सार्वजनिक यातायातमा हिँड्दा चालक, सहचालक वा कन्डक्टर कसैले पनि तपाईको घर कहाँ हो, के काम गर्नुहुन्छ इत्यादि भनेर ‘डिस्टर्ब’ गर्दैनन्। पठाओ राइडरसँग ‘प्यासेन्सजर’लाई अलि असुविधा हुन्छ।
पुरानो बसपार्कस्थित जागरण बुक्सबाट गणेशजीले पठाइदिएको एक झोला किताबको पैसा तिर्नु थियो। शुक्रबार थापाथलीस्थित तथ्यांक विभाग अगाडिबाट पठाओ सर्च गरें।
अनलाइन सर्चवाला मोटरसाइकल आइपुग्न भ्याएकै थिएन, कालो लेदर ज्याकेट लगाएका एक युवकले छेवैमा मोटरसाइकल रोकेर सोधे– दाइ, पठाओमा जाने हो?
केही साता अघिसम्म मोटरसाइकलको टाउकामा जडान गरिएको स्ट्याण्टबाटै पठाओ चालकहरु प्रष्ट चिनिन्थे। अहिले ट्राफिक प्रहरीको उर्दीपछि डण्डीहरु झिकिएका छन्। को पठाओवाला हो, नसोधी थाहा हुँदैन।
‘भाइ, अनि यत्तिकै जाँदा कति भाडा तिर्ने भन्ने विवाद हुँदैन त? म पुतलीसडक जानु छ, कति रुपैयाँ लाग्छ, अनलाइन सर्च गर, सिस्टम अनुसार जाऔं।’
मेरो भनाइमा युवकको जवाफ थियो, ‘दाइले नै हेर्नु न, कति पर्छ, त्यति दिनु।’
‘अघि सर्च गर्दा पुतलीसडकको ६५ रुपैयाँ देखाएको थियो, ल म तिमीलाई १ सय रुपैयाँ दिन्छु।’
‘अफलाइन’ सौदाबाजी सकिएपछि ‘अनलाइन पठाओ’मा चढियो।
‘पठाओ’ आफैंमा विदेशी कम्पनी हो। यसमा चढेवापत हामीले तिर्ने पैसाको निश्चित प्रतिशत सोझै बंगलादेश जान्छ। बंगलादेशले हामी नेपालीबाट लाखौं रुपैयाँ लगिरहेको छ। ‘दक्षिण एशियाको टाइगर’ ले आइटीबाट कसरी आम्दानी गरिरहेको भन्ने यसले प्रष्ट देखाउँछ।
अझ नेपाली युवाले ‘अनलाइन सर्भिस’ भन्दै मोटरसाइकल पछाडि ‘पठाओ फुड’ लेखेको बडेमानको थैलो बोकेर हिँडेको दृश्यले त झनै हामी नेपालीको ‘डिपेन्डेन्सी’ चिन्तनलाई प्रष्ट पार्दछ। हामी सफल भएको भए यतिबेला बंगलादेशमा ‘गोर्खा’ लेखेको झोला देखिनुपर्ने हो।
खैर, यसलाई छोडौं। फेरि अफलाइन पठाओमा फर्कौं।
मोटरसाइकल चल्न मात्र के थालेको थियो, राइडरले भटाभट अन्तरवार्ता लिन शुरु गरि त हाले।
‘दाइ, तपाई के गर्नुहुन्छ?’
‘म खासै केही गर्दिनँ भाइ।’
‘तैपनि केही त होला नि? जागिर, व्यवसाय केही त पक्कै होला।’
‘म पत्रकार हो , नेपालखबर भन्ने अनलाइन पत्रिकामा काम गर्छु।’
सिंहदरबार अगाडि जाममा फसिएको छ। राइडरले जागिर माग्न थाले। उनले एक सासमा आफ्नो ‘बायो’ सुनाए-
‘दाइ मेरो घर गोरखा हो। बीबीएस पढ्दैछु। गाउँको केटो आर्थिक अवस्था कमजोर भएकाले गर्दा पठाओ चलाउन थालेको हुँ, यो मोटरसाइकलको पनि पैसा तिर्न बाँकी छ। अलिअलि खर्च जुट्छ कि भनेर पठाओ चलाएको हो, मलाई एउटा सानोतिनो जागिर नभई भएको छैन दाइ। मेरो पढाइ राम्रो छ, एकाउन्टेनको काम गर्न सक्छु।’
मलाई सुरुमा उनको कुराले झर्को लागेको थियो। अब माया लागेर आयो।
मैले उनको कथामा यो देशका आम किशोर–किशोरीहरुको अनुहार देख्न थालें। यो पुस्ता कसरी आफ्नो भविष्यलाई अन्धकार देखिरहेको छ र उज्यालोको खोजीमा तड्पिइरहेको छ भन्ने प्रश्नको विम्व थिए उनी।
‘दाइ तपाईको फोन नम्बर चाहियो मलाई।’
‘अघि अनलाइनबाटै आएको भए नम्बर सेभ भइहाल्थ्यो नि, अफलाइन हिँड्छौ अनि...’ यस्तै सोच्दै मैले उनको नम्बर मागें र भनें, ‘भाइको नम्बर सेभ गरेको छु, कतै जागिर पाइएछ भने म आफैं फोन गरौंला।’
मैले उनलाई जागिर दिन सक्ने सम्भावना छैन। खासमा यो मेरो ‘बिजनेस’ होइन। तैपनि यसो भनेर म उनलाई निराश पारिहाल्ने पक्षमा थिइनँ। सायद उनी यसैगरी आफ्नो मोटरसाइकलको पछाडि बसेको व्यक्तिसँग दिनहुँ कुनै न कुनै सम्भावनाको खोजी गरिरहेका होलान्। सपनाको खोजी गरिरहेका होलान्।
पठाओ चढ्दा आइलाग्ने दु:ख अनेक छन्।
कोही राइडरहरु अन्तरमुखी हुन्छन्। चुपचाप आफ्नो गन्तव्यमा पुर्याउँछन् । मोबाइल हेर्यो, भाडा बुझायो। खासै दोहोरो बोलिरहनै पर्दैन। अनलाइनले नै बताउने भएकाले बार्गेनिङ गर्नै परेन।
बहिर्मुखी राइडरको फेला परियो भने बोलेको बोल्यै। पठाओमा चालक र यात्रुबीच ‘प्रोफेसनालिज्म’ भन्ने त छँदै छैन।
हामी प्यासेन्जर पनि उनीहरुलाई उस्तै लाग्न सक्छौं। पठाओ चढ्नासाथ भाइ तिम्रो घर कहाँ हो ? यस्तै–यस्तै सोधिहालिन्छ।
खासमा यसरी अर्काको बारेमा नसोध्नुपर्ने हो। हामी बसमा चालक र सहचालकको घर ठेगाना सोध्दैनौं। सायद, मोटरसाइकलमा टाँसिएर सँगै बसेको हुनाले व्यवसायिक सम्बन्धको बार भत्किएको हो कि?
कतिपय राइडरहरु खासै आफ्नो बारेमा बताउन चाहँदैनन्। पठाओ पो चढेको हो त, थोडै अन्तरवार्ता लिन–दिन चढेको हो र?
छोटो बाटोमा गोरखाली भाइले धेरै कुरा सुनाउन भ्याए। उनको कथामा आम युवाको मनोदशा झल्कन्थ्यो-
‘म गोरखाबाट एसईई गरेर पढ्नका लागि काठमाडौं छिरेको हुँ। १२ पास गरें। यो देशमा बसेर केही पनि कमाइ हुँदैन भन्ने लागेर मैले अष्ट्रेलियाका लागि ट्राई गरें। आएलटीएस गर्दा पैसाको मात्रै नास भयो, आखिर अष्ट्रेलिया जान सकिएन। कन्सल्टेन्सीमा यता र यता गर्दैमा खर्च मात्रै भयो, उपलब्धी भएन। सबै कुरा ठीकै थियो, आएलटीएस पनि गरियो तर ४५ लाखजति बैंक ब्यालेन्स देखाउनुपर्ने रहेछ, म गरीबले कसरी देखाउने? यही कारणले अष्ट्रेलिया जान सकिनँ र अहिले यसरी पठाओ चलाउनुपरेको छ।’
जागरण बुक्सका साहुजी पसलै बन्द गरेर अनामनगरको सम्वाद डबलीमा पुगेका रहेछन्। माओवादी नेता राम कार्कीलाई बोलाएर किताब विमोचन गराउने चटारोमा रहेछन् उनी।
मैले यिनै पृथ्वीनारायण शाहका जिल्लाबासीलाई भनें, ‘ल भाइ, मलाई अनामनगर पुर्याऊ।’
पठाओमा चढेको भएता पनि भाडा अफलाइनबाटै आपसी सहमतिमा मिलाउनुपर्ने अवस्था थियो।
पुतलीसडकमा फेरि जाममा फसियो। गोरखालीको मोटरसाइकलले एकचोटि अगाडिकोलाई हल्का धक्का दियो। अर्कोचोटि पछाडिको मोटरसाइकलले गोरखालीलाई धक्का दियो।
उनी फेरि बोल्न थाले–
‘यो पठाओ चलाएर केही फाइदा छैन। एउटाले ड्याम्म हानिदेला भन्ने डर। अस्ति सर्भिसिङ गर्दा ८ हजार लाग्यो। थोत्रे छ, बिग्रिरहन्छ। ८ हजार कमाउन निकै दिन लाग्छ। यसरी त कसरी जिन्दगी चल्छ र दाइ, एउटा जागिर त खानैपर्यो।’
गोरखालीले यसो भन्दै गर्दा मैले आफ्नो किशोरावस्था सम्झें। गाउँ सम्झें।, गरीबी अनि सपनाहरु सम्झें। अभावमा बाँच्नु परे पनि विदेश जाने सोचाइ कहिल्यै आएन।
अचेलका किशोर किशोरी के भएका ? देशमै बस्ने त सोच्दै सोच्दैनन् बाई। सानोतिनो इलममा ध्यानै जाँदैन । कसरी विदेश जाने र रातारात करोडपति हुने भन्ने मात्रै सोच्छन्।
गोरखाली भाइलाई ‘काउन्सिलिङ’ गर्न खोजें-
‘तिमीहरु जस्ता युवाले देशमै बसेर केही उद्यम गर्नुपर्छ । विदेश गएर केही पनि हुँदैन। तिमी त म्यानेजमेन्ट पढेका रहेछौ, देशमै केही व्यवसाय गरे हुँदैन?’
‘काउन्सिलिङ’ गर्न खोजेको त पठाओ राइडरले उल्टै मलाई पो थर्काए। मलाई लाग्यो– हाम्रो युवा पुस्ताको समस्या गरीबी मात्र होइन, चिन्तनमै छ। शायद सुख भनेको सम्पत्ति त हो नै, सोचाइ पनि हो। यिनको दुःख आर्थिक र मानसिक दुबै रहेछ।
मानिसको जीवनमा किशोरावस्था भनेको असाध्यै तरल हुन्छ। यो उमेर समूहलाई असल बाटो देखाइदिन सक्यो भने उनीहरुले ठूलो प्रगति गर्छन्। तर, खराब बाटो देखायो भने उनीहरु बिग्रन्छन्। सही के हो र गलत के हो भन्ने छुट्याउन नसक्दा यही उमेर समूहबाट मानिसले बाटो बिराउँछ भन्ने मेरो बुझाइ छ।
जब हाम्रा कलेजहरुले मेरोमा पढ्यो भने सीधै विदेशको भिसा लाग्छ र विदेश भासिन पाइन्छ भनेर युवालाई सिकाउँछन्, अनि गोरखाली भाइको सोचाइ किन त्यस्तै नहोस्। मलाई उनको झनै माया लागेर आयो।
हामी पुतलीसडकमै जाममा थियौं। अब उनको लेक्चर शुरु भयो । मैले मोटरसाइकलको पछाडि बसेर सुनें, हाम्रो युवा पुस्ताको कुरो –
‘यो देशमा के व्यवसाय गर्ने ? व्यवसाय गर्ने वातावरण नै छैन। व्यवसाय गर्न पैसा चाहिन्छ। एक करोडजति भयो भने गर्दा हुन्छ। कन्सल्टेन्सी खोल्दा हुन्छ। हाम्रै गोरखाको एकजनाले कन्सल्टेन्सी खोलेर चार वर्षमा गाडी किन्यो, भक्तपुरमा गज्जपको बंगला किनेको छ। एकै वर्ष २ सय जनालाई अष्ट्रेलिया पठाएछ। एकजनाबाट ४/५ लाख रुपैयाँ नाफा हुँदोरहेछ, अनि कति भयो होला दाइ? सोच्नु त। व्यवसाय गर्ने हो भने यसैगरी गर्दा हुन्छ।’
उनको कुरा सुन्दा झोंकै चलेर आयो। उनी कि विदेश जाने कुरो गर्छन्, कि विदेश पठाएर एकजनाबाट ४/५ लाख ठग्ने कुरो गर्छन्। सानो, स्टार्टअप बिजनेसतिर त उनको मनै छैन। हात पठाओको ह्याण्डिलमा छ, मन चाहिँ एकाध महिनामै करोडौं कमाउने उडन्ते आकाशमा छ।
हैन, हाम्रा म्यानेजमेन्टका कलेजले कस्तो नागरिक उत्पादन गरिरहेका छन् हँ यो देशमा ?
जाममा रोकिए पनि यी गोरखाली युवा रोकिने पक्षमा रहेनन्।
व्यवसायसम्बन्धी आफ्नो भिजन बताइसकेपछि उनले अब मेरो अन्तर्वार्ता लिन सुरु गरे। मैले लाचार भएर अर्धसत्य जवाफ दिँदै गएँ –
दाइ कहाँ बस्नुहुन्छ ?
बानेश्वरतिर बस्छु।
घर हो कि डेरा ?
डेरा हो भाइ, घर छैन।
पत्रकार भएको कति वर्ष भयो ?
त्यस्तै, १५–२० वर्षजति भयो होला।
कति वर्षको हुनुभो ?
४५ वर्ष कटियो भाइ।
अनि यत्रो वर्ष पत्रकार हुँदा तपाईले काठमाडौंमा घर बनाउनुभएन?
बनाइएन त हौ भाइ।
हो, यही भएर मैले यो देशमा बसेर केही हुँदैन, विदेश नै जानुपर्छ भनेको हो दाइ मैले। तपाई ४५ वर्ष पुगिसक्नुभएछ। यो उमेरसम्म आइपुग्दा त मान्छेले घरजग्गा पक्कै जोडिसकेको हुनुपर्ने हो।
(बिचरोलाई के थाहा, देशमा भ्रष्टाचार र राजनीतिक बेथितिको अन्त्य नभएसम्म गरीबी र अभावले जीवनको उत्तरार्धसम्मै पछ्याइरहन्छ, पुस्ता–पुस्तासम्म पनि पछ्याउन सक्छ। )
उनी अझै मेरो सम्पत्ति विवरण लिन खोजिरहेका छन्–
पत्रकारिताबाट कमाइ टन्नै हुन्छ होला नि?
जिन्दगी चल्छ भाइ।
उनले फेरि अर्थोपार्जनसम्बन्धी आफ्नै दलालवादी सिद्धान्त अप्लाई गर्न खोजे, ‘पत्रकारै भए पनि त अरु यता–उता गर्दा त कमाइ धेरै हुनुपर्ने हो।’
उनको ‘यता–उता’ मा उही दलाली टाइपको धन्दा झल्कन्थ्यो। यी गोरखालीलाई हाम्रो देशको शिक्षा प्रणाली र समाजले एक होनहार दलाल पुँजीवादको उपभोक्ताका रुपमा उत्पादन गरेछ भन्ने अब म प्रष्ट भएँ। हाम्रा कलेजहरुका उत्पादन यस्तै हुन् त? हाम्रो समाजको उत्पादन यही हो त ?
मोटरसाइकल अगाडि बढेकै छैन, पुतलीसडकमै छ।
युवाहरुलाई जिम्मा लगायो भने मात्र देश बन्छ भन्छन्।मलाई पठाओ राइडरको ‘आर्थिक दृष्टिकोण’ बुझिसकेपछि उनको राजनीतिक दृष्टिकोण पनि बुझ्ने विचार आयो। विदेश जानुको साटो राजनीतिमा अवसर पाए भने यिनले देशका लागि केही गर्लान् कि? बालेन्द्रजस्ता सक्षम युवाले विदेश नगई देशकै सेवा गरिरहेको पनि यिनले देखेकै हुनुपर्छ।
‘मंसिर ४ गते चुनाव आउन लागेको छ, भाइ भोट दिन गोरखा जाने होला नि हैन? पहिलोचोटि भोट हाल्न लागेको हो ? मतदाता नामावलीमा नाम छ कि छैन?’
अब उनी अन्कनाए। भने, ‘मैले नागरिकता उमेर घटाएर बनाएको छु दाइ। लोकसेवा दिँदा फाइदा हुन्छ भनेर उमेर घटाएर नागरिकता बनाएको। त्यसैले भोटर लिष्टमा नाम छैन।’
‘फ्रड’ त यिनको जिन्दगीमा नागरिकता बनाउँदैदेखि शुरु भएको रहेछ। कसले दियो होला यस्तो बुद्धि? अनि फेरि लोकसेवातिर नलागेर किन आइएलटीएसतिर लागेका होलान्?
यस्तै सोच्दै थिएँ। उनले राजनीतिका बारेमा धाराप्रवाह बताउन थाले–
‘यी नेताहरु सबै चोर हुन्। देशमा कुनै सिस्टमै छैन। हेर्नु न काठमाडौंको यातायात व्यवस्था, जाम यस्तो छ। हाम्रो पालिकाको अध्यक्षले करोड जति कमाइसक्यो। राजनीतिमा लाग्दा पो राम्रो कमाइ हुन्छ कि? एउटा बाटो बनाउँदा ५ लाखको बजेट छुट्टियो भने १ को काम गर्छन्, ४ लाख झ्वाम पार्छन्। विश्वका सबैभन्दा धनी नेताहरु नेपालकै होलान्। यो देशमा पैसा पनि टन्नै छ। मेरै मोटरसाइकलको वार्षिक १५ हजारजति ट्याक्स बुझाउनुपर्छ। हाम्रो सरकार धनी छ, तर, ढुकुटी मात्र रित्तो हो। नेताहरुले रित्याएका हुन्।’
जताबाट सोचे पनि उही रातारात धनी हुने कुरा। ‘राजनीतिमा लाग्नुपर्छ कि क्या हो’ भन्दै गर्दा पनि देश बनाउनका लागि, सिस्टम सुधार्नका लागि नभएर रातारात धनी बन्नकै लागि।
अन्ततः गोरखालीको राजनीतिक सिद्धान्त र समझबारे पनि छर्लङ्ग भइयो।
आखिर, युवाहरुको पनि मति भ्रष्ट भइसकेको रहेछ। उमेरमै वृद्ध भइसकेछन् जस्तो लाग्यो।
अर्थशास्त्र, राजनीति र ‘सिस्टम’ को कुरो सुन्दासुन्दै अनामनगर पुगियो। सिस्टमको कुरा गर्ने उनी भाडा लिने बेलामा भने फरक रुपमा प्रस्तुत भए।
पछिल्लो समय प्रहरीले पठाओवाला मोटरसाइकलमा स्ट्याण्ड राख्न नदिने निर्णय गरेसँगै पठाओ चालकले यात्रुसँग मनपरी भाडा असुल्न थालेका छन्। अनलाइनमा नजाने र मिलाएर दिनोस् भन्ने ट्याक्सीवालाकै सिद्धान्त मोटरसाइकलमा पनि सुरु भइसकेको छ।
बंगलादेशीले बनाएको अनलाइन सिस्टम नेपालीका हातमा आइपुग्दा ‘अफलाइन बार्गेनिङ’मा परिणत भएको छ।
तथापि, प्रश्न जनताको करबाट पालिएका नेतातिरै सोझिन्छ– जनतामाथि शासन गरिरहेका तिमीहरुको चुनावी घोषणापत्रमा यी गोरखाली किशोरको समस्या कसरी समेटिन्छ? यी किशोरको आर्थिक र मानसिक उपचार कसरी हुन्छ?
Shares
प्रतिक्रिया