यो समाजमा छोरी मान्छेहरु हृदयमा दुःखको एउटा खत बोकेर मुस्कुराइरहन्छन् प्रायः। छोरीहरुको ओठमा देखिएको त्यो मुस्कान पनि आफ्ना लागि हुँदैन, आफ्नाका लागि हुन्छ। तर कसले बुझेको हुन्छ, ओठको मुस्कानमा उनीहरुले चेपेर हिँडेको दुःखको पहाड? फेरि पनि आफ्नैले दिएका चोट पनि चपाएर मुस्कुराइ रहेकी एउटी छोरीलाई यो समाजले हेर्ने नजरिया साह्रै घिनलाग्दो छ।
समाजले महिलालाई गर्ने बदनामीको फेहरिस्त हेर्न धेरै पर पुग्नु पर्दैन। केही साताअघि मात्रै अमेरिकामा आत्महत्या गरेका कृष्ण लामिछानेकी श्रीमतीले भोगेको बदनामी हेरे पुग्छ। कृष्णको आत्महत्यासँगै सामाजिक सञ्जालमा एउटा अडिओ भाइरल भयो, जुन अडिओमा उनकी श्रीमती माला र उनका छोरीहरुले श्रीमानलाई गाली गरिरहेका थिए। त्यसपछि यो समाजले मालालाई लगभग कृष्णको हत्यारा साबित गर्यो। माला मौन रहिन् र आँसु बगाइरहिन् श्रीमानको मृत्युमा।
श्रीमानको अन्तिम संस्कारमा झरेका मालाका आँसुमा नाटक देख्ने हाम्रो समाजले चित्कारमा पनि जोगाएर गाँठो पारेको श्रीमानको इज्जतको पोको देखेन। हिजोआज मालाले वर्षौंदेखि गाँठो पारेर राखेका तिनै चित्कारका फोकाहरु बिस्तारै फुस्कँदै गएका छन्। समाज रमिता हेरेर बसेको छ। यो समय पनि मालाको मनमा कुन हुण्डरी चलिरहेको होला कसैले हेक्का राखेका छैनन्। समाजले अर्को बहस सुरु गरेको छ कृष्णका नाममा। त्यो बहसले मालाको टुटेको हृदयमा कुन तहको चोट थपिरहेको छ कसैले हेक्का राखेका छैनन्।
हिजोआज सार्वजनिक भैरहेका अडिओ सुन्छु र हृदयको चित्कार निकाल्छु। बेलामा नबोलेको बोलीले हामीलाई कति धेरै घाउ दिएको रहेछ? आफैँसँग प्रश्न गर्छु। हामीमाथि अपराध गरिरहने मान्छेप्रति विभिन्न साइनोमा प्रेम गरेर आफैँलाई चोट दिने छोरीको जात देखेर बेला–बेला आफैँलाई धिक्कार्छु। मालाले आफैँमाथि अपराध गरिरहेका कृष्णलाई आजसम्म प्रेमले जतन गरेर राखेको देखेर म आफ्नै विगतमा पुग्छु, सुटुक्क निल्छु आँसुको घुट्को। म मनमनै भन्छु, ‘माला दिदी, हामी त हाम्रा अपराधीको प्रेम पनि छातीमा बोकी हिँड्ने रहेछौँ।’
वर्षौंदेखि मालाको जीवनमाथि अपराध गरिरहेका कृष्णका अपराधको फेहरिस्त उनी जीवित रहँदासम्म मालाले आफ्नो छातीमा गाँठो पारेर राखिन्। यो गाँठोले उनको छातीमा बिझाएको, पाछेको, पकाएको, पीप बहाएको कसैले मेसो पाएनन्। उनले यो दुखाइमा दुख्यो भनेर चिच्याउन सकिनन्। त्यही सहेको बदला उनले झण्डै हत्याराको बिल्ला भिर्नु पर्यो। मलाई यो घटनापछि बेलामा बोल्न नसकेका कयौं घटनाले विक्षिप्त बनायो। लगभग केही समय मेरो चेतनाशून्य भयो। म एकतमासले आफैँभित्र चिच्याइरहेँ।
जिन्दगी भर्खर फक्रिन लागेको बेला निमोठिनुको चोट छातीमा बोकेर हिँड्दा पनि मुस्कुराइरहने मेरा ओठ धेरैका प्रशंसाका कारक हुन्। तर हिजोआज मलाई मेरा ओठ मन पर्न छाडेका छन्। यिनै ओठले हो ममाथि अपराध गर्ने अपराधीको माया छातीमै गाँठो पारेर राखेको।
कुनै दिन मेरा श्रीमान थिए, मेरो घर थियो, मेरा परिवार थिए। मैले हरेक साइनो अनुसारको भूमिका निर्वाह गरेँ। तर, त्यो मेरो विगत थियो। जीवनको दशक बढी समय मैले मेरो विगतलाई पाठको रुपमा लिएँ र जीवनसँग संघर्ष गरेँ। घाउ दिनेहरुका बारेमा नराम्रोको ‘न’ उच्चारण गरिनँ। समाजले मलाई महान कहलाएको छ। तर यो समाजलाई थाहा छैन, मेरा श्रीमानले मेरो यौनांगमा छिराएको गिलास र बोत्तलको डाम। त्यो डामले मलाई वर्षौंसम्म दिएको पीडा। त्यो पीडा लुकाउन मैले गरेको कडा मेहनत। समाजले त केवल देखिरह्यो मुस्किलले निस्किएको ओठको मुस्कुराहट।
मलाई ममाथि भएको ज्यादती आफ्नै आमाको अंगालोमा बेरिएर भन्ने आँट आएन। आफ्नै पिताको काँधमा दुखाइको आँसु झार्ने साहस आएन। जीवनका सबैसबै कुरा देखाएर हाँस्ने, रुने बहिनीलाई सिसाले काटिएको योनीको घाउ देखाएर उपचार गर्न हिँड्न भन्न सकिनँ। मलाई सधैँभरी लागिरह्यो, ‘त्यो मान्छेलाई प्रकृतिले नै ठगेर पठायो, उसको के दोष?’ आज पनि हृदयको कुनै एक कुनामा ‘उसको के दोष’ सहितको प्रेमको भारी छ। यो भारी मैले अक्षरमा समेत बिसाउन नसकेकोमा हिजोआज आफैँप्रति हीनताबोध हुन्छ।
यो हीनताबोध मेरो जीवनमा कहिले डर भएर निस्सासियो। कहिले आफैंलाई आदर्श ठानेर आफ्ना आवश्यकतालाई कुण्ठित बनायो। कहिले एक्लै हिँड्ने एकलकाँटे बनायो। कहिले काम गर्नै नसक्ने गरी मुटु कमायो र आफ्नै जीवनप्रति अन्याय गर्नेकाप्रति गरिरहेको प्रेमको मूल्य चुकाइरह्यो।
यो समाज आज पनि मलाई ‘तिमी त फलानोले छोडेकी केटी होइनौं’ भनेर प्रश्न गर्छ। म उनीहरुसँग मैले चाहिँ उसलाई छोडेको हुँ भनेर विवाद गर्दिनँ। जवाफमा फिस्स मुस्कुराउँछु, कहिले आँखाभरी आँसु पार्छु, हिँडिदिन्छु। यहाँ पनि त म आफैँमाथि अपराध गरिरहेकी रहेछु। मेरो जीवनमाथि क–कसले अपराध गरेनन्। म कयौँपटक आफ्नै पितालाई पनि मेरो जीवनको अपराधी ठान्छु। तर मैले यो महसुस पनि मेरै छातीमा गाँठो पारेर राखेकी छु, बिझाउँला बुबालाई भनेर। म आफैंलाई विश्वस्त तुल्याउँछु, ‘त्यो मेरा बाको कर्तव्य थियो।’ र बहुत प्रेम गर्छु बुबालाई। मलाई मैले निलिआएको आगोको डाहभन्दा बुबालाई दुख्ला भन्ने पीडाले माथि थिचेको छ।
यौन सम्बन्ध स्थापित गर्नै नसक्ने अक्षम आफ्नो छोरासँग विवाह गराइदिएर नातिनातिनाको आश गर्ने मेरा ससुरा त मेरो जीवनको पानामा जहिले एक सोझा व्यक्ति भएर बाँचिरहे। त्यो घरमा हुँदा ममाथि देखाएको करुणाले नै उनीहरुका सबै अपराध छोपिदिएँ मैले। मलाई उतिबेलै थाहा थियो उनीहरुलाई छली विवाहको मुद्दा लाग्छ। तर जोडिदिएँ आफ्नै भाग्यसँग र चुपचाप छोडेर हिँडे कानुनले दिने अंशको हक पनि। त्यसको बदलामा मैले कयौँ छाक भोकै बिताएको यो काठमाडौं एउटा अँध्यारो कोठाबाहेक अरु कोही साक्षी छैन। मैले आजसम्म पनि मेरै बालाई भनिनँ, ‘बा मैले यति अभावको बाटो यसरी छिचोले यहाँसम्म?’ मलाई यत्ति लेख्ने हिम्मत जुटाउन बहुत वर्ष मनमा गाँठो बोकेर हिँड्नु पर्यो।
मलाईजस्तै माला दिदी, तपाईंलाई पनि त्यही ममताको त्यान्द्रोले बाँधिराख्यो होला यतिका वर्ष! कहिलेकाहीँ साइनो बोकेर, कहिलेकाहीँ साइनोबिनै सपना बोकेर आउनेहरुले कति कति अपराध गरिहिँडे हामीमाथि। हामीले ती सबै अपराधीलाई बोकिहिँडेका छौँ हृदयमा। औँला उठाउन सक्दैनौं उनीहरुमाथि। ‘दुखाउनेहरुका नाममा पनि सुस्केरा मिसाएर सन्देश लेख्छु र सोच्छु उसम्म पुग्दा यो गीत बनी पुगोस्। मेरो यही हृदयको कमजोरीको फाइदा कति उठायो होला मेरो प्रेमीले? उस्तै अपराध गरिहिँड्ने मनोबल कति कति बढेर गयो होला उसँग, मैसँग झैं अर्को मान्छेमाथि उस्तै अपराध कति गर्यो होला?
सोच्छु, ममाथि अपराध गरिहिँडेको मेरो प्रेमी मैले प्रेम गरेर छाडिदिएकै कारण अर्कोमाथि उस्तै अपराध गरोस्। अहँ! अब त उसले गर्ने अपराधको भारी मैले पनि बोक्नु पर्छ, त्यसैले उसमाथि औँला उठाउनु पर्छ।’ हामीले यस्तै सोचेर पनि कति समय मौन राख्यौं आफूलाई र आदर्शवान बनायौं। तर यो आदर्शको के अर्थ, जसले हृदयमा चोट दिएको छ। सुस्केरा दिएको छ। तर हामीले कहिले प्रश्न गरेनौं आफैंलाई, र प्रेमका नाममा जतनले हृदयमा बोकी हिँड्यौं आफ्नै अपराधीलाई।
हुन त अपराध गर्नेहरुका बारेमा बोलेपछि छोरीले सहज बाँच्न पाउने समाज होइन यो। यहाँ छोरीहरुलाई छुट छैन आफूमाथि भएका अन्यायका विरुद्धमा बोल्ने र बोल्न खोज्नेहरुका गला निमोठेर मरेकाहरुका नाममा दीप प्रज्वलित गर्ने समाज हो यो। मलाई यो समाजसँग भरोसा छैन। यसका प्रशस्तै उदाहरण हाम्रैवरिपरि छन्। अपराधीले पाएको हाइहाइ र पीडितले पाएको घृणाको आगो हेर्दै हुँर्कदै छ मेरो बहिनी पुस्ता। तर, भरोसा गर्दैन समाजले भनेर आफैँ आफ्नो अपराधी भएर बाँच्ने छुट मेरो बहिनी पुस्तालाई छैन। म बेलाबेला आफ्ना जीवनका यावत अनुभूति यसकारण लेखिरहेकी हुन्छु, मेरा बहिनी पुस्तालाई लागोस्, ‘बेलैमा बोल्नु पर्ने रहेछ, अन्यथा कहानी बन्दै सकिने रहेछ आफ्नै जिन्दगीको घाउ र आँसु पनि।’
Shares
प्रतिक्रिया