दाजुभाइ र दिदीबहिनी बीचको प्रेम स्नेह दर्साउने रक्षाबन्धन तराई मधेशको विशेष पर्व हो। हिन्दु धर्मावलम्बीमध्ये मधेशी समुदायबीच यो पर्वमा छुट्टै उल्लास हुन्छ।
बिहानैदेखि दाजुभाइ, दिदिबहिनी रक्षा बन्धनको पर्खाइमा हुन्छन्। जनैपूर्णिमा पनि भएकाले जनै फेर्ने दिन पनि यही हो।
दिदी बहिनीसँग रक्षाबन्धन मनाउनुको साथै दुख सुखका भलाकुसारी हुने भएकाले यो दिनको म पनि पर्खाइमा हुन्छु। मेरी श्रीमती ससिता पनि रक्षाबन्धन मनाउन एकदिन अगावै माइत जाने गर्छिन्।
यसपाली पनि उनका बुवा–आमा छोरीको पर्खाइमा दिन गनिरहेका थिए। तर उनी माइत जान पाइनन्। वर्ष दिनपछि आफन्तसँग भेटघाट हुने यो विशेष उनको परिवारकै लागि खल्लो भयो। उनका माइतीमा दिदी बहिनी, आमा–बुवासँग विशेष दिनमा भेट्न पाइनन्। तैपनि पर्व मनाउनैपर्यो।
शुक्रबार ससिताले आफ्ना दाजुभाइलाई जनकपुरस्थित डेरामै बोलाइन्। सिरहाको बेल्हाबाट उनीहरु बिहानै जनकपुर आए। समयअभावले दाजुभाइ दिदीबहिनीबीच भलाकुसारी हुन सकेन।
त्यसैले अघिल्ला वर्षहरुको तुलनामा ससिताको रक्षाबन्धन खल्लो रह्यो। यसको मूल कारण थियो शिक्षक सेवा आयोगको शनिबारका लागि पूर्वनिर्धारित निम्न माध्यमिक विद्यालय तहको अध्यापन अनुमति पत्रको परीक्षा।
लामो समयदेखि टिचिङ लाइसेन्सको परीक्षा नहुँदा ससिता जस्तै लाखौँ परीक्षार्थी व्यग्र प्रतिक्षामा थिए।
जुन लाइसेन्स शिक्षक भर्ना विज्ञापनको आवेदन भर्ने आधार हो। यस्तो लाइसेन्सको परीक्षा वार्षिक रुपमा हुनुपर्ने हो। तर, सम्बन्धित निकाय गैरजिम्मेवार र सुस्त हुँदा ६ वर्षपछि टिचिङ लाइसेन्सका लागि यस पटक आवेदन आह्वान गरेको थियो।
शिक्षा संकाय प्रवीणता प्रमाणपत्र तह (+२)सहित, स्नातक र स्नातकोत्तर पास गरिसकेका लाखौं विद्यार्थीको लागि यो व्यग्र प्रतीक्षाको अवसर थियो। तर, अत्यधिक परीक्षार्थीको चाप, महत्वपूर्ण पर्वको भोलिपल्टै परीक्षा, पाँच जिल्लाको अपायक ठाउँमा परीक्षा केन्द्र, प्रतिकुल मौसम जस्ता कुरालाई शिक्षक सेवा आयोगले ख्यालै नगरेको देखियो। जसले हजारौँ परीक्षार्थीसहित आफन्तजन सास्ती भोग्नु बाध्य भएँ। दुःख पाए। जसको भुक्तभोगी उदाहरण पात्र म, मेरी श्रीमती ससिता र ८ महिने काखे छोरो संयम छन्।
ससिताको परीक्षाकेन्द्र पर्साको वीरगन्ज स्थित नेरा मावि, नगवामा थियो। पाँच जिल्ला पारी परीक्षा सेन्टर, पर्वको दिन। एक दिन अघि न पुगि भ्याउनै गाह्रो। ८ महिने दुधे बच्चा, त्यसमा पनि महिला, एकलै बच्चा छाडेर पठाउनै मिलेन।
३/४ दिनअघि सेन्टर वीरगन्जमा परेको हेर्दा त परीक्षा नै नदिने मनस्थितिमा ससिता पुगेकी थिइन्। तर जे पर्ला पर्ला यसपाली लाइसेन्स लिएर छोड्ने उनले अडान लिइन्। देशकै आर्थिक राजधानी वीरगन्ज घुम्ने रहर पहिल्यैदेखि उनको रहर थियो।
परीक्षाले रक्षाबन्धन जसोतसो मनाएर हतारमा स्कुटी चढेर धनुषाको बटेश्वरस्थित घर पुगेँ। त्यहाँ पर्व मनाइसकेपछि बस चढेर वीरगञ्ज जाने योजना थियो। शुक्रबार बिहान जनकपुरको रामानन्दचोक पुग्दा त्यहीँ स्कुटीको साँचो हरायो। स्कुटी त्यहीँ छाडेर आफन्तलाई ल्याउने जिम्मा दिए।
एकजना साथीको मोटरसाइकल लिए। हतार हतार किनमेल र जनकपुरमा रक्षाबन्धन मनाएर स–परिवार घर पुगे। दिनको १ बजिसकेको थियो। मेरा दिदिबहिनी धेरै भएकाले रक्षाबन्धन मनाउँदै दुई घण्टा बित्यो। जेठो ५ वर्षे छोरा सक्षमलाई फकाएर दिदीलाई जिम्मा लगाए। मोटरसाइकलमा हतारहतार महेन्द्र नगर पुगे।
त्यही साथीलाई मोटरसाइकल जिम्मा लगाएँ। बस काउण्टरबाट वीरगन्जका लागि दुईजनाको ८ सयको टिक काटेँ। ४ बज्नै लाग्दा जनकपुरबाट वीरगन्ज जाने बस आइपुग्यो। बस चढेँ। तर सिट खाली थिएन। धेरै यात्रु उभिएरै यात्रा गरिरहेका थिए।
बसमा भीडका कारण थियो, जनकपुरबाट परीक्षार्थी र कतिपयका सहयोगी वीरगन्ज जाँदै थिए। उभिएर भए पनि वीरगन्ज पुग्नै पर्ने थियो। तर, काखे बच्चा भएकाले ससितालाई एउटा सिट मिलाउन पाए हुन्थ्यो भनेर सोचिरहेको थिएँ।
मधेशमा अहिले पनि वृद्धवृद्धा, प्रसुती, अपांग यात्रुलाई बस यात्राको क्रममा सिट प्याक भए छाड्ने चलन छैन। यस पटक पनि कसैले सिट छाडेनन्। ससिता बसको अलिक पछाडितिर सरिन्। त्यहाँ उसको चिनजानकै साथी थिए। दुई सिटमा श्रीमान श्रीमती र १२ महिने बच्चा। ससितालाई हेर्नेबित्तिकै उनकी साथीका श्रीमानले सिट छाडे। ससितालाई बस्न आग्रह गरे। ससिता र छोरोको सिट व्यवस्थापन भएपछि म ढुक्क भएँ।
छोटो यात्रा बसमा उभिऐरै गरेको अनुभव छ। तर लामो यात्रा यो पहिलो थियो। किनभने बसलाई जनकपुरबाट वीरगन्ज पुग्न चार घण्टा लाग्छ। केही पर पुगेपछि एउटा सिटमा बसेका पुरुष यात्रुको छेउमै जसोतसो अडेस लाएर बसेँ। केहीबेरमै एकजना महिला बच्चासहित आइपुगेपछि म उठेँ र छेउको पुरुष यात्रुलाई उठ्न आग्रह गरेँ। उनी सिट छाडेपछि महिलालाई बसाएँ।
बाटोभर परीक्षार्थीसहित यात्रु कोचिँदै गए। गर्मीले यात्रुलाई पसिना छुटिरहेको थियो। परीक्षाका दिन हिँडेका कतिपय महिलाका बच्चा रुँदै थिए। यसरी राति झण्डै ८ बजे वीरगन्ज पुगेँ। दुई दिनअघि नै वीरगञ्जकी एकजना पत्रकार साथीलाई परिक्षा सेन्टर छेउकै होटलमा कोठा बुक गराइदिन आग्रह गरेको थिएँ।
नर्मल कोठामा बच्चा लिएर बस्न गाह्रो हुने ती साथीले मलाई भनिन्। एसी भएको र नर्मल कोठाको शुल्क सुनाइन्। जनकपुरमा एसी भएको कोठामा सुत्ने बानी छैन। त्यसैले नर्मल कोठा नै लिन खोजेको थिएँ। साथीले छुट गराएर १८ सयमा एसी भएको कोठा मिलाएका थिए। जनकपुरभन्दा वीरगन्जमा गर्मी बढी छ। बसबाट ओर्लिनेबितिकै यहाँको गर्मीले असहज महसुस भयो। छोरा पसिनाले झन् आकुलव्याकुल भए। कोठामा पुगेपछि राहत महसुस भयो।
त्यो होटलका स्टाफ बाहिर भएकाले खानाको व्यवस्था थिएन। साढे ९ बजे राति खाना खान होटलबाट बाहिर हामी निस्क्यौँ। खाना खाने होटलको खोजीमा लागेँ। कम्तिमा आधा घण्टाभित्र १५ जना परीक्षार्थी र तिनका आफन्तले होटेल लज सोध्न आए। प्रायः सडकमा भेटिएका परीक्षार्थी होटेल लजको खोजीमा थिए।
अन्य दिनको तुलनामा होटेल लजको भाडा अत्यधिक महँगो रहेको गुनासो धेरैबाट सुनेँ। अर्थात् होटेल लज व्यवसायीले परीक्षार्थीको बाध्यतालाई अवसरका रुपमा लिएर मनोमानी लाभ लिए। सार्वजनिक यातायातमा पनि त्यस्तै अवस्था थियो।
गाईवस्तु झैँ कोचिएर यात्रा गर्नुपरे पनि परीक्षार्थी र तिनका आफन्तजनलाई चर्कै भाडा तिर्नुपर्यो। सार्वजनिक यातायात व्यवसायी र होटेल तथा लज व्यवसायीले अवसरको रुपमा लिए। मनोमानी शुल्क असुले। कमाए। तर मानवीयता हेरेनन्। जुन दुर्भाग्यपूर्ण छ।
मैले र मेरो परिवारले झेल्नुपरेको समस्या एक उदाहरण हो। हामीभन्दा कयौं बढी सास्ती अरु परीक्षार्थी र आफन्तले भोगे। हामी धनुषाबाट वीरगन्ज चढेर आएको बस मात्रै होइन, मधेश प्रदेशभरका सबै रुटमा सार्वजनिक यातायातको अवस्था उस्तै दयनीय छ।
गर्मीमा चर्को भाडा तिरेर पनि गाईवस्तु झैँ कोचिएर गन्तव्य स्थल पुग्नु पर्यो। सप्तरी, सर्लाही लगायत जिल्लामा पैसा तिर्न तयार हुँदा पनि कयौं परीक्षार्थीले बस्न पाएनन्। अपुग होटेल लजको कारण राजविराजमा कतिपय स्थानीयले आफ्नो घरमा पनि शरण दिए। तर पनि धेरै परीक्षार्थी फुटपाथमा सुतेर रात बिताए। फर्किने बेला पनि सार्वजनिक यातायातमा उस्तै गर्मी र यात्रुको कोचाकोच। भीडमा बच्चा लिएर पुगेका कतिपय आमा परीक्षार्थीको अवस्थाले विरक्त लाग्यो।
बसमा बच्चासँगै यात्रा गरेकी परीक्षार्थी आमा र आफन्तको पीडा के थाहा एसी भएको सरकारी सवारीमा यात्रा गर्ने लोकसेवा परीक्षा नियन्त्रक र कर्मचारीलाई।
गर्मीमा लामखुट्टे टोकाएर फुटपाथमा रात बिताउनुको पीडा के थाहा एसीवाला कोठामा बसेर परीक्षा केन्द्र निर्धारण गर्ने शिक्षक सेवा आयोगका अधिकारीहरुलाई।
जसोतसो स्तानतक र स्नातकोत्तर पास गरी लाइसेन्स नभएर बेरोजगार रही भौतारिरहेका हजारौं परीक्षार्थी पनि परीक्षा दिन ऋण काढेर परीक्षा केन्द्र पुगे। सरकारी तलबभत्ता खानेलाई यो समस्या के थाहा।
पढेर पनि विभिन्न समस्याबाट जुध्दै रोजगारीका लागि भौतारिरहेका युवायुवतीलाई शोषण गर्न सरकारी संयन्त्र लालायित रहन्छन्। यो पटकको लाइसेन्सको परीक्षा केन्द्र निर्धारण गरेको देख्दा लाग्छ शिक्षक सेवा आयोगले होटेल र सार्वजनिक यातायत व्यवसायीसँग भित्रभित्रै सेटिङ गरेको प्रतीत हुन्छ।
नभए यस्तो उखरमाउलो गर्मीमा परीक्षार्थीको चाप हेरेर यति टाढा, अपायक पर्ने ठाउँहरुमा किन परीक्षाकेन्द्र निर्धारण गर्थे र!
चाडपर्व, अपायक ठाउँ, चर्को गर्मी, आर्थिक अभावको कारण धेरै परीक्षार्थी परीक्षामा नै सहभागी भएनन्। मेरी श्रीमती ससिताको जुन कोठामा परीक्षाको सिट परेको थियो। त्यो कक्षामै सातजना परीक्षार्थी अनुपस्थित थिए। यसले थुप्रै विद्यार्थी परीक्षामा सहभागी नभएको हुन सक्ने आकलन गर्न सकिन्छ।
यदि स्वच्छ निष्पक्ष एवम् मर्यादित परीक्षा लिने उदेश्यले यसरी परीक्षा केन्द्र निर्धारण गरेको थियो भने यसको प्रयाप्त विकल्प थियो। यो विज्ञान प्रविधिको युग हो। जिल्ला अन्तर्गतकै सिसिटिभी जडान भएको शैक्षिक संस्था, वा सिसिटिभी जडान गरेर परीक्षा लिन सकिन्थ्यो।
यस्तो व्यवस्थापनको लागि बरु आवेदन शुल्क बढाएर लिँदा पनि राम्रो हुन्थ्यो। नभए अर्को विकल्प अन्तरजिल्ला अर्थात नजिकै अन्तर जिल्लामा पनि परिक्षा केन्द्र मिलाउन सकिन्थ्यो। जस्तो धनुषाका विद्यार्थीलाई महोत्तरी र सिरहा, महोत्तरीलाई जिल्लाका परीक्षार्थीलाई धनुषा र सर्लाही। यसरी गर्दा आफ्नै घरबाट परीक्षार्थी परीक्षा केन्द्र जान सक्थ्यो। होटेल लजमा बस्न पर्दैनथ्यो। आर्थिक भार कम पर्थ्यो
वर्षमा आउने महत्त्वपूर्ण पर्व रक्षाबन्धन प्रभावित भयो परीक्षाले धेरै दाजुभाइ दिदीबहिनीले रक्षाबन्धन मनाउन पाएनन्।
चाडपर्व, उखरमाउलो गर्मी, अपायक टाढा परीक्षा केन्द्र, परीक्षार्थीको चाप, सार्वजनिक यातायातको संख्या, बासको अवस्था, बेरोजगारी लगायत नबुझी शिक्षक सेवा आयोगले लिएको यो परीक्षा पूर्णत अवैज्ञानिक र अव्यवहारिक थियो। आगामी दिनमा परीक्षा केन्द्र निर्धारण गर्दा शिक्षक सेवा आयोगसहितका निकायले पूर्व विश्लेषण गर्न जरुरी छ।
Shares
प्रतिक्रिया