कोरोनाले रोकिएको पढाइ, झण्डै २ वर्षपछि भएको ब्याचलरको परीक्षा, अनि नतिजाको पर्खाइ। अहिले जापानको नागोयामा आइपुगेसँगै फेरि शून्यबाट सुरु भएको छ– मेरो स्कुले जीवन। यसो किन पनि भनिरहेकी छु भने नेपालमा सिकेका धेरै कुरा निकै थोरै लाग्छन् अहिले। २० नाघेका विद्यार्थीहरु बच्चाझैँ अक्षरारम्भ गर्दैछन्।
विद्यालय पुग्नेबित्तिकै र फर्कनुपूर्व शिक्षक र साथीलाई अभिवादन गर्न, अनुशासनमा बस्न, सरसफाइ गर्न सिक्दैछौँ।
हामी अटेरी छौँ। शिक्षकले भनेजस्तो गर्न बानी परेको छैन धेरैलाई।
अहिले पनि कोरोनाको जोखिम कायमै छ। त्यसैले नियमित मास्क लाउन र निरन्तर हात धुन सिकाइन्छ। प्रत्येक बिहान कक्षाकोठामा पुग्नुअघि हात धुन र पुछ्न अह्राइन्छ। तर विद्यार्थी अटेरी छन्। वास्ता नगरी भुइँमा पानी चुहाउँदै हिँड्छन्। यसरी खसेको पानीको थोपालाई प्रिन्सिपल स्वयंले पुछ्दै हिडेको कयौँपटक देखेकी छु।
मैले बाल्यकालदेखि स्नातकसम्म रटेरै पढेँ। बच्चामा प्रशस्त खेल्ने अवसर जुरेन। आफूले इच्छा लागेका गतिविधि गर्न बिरलै पाइन्थ्यो।
अहिले म सम्झिरहेकी छु, कक्षा ४ तिर स्कुलकै आँगनमा पढ्दाताका किताब हेर्दाहेर्दै निदाएको अनि समाजिक पढाउने शिक्षकले टाउकोमा हानेपछि झसङ्ग बिउँझेको। यतिमात्र कहाँ हो र, नबुझे पनि निरन्तर बोर्डतिर हेर्नुपर्ने र बुझेजस्तैगरी टाउको हल्लाउनु पर्ने बाध्यता थियो।
आफ्नो इच्छाले भन्दा बढी पढ्नुपर्छ भन्ने बाध्यताले रटेर पढ्यौँ। विद्यालय नजिकै भएका किराना पसलमा दौडिँदै गएर खाजाको रुपमा जंकफुड खाँदै हुर्केका हौँ।
तर जापानको व्यवस्था भिन्न छ। यहाँ दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिका नर्सरीमा भर्ना हुन्छन्। यहाँका अभिभावक छोराछोरीलाई भर्ना गराउन विद्यालय जानुपर्दैन। कुन स्कुल राम्रो छ, छानिरहन पर्दैन।
हरेक वडामा खोलिएका सिटी अफिसमा गएर निवेदन दिएपछि सम्पूर्ण आवश्यकता हेरेर कुन विद्यालयमा भर्ना हुने हो, व्यवस्था मिलाइन्छ। यहाँका विद्यालयमा घरबाट खाजा लैजान मनाही छ। विद्यार्थीको आर्थिक अवस्था जस्तोसुकै होस्, सबैले एकैप्रकारको ताजा स्वस्थ र पोषिलो खाजा खान्छन्।
सानादेखि हुर्किसकेका विद्यार्थीले पनि आफ्नो कक्षाकोठा आफैँ सफा गर्नुपर्छ। विद्यार्थीलाई सानै उमेरदेखि जिम्मेवार बनाइन्छ। तर विदेशबाट आएकाहरुले भने अप्ठ्यारो मानेको देखिन्छ। अभिवादन गर्न पनि डराउने, लजाउने स्वभावका हुन्छन्। सरसफाइ पश्चात् हतारहतार निस्कन खोज्छन्। तर बिना जाँच कहाँ निस्कन पाउनु!
कहिलेकाहीँ शिक्षक आफैँ सफाइमा लागेका हुन्छन्। सायद विद्यार्थीले सरसफाइ राम्रोसँग नगरेका भएर होला।
जापानमा विदेशी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै चीन र भियतनामबाट, त्यसपछि नेपालबाट आउने रहेछन्। सन् २०२१ मा गरिएको सर्वेक्षणले यस्तो तथ्यांक देखाएको छ।
ज्ञानसँगसँगै अवसर खोज्दै हामी यहाँसम्म आएका छौँ। जापान अध्ययनको लागि राम्रो गन्तव्य लागेर अनि पार्टटाइम काम पनि गर्न सकिने भएकोले महंगो भए पनि बस्न सहज छ।
जस्तोसुकै भए पनि कामप्रतिको लगाव, कठिन परिश्रम यहाँ देख्न सकिन्छ। अनुशासित समाज र सोही अनुसारको व्यवहार भेटिन्छ। हामी त्यसैलाई पछ्याउने कोसिसमा छौँ।
अरूको कुरा ध्यान दिएर सुन्ने बानी कम र आफू बढी बोल्ने बानी कम गर्दैछौँ। हामी सुरुवाती चरणमा छौँ। आएको एक महिना पनि पुरा भएको छैन। त्यसैले होला, केही असहजता पक्कै छ।
नेपालमा आफ्नै इच्छाले हिँडिन्थ्यो। मन लागेको हेयर कलर र हेयर स्टाइलमा हिँडिन्थ्यो। इच्छा अनुसारको नेल पोलिस, मनपर्ने कपडा र मेकअपमा कलेज गइन्थ्यो।
यहाँ कक्षाकोठामा पुग्नुअघि भिन्न चप्पल लगाएर प्रवेश गर्नुपर्छ। सामान्य ड्रेस, साधारण जीवनशैली, साइकल यात्रा, रातभरि कामको प्रेसरले तनावपूर्ण देखिने र थकानले लोलाएका आँखा लिएर आएका हुन्छन्, साथीहरू। अनि अप्ठ्याराहरु सुनाउँछन्।
म केही समय भाषा सिक्न केन्द्रित रहने कोसिसमा छु। यहाँको भाषा शिक्षण शैलीबाट अत्यन्तै प्रभावित छु। सरल भाषामा, सामान्य उदाहरण सहित चित्र देखाउँदै खान्जी पढाउने तरिका मन पर्यो।
उसो त नेपालमा योग्यताअनुसारको काम र देशमा बसेर गरिखाने वातावरण भएको खण्डमा नेपाल फर्कने मानसिकता रहेका नेपालीहरू धेरै भेटिन्छन्। यहाँको भोगाइ, अनुभव र सिकाइ नेपालमै बाँड्ने रहर मलाई जस्तै प्रत्येक नेपालीलाई छ।
हाम्रो देश पनि यस्तै विकसित भए हुन्थ्यो नि भन्ने चाहना यहाँका हरेक नेपालीमा देख्न सकिन्छ।
Shares
प्रतिक्रिया