जापानमा साकुराको समय सुरु हुँदैछ। ढकमक्क फुलेका साकुराले नागोया चिटिक्क सजिँदैछ। भाषा स्कुलको शिक्षकको भनाइअनुसार मार्च सकिने र अप्रिल सुरु हुने समय अर्थात् जाडो सकिने र गर्मी सुरु हुने समयमा साकुराले आफ्नो रङ भर्छ। जुन रङ नदेख्दै म यो सहर छोडेर जाँदैछु। अर्थात् नागोयाको झण्डै एक वर्षको बसाइ आजबाट टुंगो लाग्दैछ।
मान्छेलाई जहाँ बस्यो, जहाँ खेल्यो, जहाँ समयसँगै हिँड्यो, हो त्यही ठाउँ मन पर्दै पर्दै जाने रहेछ। नागोयामा पनि मेरा केही पखेटाहरू हुर्किएका छन्। केही थोपा पसिनाहरू खसेका छन्। मैले केही नुनिला आँसु पिएको माटो पनि यहीँ हो। सुरुवातमा कति महत्त्वपूर्ण दिनहरू यहाँ बितेका छन्। आएको १ वर्षमै नागोया छोड्दै गर्दा यहाँको माया झन् बढेका् छ।
यहाँ रहँदा केही सिकेँ। यो बसाइ कति चाँडै सकिएछ जस्तो लाग्दैछ। सजिलाभन्दा धेरै जटिलताहरुबाट म गुज्रिएँ।
यहाँ पढाइ र काम सँगै गर्नुपर्छ। पढाइको कारणले काम छुटे पनि कामको कारणले पढाइ छुटाउनु हुँदैन। मैले यो अवधिमा सकेसम्म कुनै पनि कक्षा छुटाइनँ। तर कोरोनाको समयमा भने एउटै होस्टेलमा बस्ने साथीलाई कोरोना पोजिटिभ भएपछि हामीलाई पनि क्वारेन्टिन राखियो। कोरोना भएको साथी र हामीलाई स्कुलले एउटै ट्वाइलेट, बाथरुम प्रयोग गराएर जोखिममा राख्यो। उसलाई छुट्टै क्वारेन्टिनमा नराख्दासम्म निकै डराएर बस्नुप¥यो। जसको कारण अनलाइन क्लास सुरु हुनुअघिका २ वटा क्लास छुटे।
यहाँ आएपछि अब पढ्नुपर्छ भन्ने भावना थियो। त्योभन्दा ठूलो कुरा स्कुलको हाजिरी लाग्यो। स्कुलको हाजिरीले भिसा नवीकरणसँग सरोकार राख्छ। त्यतिबेला गयल भएको हाजिरी फेरि सच्याइएन। यो कुराले भने अहिले पनि दुःख लाग्छ।
यहाँको प्रावधान अनुसार विद्यार्थीले २८ घण्टा मात्रै काम गर्न पाइन्छ। तर कानुन विपरीत त्यो भन्दा धेरै काम गर्ने र पढाइको वास्ता नगर्ने साथीहरू पनि प्रहस्त भेटिन्छन्।
कक्षाकोठामा पढाइभन्दा धेरै ध्यान कसको तलब कति आयो भन्ने विषयमा बहस र छलफल चल्छ। रातभरि काम गरेर दिउँसो कक्षाकोठामै झोला र किताबहरू सिरानीमा राखेर सुत्नेहरु पनि हुन्छन्। तर मैले यो अवधिमा नियमअनुसार २४ घण्टा मात्रै काम गरेँ। कामको कारणले पढाइमा कुनै बाधा महसुस भएन।
तर सुरुवाती दिनहरूमा मलाई निकै कठिन भयो। राम्रो साथी र गाइड गर्ने राम्रो मान्छे नहुँदा म निकै समय अल्झनु परेको हो जस्तो लाग्छ।
नेपालबाट नागोया पुगेको समय साइकल र कोठाको चाबी शिक्षकले हातमा थमाइदिएपछि सुरु भएको संघर्ष अविस्मरणीय छ। यातायातको साधनका रुपमा साइकलको प्रयोग नै अत्यधिक हुने रहेछ, जापानमा। त्यसैले हाम्रो होस्टेल स्कुलबाट अलिक टाढा थियो। झण्डै २५ मिनेट लाग्थ्यो साइकलमा स्कुल पुग्न। साइकल नसिकेको हुनाले मैले दुःख पाएँ। त्यसैले अब आउने सबै साथीहरूलाई मेरो आग्रह छ, साइकल चलाउन सक्ने भएर आउनुहोला।
एक वर्षको अवधिमा नराम्रोभन्दा राम्रो पक्ष चाहिँ धेरै छन्। यहाँका शिक्षकको भाषा सिकाउने शैली एकदमै रमाइलो छ। सरल रूपमा भाषा सिकाइन्छ। अति सामान्य उदाहरण दिएर, सामान्यभन्दा सामान्य मान्छेले पनि बुझ्नसक्ने गरी शिक्षकले जापानी भाषा सिकाउनुभयो।
बच्चा हुँदा घरमा परिवारको डरले सुगारटाइ गरेका क्षण र यहाँको भाषा स्कुलमा रहेर पढेको अनुभवमा आकास–पातालकै भिन्नता देखेँ। त्यो बेला शिक्षकहरू लठ्ठी बोकेर कक्षाकोठा छिरेका र गणित पढाउने शिक्षकले त हातमा भएको मार्कर, डस्टर, कलम जे पायो त्यसैले हान्ने गरेकोले आँखा समेत नझिम्काइ ह्वाइट बोर्डतिर हेर्नुपरेका दिनहरु पनि सम्झिएँ। उतिबेला छडी र डस्टरको उल्टोपट्टिबाट कुटाइ खाएर धेरै कुरा सिक्नुपर्दाको दुःख थियो। यहाँ सबै सिकाउने शैली भिन्न छ। भाषा स्कुलको अवधि सकिए पनि जापान रहँदासम्म भाषा सिक्नु त छँदैछ। यसै पनि सिकाइ कहिले पो सकिन्छ र?
भाषा स्कुल पढ्दा शिक्षकले एकचोटि घुमाउन लगेका थिए। गिफुको पहाडमा रहेको एउटा गुफा हेर्न हामी गएका थियौं। त्यो जंगलहरूमा यात्रा गर्दा मैले नेपाल सम्झिएँ।
जापानका केही भूपरिवेष्ठित प्रान्तहरू मध्ये गिफु एक भएको मैले कतै पढेकी थिएँ। यी साँघुरा बाटा र नेपालकै जस्ता जंगल होलान् भनेर मैले सोचेकी थिइनँ। साँघुरा बाटा। हरियाली र ठूलो जंगल। त्यस्तो विकट ठाउलाइ पर्यटकीय स्थलको रुपमा चिनाइएको छ। जापानबाट हामीले कतिधेरै सिक्नुपर्ने छ, जस्तो लाग्छ, यस्तो देख्दा।
सुरुवाती दिनहरूमा यहाँ भाषाका कारणले, प्रविधिमा अभ्यस्त नहुँदा परेका अप्ठ्यारा र बानी नपरेकाले टन्न अघाउनेगरी बिहानबेलुका दाल र भात खान नसक्नुले केही अप्ठ्यारो भोग्नुपर्यो।
मैले एकचोटि लोकल र एक्सप्रेसको खान्जी चिन्न नसक्दा र गुगल म्याप नहेरी यात्रा गर्दा दुःख पाएँ। लोकल ठानेर चढेको ट्रेन एक्स्प्रेस पर्दा कुनै अन्जान ठाउँमा ओर्लनुपरेका घटना पनि सम्झनामा छ। एकचोटि काममा जाँदै गर्दा पुग्नुपर्ने ठाउँभन्दा एक स्टेसन अगाडि गएर फर्कनुपर्दा धन्न काम छुटेन। यी घटनापछि थाहा पाएँ, थोरै मात्र पनि गल्ती गर्दा परदेशमा ठूलो दुःख पाइन्छ। यही कारण कतै यात्रामा निस्कँदा हरेक पल चनाखो हुनुपर्छ भन्ने सिकें, र म्याप हेरेर मात्रै यात्रा गर्नुपर्छ भन्ने थाहा पाए।
आएको झन्डै १ महिनापछि म्याकडोनाल्डमा काम गर्न थालेकी थिएँ। काम खोजिदिन रमा दिदीले निकै सघाउनु भयो। कहिलेकाहीँ अप्ठ्यारो पर्दा र आत्तिएका बेला किसन दाइले हिम्मत र हौसला भर्नुभयो।
मिठो मुस्कान, उज्यालो मन, सफा हृदय र सहयोगी व्यवहार भएका नेपाली देख्दा साँच्चिकै खुसी लाग्छ। यो टाढाको मुलुकमा नेपाली भएपछि गत वर्षको दशैँ नरमाइलो भएन। यति मात्रै होइन। सुरुवाती दिनमा अन्योलमा हुँदा बाटो देखाउनु भयो। यो बिरानो मुलुकमा असल मान्छे निकै कम भेटिन्छन्।
काम गर्ने ठाउँमा दयालु जापानी भेटेँ। उनीहरूले समस्या बुझे। झर्को नमानी सहयोग गरे। काम सिकाए। काम गर्दागर्दै मैले धेरै कुरा अनुभव गरेँ। कामले केही भाषा सिक्न पनि सजिलो भयो।
एक वर्ष लामो बसाइमा जापानीहरुको अनुशासन देखेर केही सिकियो पनि। त्यहीमध्ये एक हो विनम्रता। ट्रेनमा होस् या त बाटोमा कतै हल्ला नगर्ने र अरुलाई असाध्यै सम्मान गर्ने असल जापानीहरु देखेँ।
हुन त धेरै थाहा पाउन बाँकी छ। तर सँगै काम गर्दा जापानी साथीहरूबाट जापानको संस्कृति, परम्परा, रहनसहन र विकास बारे केही जापानी र केही अंग्रेजीमा बुझेँ।
झण्डै ६ महिना अघिदेखि काम परिवर्तन गरेर खाना प्याक गर्ने ठाउँमा काम गरिरहँदा झन् रमाइलो भयो।
बिहानीको मधुरो घामसँगै सिरसिर चलेको चिसो हावाको कुनै प्रवाह नगरी साइकल कुदाउँदै कामबाट आउनु, एकछिन सुत्नु र कलेज जानु व्यस्त दैनिकी रह्यो।
नागोया साँच्चिकै सुनसान छ। कहिलेकाहीँ हामी साथीसाथीबीच रमाइलो गर्छौँ। चिटिक्क सफा र कोलाहलमुक्त सहरमा कुकुरहरु पनि कत्ति अनुशासित है भन्दै ठट्टा गर्छौँ। पछिल्लो समय सँगसँगसँगै काममा जाने साथी रिमा, अनिता, एल्जिना दिदी र शान्ति दिदीसँग पनि छुट्दै छु। नरमाइलो महसुस भएको छ।
नागोयाका सडकमा निकै कम मान्छे हिँड्छन्। यहाँ हेरी टोकियो भिडभाड हुन्छ। अब म उताको लागि तयार हुँदैछु। अब झन् बढी जिम्मेवारी थपिएको जस्तो महसुस हुँदैछ।
नागोयाका रेस्टुरेन्टहरुमा र मार्टहरुमा प्रशस्तै नेपाली भेट हुन्थे। हुन त टोकियोमा पनि नेपाली समुदायको बाक्लै उपस्थिति छ।
यो एकवर्षको नागोया बसाइबाट समय, मेहनत र कामप्रतिको सम्मानको राम्रो अनुभव भएको छ। यो अनुभव र सिकाइ टोकियोमा पनि काम लाग्नेछ। अझै धेरै सिक्ने उत्सुकता बढेको छ। सुरुवाती दिनमा कयौं दिन एक्लै रुँदै हिँडेका यी बाटाहरुले साँच्चिकै बलियो बनाएका छन्।
बितिसकेको समयसँग गुनासो छैन। कतै सार्थक भयो, कतै सिकाइ भयो। बाँकी दिनमा अझ धेरै सिकाइ हुनेछ। कर्म गरेपछि फल त अवश्य मिल्नेछ। मन सन्तुष्ट नभए पनि केही खुसी छ।
Shares
प्रतिक्रिया