कुनैबेला हिमाली जिल्ला त परैको कुरा भयो, पहाडी जिल्लाको सदरमुकामसम्म पुग्ने सडक यातायात थिएन। तराईका जिल्लामा पनि बर्खायाममा गाडी चल्दैन थियो। अहिले देशका सबै जिल्ला सदरमुकामसम्म पुग्ने बाटो बनेको छ। कुनैबेला सातु चामल बोकेर सात दिन हिँड्नुपर्ने ठाउँ अहिले एक दिनमै पुग्न सकिने भएको छ।
पहाडी जिल्लासम्म जाने बाटो नहुँदा तत्कालीन समयमा शाही नेपाल वायु सेवा निगमको जहाजले केही भरथेग गरेको थियो। ऊबेला रेडियो नेपालको राति नौ बजेको समाचारपछि शाही नेपाल वायु सेवा निगमको विज्ञापन बज्थ्यो। डोल्मा घडी र शानेवानिको विज्ञापन केही समयको फरकमा बज्थ्यो।
जहाजको कलसाइनसहित बज्ने विज्ञापनमा अंग्रेजी शब्द ‘डिले सेड्युल’ घुसाएर जहाजको समय सारिणीको बारेमा जानकारी गराइन्थ्यो। ‘विराटनगर–तुम्लिङटार, विराटनगर–फाप्लु, विराटनगर–सुकेटार, विराटनगर–लामीडाँडा’, विज्ञापनहरू यसरी नै बज्थे।
अहिले ती रुटमा विराटनगरबाट कुनै पनि जहाज चल्दैन। अब विकासको गति सुल्टो भयो कि उल्टो एउटा विवेचनाको विषय होला। तर, जहाज नचल्दैमा ती क्षेत्र विगतजस्तो दुर्गम भने छैनन्।
विराटनगरबाट संखुवासभाको तुम्लिङटार अहिले ५–६ घण्टामै पुग्न सकिन्छ। त्यस क्षेत्र भएर सार्वजनिक यातायात पनि प्रशस्त चल्न थालेका छन्। पहाडी जिल्लाका सदरमुकामहरू पनि कम्तीमा पालिकाका कार्यालयसम्म पुग्नेगरी सडक यातायातले जोडिएका छन्।
यसरी सडक, विद्युत र सञ्चारसमेतको सुविधा पुग्दा पनि मानिसहरू उँभोबाट उँधो झर्न भने छाडेका छैनन्। अब त गाउँमै सबैथोक पुग्यो, उतै जानुपर्छ भन्नेहरू पनि माथि उक्लिन सकेका छैनन्। किन मानिसहरू सुविधा खोज्दै तराईतिर नै झरिरहेका छन्? तराईका गाउँबाट पनि किन मानिसहरू शहर पसिरहेका छन्? अझ अगाडि भन्नुपर्दा किन देशैभरका मानिसहरू काठमाडौंमा कोच्चिन खोजिरहेका छन्?
मेरो सामान्य जानकारी अनुसार, धेरै मानिसको तराई वा पहाडमा घर त छँदैछ, र काठमाडौंमा पनि तिनले थप घर बनाएका छन्। कसैले छोराछोरीलाई पढ्न र पछि बस्न सजिलो हुन्छ भनेर घर बनाएको बताउने गरेका छन्। कसैले सम्पत्ति हो, ठाउँमा जोडिराखुम् भनेर घडेरी वा घरै किनेको बताएका छन्।
‘धनीलाई धनमाथि धनै छ गरिबलाई चमेली ऋणमाथि ऋणै छ’ भन्ने गीत गाउने कम्युनिष्टहरूले पनि घरघडेरी जोड्न बाँकी राखेका छैनन्।
विराटनगरका एकजना निकै आदर्शवान् ठानिएका कम्युनिष्ट नेताले बालकोटमा अढाई करोडमा घर किनेका रहेछन्। अर्काले हात्तीवनमा। अनि तिनै नेताहरू अवसरहरूलाई तलतल लैजानुपर्छ, विकासको मूल गाउँमै फुटाउनुपर्छ भन्ने जबजको सिद्धान्त हो भन्दा रहेछन्। सायद यिनले सिद्धान्त र शास्त्रको माछा चाहिँ खाँदैनन् होला। बाँकी के खान्छन् के खाँदैनन्, यिनैले रातारात किनेका घरघडेरीले बताइरहेका छन्। यिनको सिद्धान्तमा जीवनको रंग हरियो हुन्छ, मौका पाउँदा पनि कमाउन नसक्ने संसारकै अबुझ हुन्छ।
उत्पादनसँग जोडिनु, वैध आम्दानीबाट धनी हुनु आपत्तिको विषय होइन। तर, धनी हुँदैमा पनि सके काठमाडौंमा नसकेमा कुनै शहरमा घरघडेरी किन्नुपर्छ भन्ने मान्यताको विकास हुनुको कारण चाहिँ के हो?
नेतामात्र होइन, दुईचार पैसा कमाएका धेरैजसोले काठमाडौंमा घरघडेरी जोडेका छन्। कर्मचारी वृत्तमा हेर्ने हो भने उपसचिवदेखि माथि सबैजसोको काठमाडौंमा घर छ।
सानोतिनो व्यापार–व्यवसाय गरेर, निजी स्कूल–कलेज सञ्चालन गरेर, सहकारी सञ्चालन गरेर छोटो समयमै धनी भएकाहरूले काठमाडौंमा घर थपेका छन्। यसरी काठमाडौंमा घरघडेरी किन्ने सम्पत्तिको स्रोत के हो वा त्यहाँ घर जोड्नैपर्ने यिनको मानसिकताको स्रोत के हो?
आश्चर्यजनक कुरा त के हो भने हिजोभन्दा आज केही मानिस त्यसै धनी भएका छन्। साँच्चै भन्नुपर्दा गाउँमा रहँदा बस्दा यी नवधनाढ्यले राम्रो खानै पाएनन्। यिनले सिँगान पुछ्न जानेनन्। नाकभन्दा मुनि मुखभन्दा माथिको भाग सिँगानले रातै हुन्थ्यो। खुट्टामा चप्पल विरलै हुन्थ्यो। दुई–चार अक्षर पढे। शहर पसे। केही इलम समाए। धनी भए। धनी भएपछि यिनले आफूलाई सभ्य अरुलाई असभ्य देख्न थाले।
सामान्य वर्गबाट मध्यम तथा उच्चमध्यम वर्गमा वर्गोत्थान हुनु यिनको भाग्यमा नै थियो भन्ने ठानुम्। तर, यिनै मानिसहरू सन्तोषी देखिँदैनन्। देशमा यो भएन र त्यो भएन भनेर धेरैजसो नकारात्मक भाषाको सिर्जना यिनै वर्गले गरिरहेका छन्। जबकि देशमा केही न केही विकासका काम भएका छन्।
सडक–यातायात, विद्युत, सञ्चारका दृष्टिले गाउँ र शहरबीचको भिन्नता केही हदसम्म कम भएको छ। माध्यमिक शिक्षा गाउँमै पनि राम्रो हुन थालेको छ। गाउँमा आधारभूत स्वास्थ्य सेवा पुगेको छ। तर, यी सुविधाको खबरबाट गाउँ हुँदै शहर पसेका नवधनाढ्यहरू बेखबर छन्।
बरु गाउँका किसान मल नपाउँदा आक्रोशित नहोलान् तर यी नवधनाढ्यको सुविधामा अलिकति तल बितल हुनु हुँदैन यिनले कोकोहोलो मच्चाउँछन्। ‘यो देशमा सिस्टम नै भएन, सबै चोरैचोर छन्’ यिनले यस्तै भाष्य सिर्जना गर्न खोजेका छन्।
वास्तवमै यो देशमा यदि सिस्टम हुँदो हो त यिनै मानिसहरू कसरी रातारात हजार, लाख, करोड हुँदै अर्बपति हुन्थे होला? देशको कमजोर प्रणालीको फाइदा उठाएर धनी बन्ने, अनि डकार्नु डकारेपछि देशमा सिस्टम छैन, केही भएन, भविष्य छैन भनेर नकारात्मक भाव फैलाउने? यो अलिक हजम भएन कि ! सरकारी सेवामा काम गर्ने, सरकारी वेतन खाने पनि उसै गर्छन्। जबकि यो मुलुकमा सामाजिक सुरक्षा भत्ताबाहेक राज्यबाट एक सुको नपाउनेको संख्या कति होला? तिनको चाहिँ गुनासो छैन होला?
मजदुर, किसानहरूले दिनरात काम गर्दा पनि आफ्नो जीवनस्तरमा सुधार ल्याउन सकिरहेका छैनन्। बरु ती आफ्नै भाग्यमा खोट देख्छन् तर कसैलाई दोष दिन चाहँदैनन्। यसो भनिरहँदा तिनमा आक्रोश छैन भन्ने होइन। तुलनात्मकरुपमा उनीहरू कर्म धेरै गुनासो थोरै गर्छन्। तर शहरका कथित ‘एलाइट’हरू अलिकति पातलो दिसा आए पनि सरकारले वितरण गरेको पानीमा कैफियत देख्छन्।
यी तिनै हुन् जसले हिजो गरिबलाई चुस्ने सामन्तको जाली तमसुक च्यात्नुपर्छ भने। तर, मौका पाउँदा सयकडा तीनका दरले ब्याज असुल्ने धन्दा यिनले आफैले गरे। शिक्षा सर्वसुलभ हुनुपर्छ भने तर सार्वजनिक शिक्षा बेकम्मा बनाएर यिनी आफैले निजी विद्यालय तथा कलेजको पसल खोले।
नागरिकको स्वास्थ्य उपचार सरकारको दायित्व हो भने। तर आफैले निजी अस्पताल खोले। जग्गा दलाली, वैदेशिक रोजगारको व्यापारी, एनजिओ–आइएनजिओको ठेकेदारी सबै थोक गरे। मौकामा चौका हान्न यिनले कुनै पनि कसर बाँकी राखेनन्। यिनले कल्पना गरेभन्दा बढी सम्पत्ति कमाए। सम्पत्तिले लबालब भए। तर, पनि यिनलाई सुख छैन।
हुन त यो आलेखको मूल विषय नवधनाढ्य वर्गले के गरे के गरेनन् भन्ने होइन। यिनको आलोचना गर्न खोजेको पनि होइन। खास कुरा त यो मुलुकमा केही न केही विकास भएको छ भन्ने प्रकाश पार्नु पनि हो।
यहाँ केही नै भएको छैन, देश खत्तम भयो, चौपट भयो भनेर एउटा जबर्जस्त भाष्य खडा गरिँदैछ। के यो कुरालाई सर्लक्क पत्याउनुको कुनै दरकार छ? हुन त हुनुपर्ने राज्य प्रणाली नभएरै एउटा वर्गले अकुत सम्पत्ति सिर्जना गर्न सक्यो। अहिले त्यो वर्गलाई आफ्नो सम्पत्तिको सुरक्षा चाहिएको छ। किनकि अस्थिर प्रणाली भएको मुलुकमा कमाएको सम्पत्ति भोलि के हुने हो भन्ने टुंगो हुँदैन। त्यसैले ती एउटा बेग्लै बेचैनीसहित यो मुलुकमा ‘सिस्टम’ छैन भनिरहन्छन्।
यो त्यही वर्ग हो जो हिजोको आफ्नै गरिबीभन्दा निकै माथि उक्लिएको छ। हिजो उसलाई खानकै दुःख थियो। तर, आज खाएर नसकिनेगरी प्रशस्त धनसम्पत्ति आर्जन भएको छ। ठाउँ–ठाउँमा घरघडेरी जोडिएको छ। सम्पत्ति कमाउने मृगतृष्णामा सायद यिनले आफ्नै नातागोता आफन्तलाई ढाँट्न छल्न बाँकी राखेनन् होला। यिनले राज्यलाई कर तिरे वा तिरेनन् तर यिनैलाई मुलुकको ढुकुटीमा कति पनि योगदान नगरी यो देश अमेरिका, युरोपजस्तो चाहिएको छ।
देश बनेन भनेर नेतालाई दोष देखायो, आफूचाहिँ पानीमाथिको ओभानो भयो। बस् सकियो जिम्मेवारी? केही प्रश्नहरूप्रति आफैंले दृष्टिपात गर्न आवश्यक छ कि छैन? यदि कसैले यो राष्ट्र बनेन वा खत्तम नै भयो भनेर भन्छ भने उसको पनि नैतिक धरातल के हो हेर्नुपर्छ। एकले अर्कालाई दोष देखाएर मात्र यो देश बन्दैन। यदि देश बनेन भने हामी पनि कुनै न कुनै रुपमा दोषी छौं।
हिजो गाउँमा सडक थिएन, सञ्चार थिएन, पानी–बिजुलीको सुविधा थिएन। ठिकै छ, एउटा पंक्ति अवसर खोज्दै शहर पस्यो। तर, आज धेरैजसो गाउँ भनेका स्थानमा यी सुविधा पुगेका छन्। गाउँका खेतमा जे फलेको छ त्यसलाई बजारमा ल्याउन कुनै समस्या छैन। मात्रै अहिले ती बाँझो खेतमा के फलाउने कसले फलाउने मान्छे चाहिएको छ।
हामीलाई आफूमात्र धनी हुने भूइँफुट्टा वर्ग होइन देशलाई धनी बनाउने देशभक्त चाहिएको छ। देश धनी भए हामी धनी हुन्छौं। अनि देश धनी भयो भने हामीलाई काठमाडौंमा घर किन चाहिन्छ !
Shares
प्रतिक्रिया