गत कात्तिकमा नेपाल कहिले फर्कनुहुन्छ भन्ने प्रश्नमा डाक्टर लुसन चालिसेले भनेका थिए, `काम गर्ने वातावरण भयो भने म भोलि नै देश फर्कन तयार छु।´
एकछिन गहिरिएर सोचेकी थिएँ मैले। त्यो कुरा यत्तिकै बिर्सन सकिएको रहेनछ। दिमागमा त्यही वाक्य खेलिरहेको छ, अहिले पनि। डा. लुसन जापानमा ब्रेन क्यान्सरका सफल सर्जनको रुपमा चिनिन्छन्।
उनको मात्रै होइन। म र हामी अधिकांश युवाहरूको सोच सायद यस्तै हुन्छ। भोक, प्यास, आराम र निन्द्रा त्यागेर अर्काको देशलाई अझ विकसित बनाउन कसलाई चाहना छ र? वातावरण बनेको भए आफ्नो जोस, जाँगर परदेशमा होइन, स्वदेशमै प्रयोग गर्ने चाहना कसको छैन र?
कहिलेकाहीँ गम्भीर भएर आफैंलाई प्रश्न सोध्छु। मैले मेरो देशको लागि के गरेँ? मेरो व्यक्तिगत सोच र आचरणका कारण देशलाई के हित भएको छ? वास्तवमै मैले के गर्नु पर्थ्यो, के गरेँ?
विडम्बना देशलाई चौबाटोको भिखारीजस्तो बनाइएको छ।
नेपाल लाखौ संख्यामा युवालाई संसारको विभिन्न देशहरुमा निर्यात गर्ने मुलुकका रुपमा चिनिन थालेको छ। तीमध्ये सबैभन्दा धेरै संख्या खाडीमा गएका छन्। अलि खर्च गर्न सक्ने युवाहरुलाई पश्चिमी मुलुकहरुमा निर्यात गरेको छ।
बेरोजगारीले सगरमाथाको उचाइ नाघेको अवस्था छ। ननाघोस् पनि किन? देशभित्र न ठूला कम्पनी छन्। न उद्योग। उपलब्धिको रुपमा केवल पासपोर्ट उत्पादन भएको छ। आम्दानीको नाममा रेमिट्यान्सको मात्रै भर पर्ने अवस्था छ।
कहिलेकाहीँ आफ्नै बाल्यकालतिर फर्किएर सोचमग्न हुन्छु। जतिबेला देश, काल र परिस्थिति बुझिएको थिएन। त्यतिबेला त लाग्थ्यो, आफ्नो क्षमता भयो भने सबथोक नेपालमै गर्न सकिन्छ। तर खै के गर्न सकियो र?
आफ्नै सुनौला सपना सम्झेर म कयौंपटक भक्कानिएकी छु। बोलीमा जस्तो व्यवहारमा देश प्रेम बोकेर हिँडेका मुटुहरु साँच्चिकै छन्? अनि वर्तमान हेर्छु र महसुस गर्छु। वास्तवमा देशको माया छैन। देश बेच्ने लडाइँमा होमिएकाहरुको जमात पो ठूलो रहेछ।
कर्णालीमा कयौँ बालबालिकाहरू नियमित आहारको अभावका कारण कुपोषणले मरिरहेका घटना सुनिन्छ। कयौं सुत्केरी महिलाले समयमै अस्पताल पुग्न नपाएर मृत्युवरण गरेका छन्। हरेक दिन बालिकाहरूका साथै विभिन्न उमेर समूहका महिलाहरू बलात्कृत भइरहेका तथ्यांक सार्वजनिक भइरहन्छन्। कहिले दलितको नाममा, कहिले बोक्सीको नाममा त कहिले दाइजो नल्याएको नाममा अमानवीय व्यवहार भइरहेको छ। कानुन कहाँ बन्धक छ कुन्नि? अपराधी निरन्तर उम्किरहन्छ।
सामान्य ज्वरो तथा झाडापखालामा प्रयोग गरिने जीवनजलसम्म नपाउने जस्ता साधारण कारणले मृत्युवरण गर्नु्पर्ने विवशता उस्तै छन् अझै।
अनलाइन, टेलिभिजन, पत्रपत्रिकातिर आशा जगाउने समाचार भेटिँदैन। नेताहरूले एकअर्कालाई दोष लगाएर, झुट बोलेर जनतालाई भ्रमित बनाइरहेका देखिन्छ।
देश कहालिलाग्दो ढंगले कङ्गाल बन्दै जाँदा पनि राजनीतिक खिचातानी, कुर्सी मोह र तँछाडमछाड भइरहेको हेरिरहनबाहेक खै के पो गर्न सकियो र?
वैदेशिक व्यापार घाटामा छ। बाँझो जमिन छ। कतै खेती गरिएको र परिश्रमले उब्जाएको तरकारी बेच्न नपाएर भौँतारिएका किसान छन्। अन्यायमा परेकाहरुले पैसा र पावर नहुँदासम्म न्याय नपाउने निराशाजनक अवस्था छ। ठूला भ्रष्टाचारीहरुलाई राजनीतिक संरक्षण छ। त्यसैले नेपालमा न्याय मरिरहेको छ। दण्डहीनता मौलाएको छ।
यता दोश्रो विश्वयुद्धले ढलेको जापान दस वर्षमा यसरी बलियो भएर उभिएको ज्युँदो इतिहास देख्छु। उता प्रजातन्त्र आएको तीसौँ वर्ष र गणतन्त्रको यत्रो वर्षमा नेपालले एउटा स्थिर बाटो समेत समातेको छैन।
आशा निराशामा बदलिन बेर लाग्दैन।
Shares
प्रतिक्रिया