाट करिब ६ घण्टा हुइँकिएपछि म रातको ९ बजे सिंहापुरको चेन्जी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेँ। पहिलो पटक विकसित देशको विमानस्थलमा पुगेर होला, मलाई चेन्जि विमानस्थल धेरै नै एड्भान्स लााग्यो। जहाजसम्मै आइपुग्ने वातानुकूलित ढोका, जहाजबाट सिधैँ विमानस्थलमा प्रवेश। विमानस्थल भित्रबाट मैले ट्रान्फरवाला बाटो पहिल्याएँ।
विमानस्थलमा हिँड्न सहज होस् भनेर ठाउँठाउँमा वाकर बनाइएका रहेछन्। बीचबीचमा बस्ने ठाउँ। शौचालय। हात खुट्टा धुने ठाउँ। नुहाउने ठाउँ। विमानस्थलभित्र पसलै– पसल।
चेन्जि विमानस्थलमा ५ घण्टाको ट्रान्जिट थियो। तर नेपालबाट जहाज १ घण्टा ढिला गरी छुटेकाले जापान उड्न मैले ४ घण्टा कुर्नुपर्ने थियो। त्यहाँ पुगेपछि म सँगै नेपालबाट एउटै विमानमा आएका आ–आफ्नो बाटो पत्ता लगाएर लागे। मसँग नेपाल र भारतबाट अध्ययनका लागि जापान जाने विद्यार्थी थिए। विमानस्थलमा भएका कर्मचारी आफ्नो ड्यटी निभाइरहेका थिए।
रात छिपिइसकेको थियो। त्यति बेलासम्मको यात्राले जीउ थाकेको थियो। तर, मलाई निन्द्रा भने थिएन। गन्तव्यले मेरो निन्द्रा हराम गरिदिएको थियो। म वासरूम गएँ। हात मुख धोएर फ्रेस भएँ।
बाहिर निस्कनका लागि धेरै समय नभएकाले म विमानस्थल भित्रै यताउता गरिरहेँ। विमानस्थलमा वाईफाईको संकेतसमेत देखाइसकेको थियो। फुर्सदै भएकाले मैले त्यहाँबाट घरपरिवारका सदस्य र साथीसंगीलाई सम्पर्क गरेँ।
मैले ट्रान्जिट टाइममा भोक लागे खाने भनेर नेपालबाटै खानेकुरा ल्याएर आएकी थिएँ। तर, केही खान मन थिएन।
रातको १२:५५ भएसँगै जहाज चढ्ने प्रक्रिया सुरु भयो। म जापानको फुकुओका जाने जहाज चढ्न गेट नम्बर ए को १३ तिर लागेँ।
सुरक्षा जाँच धेरै कडा रहेछ। सुरक्षा जाँच पछि वेटिङ रुममा छिरेँ। त्यहाँ विभिन्न देशका नागरिक थिए। जापान प्रवेशपछि भर्नुपर्ने फर्महरु चेन्जि विमानस्थलकै कर्मचारीले हातमा थमाइदिए।
रातको १ः ३० भएको थियो। त्यहाँबाट पनि मेरो यात्रा सिंगापुर एयरलाइन्समा नै थियो। जहाज सिंगापुरको समुद्रमाथिको नीलो आकाशमा पखेटा फिँजाएर उड्यो। विमानस्थलमा हुँदै मलाई तिर्खा लागेको थियो। जहाज चढ्ने वित्तिकै एयरहोस्टेजसँग पानी मगाएँ। दुई ग्लास पानी पिएपछि तिर्खा मेटियो।
नेपालबाट चढेको विमान भन्दा सिंगापुरबाट चढेको विमान भव्य थियो। मैले आफू चढेको विमानको भव्यता नियालेँ। जहाजमा निःशुल्क इन्टरनेटको संकेत देखाएको थियो। तर, इन्टरनेट चलेको थिएन। इन्टरनेट नभएपछि मैले समय कटाउन सिटको अगाडि रहेको स्क्रिनमा एयरलाइन्सले सिंगापुरकै बारेमा तयार पारेको डकुमेन्ट्री र म्युजिक भिडियो हेरेँ।
४५ हजार फिटको उचाइमा जहाज उडिरहेको थियो। बाहिरको तापक्रम माइनस ५५ डिग्री सेल्सियस देखाएको थियो। जहाजमा बाहिरको चिसो त छिर्दैन। तर, पनि मलाई एकदम चिसो भएको थियो। श्वास प्रश्वासमा समेत अप्ठ्यारो महसुस भयो। त्यसैपनि म नेपालबाट जहाज चढेदेखि निदाउन नसकेकाले थकित भएको थियो। जहाज भित्रको चिसोले अझ मलाई निदाउन दिएन।
जहाजमा मेरो छेउका दुई सिट नै खाली थिए। ओढ्नका लागि ३ वटै सिटमा राखिएका ब्लाङ्केट प्रयोग गरेँ। यति गरेपछि मलाई केही सहज भयो। मलाई समय–समयमा कहाँ पुगेँ होला भन्ने लाग्थ्यो। म फ्लाइट म्याप हेरिरन्थेँ।
यतिकैमा म जहाजमा निदाएँछु। विहानको ४ बजे एयरहोस्टेजले डिनर ल्याएर आएपछि मेरो निन्द्रा खुल्यो। आकाशमा उड्दै बिहानको ४ बजेतिर डिनर खाएको मेरो जीवनको यो पहिलो घटना हो। केही समयपछि ड्रिंक्स आयो। ड्रिंक्ससँगै चिया कफी पनि थियो। मैले ग्रिन टी लिएँ। स्क्रिनमा हेर्दा थाहा भयो कि अब मेरो यात्रा ३ घण्टा बाँकी थियो। म विमानकै वासरुममा फ्रेस भएँ, ब्रस गरेँ।
क्षितिजमा लाली देखा पर्न थालिसकेको थियो। स्क्रिन हेरेर थाहा हुन्थ्यो कि अब जापान नजिक, सिंगापुर टाढा बनेको छ। सिंगापुरबाट ७ घण्टाभन्दा बढी ननस्टप उडेर फुकुओका विमानस्थलमा अवतरण गर्दा विहानको ९ बजे भएको थियो।
चालक दलका सबै सदस्यलाई मैले मनमनै धन्यवाद भनेँ।
Shares
प्रतिक्रिया