छेउमा बसेकी गायिका शान्तिश्री परियार सुँकसुँकाइ रहिन्। उनी बेलाबेला मेरो छातीमा मुन्टो राखेर घुँक्कघुँक्क गर्थिन्। म उनको कपाल मुसार्दै चुपचाप आँसु झारिरहेकी थिएँ।
आफूलाई सम्हाल्न खोज्थेँ। कोमल संवेदना छोपेर बलियो देखाउनु छ हामीलाई। म पनि छोप्न त खोज्छु। रुवाइ बाहिर निस्कियो भने लाज हुन्छ। लाज पनि छोप्नु थियो। तर, भित्रैबाट फुटेको हिक्काले हल्लिन्थ्यो बसिरहेको कुर्सी। मेरो दायाँपट्टि बसेकी संगीता पुलुक्क मलाई हेर्छे। म शान्तितिर फर्किन्छु। उनीसँगै मिसिन्छ मेरो भक्कानो पनि र एउटै भएर हलमा हराउँछ।
सपना बोकेर देश छाडेका युवा मृत्युको सन्त्रासबाट फुत्किएर देश आइपुग्दा काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलमा देखिएको भावुक दृश्यले भारी भैरहेको मनको गाँठो ‘परदेशी २’ को कथाले पोया पोया फुकायो। नरायण रायमाझीले निर्देशन गरेको यो फिल्ममा ती युवाको कथा भनिएको छ, जो सपनाको उडान भर्दाभर्दै विदेशमै विलय हुन्छन्। जसरी अस्ति भर्खरै १० युवा विलय भए इजरायलको माटोमा। देशको अवस्था परिवर्तनका लागि जीवन सम्पिएका सुवास नेम्वाङको सासले मात्रै होइन, लासले पनि चार दिनसम्म कुरिबस्यो सन्तानको बाटो। कथा त सन्तानको बाटो हेरिबस्ने यस्तै बाबुआमाको पनि हो।
कलाकारको अभिनयले भन्दा ज्यादा कथाले घोचिरहन्छ, चिमोटिरहन्छ अनि भक्कानो फुट्छ। सपना खोज्न पखेटा हालेको संस्कार (प्रकाश सपुत) दसैँमा आफ्नै हातले निधार भर्छन् र सेल्फी खिचिपठाउँछन् आमालाई। आमा खुसी हुँदै भन्छिन्, ‘बाबुले टीका लगाइसकेछ उता परदेशमा।’
छोरो बाथरुममा पस्छ, निधार पखाल्छ र डाँको छोडेर रुन्छ। म आफैंले आमालाई भोकै भएको दिन चाहिँ ‘आज मासु भात खाएँ’ भनेको सम्झन्छु। घर छोडेर हिँडेपछि देशै पनि परदेश भैहाल्दो रहेछ। सपना, जिम्मेवारी वा बाध्यता खै के–के कुराले बाँधिराख्दो रहेछ सहरले पनि। गाउँ फर्किन, बा–आमासँगै बस्न कहिले अवसरले, कहिले कर्तव्यले, कहिले अभावले दिँदैन। त्यही बाध्यताको कथा पर्दामा हेर्दै गर्दा मिसिन्छ आफ्नै जिन्दगीको कयौं अनुभव र पलिन्छ हृदयको कुना।
थुप्रै रंगीन सपना बोकेर घर छोडेको युवाको अन्ततः घर फर्किने सपना सबैभन्दा ठूलो भैदिन्छ। घर फर्किन मन हुनु, अझ भनौं जरुरी हुनु। तर फर्किन सक्ने अवस्था नहुनु। अहो, कति पटक टुट्छ होला मान्छे? म्युजिक भिडियो मेकिङमा अब्बल ठानिएका प्रकाश सपुत दर्शकलाई यो महसुस गराउन सफल छन्। बाटो हेरिरहने एउटी प्रेमिका, टुट्दा पनि जिम्मेवारी नभुल्ने डाक्टर, संस्कृति (केकी अधिकारी) का आँखाबाट झर्ने आँसुसँगै कयौं पटक मैले अस्वाभाविक बनाएँ आफ्नो हृदयको गतिलाई। बेलाबेला झुल्किने देबेन्द्र बब्लुले आँसुको बाटो मोडिदिन्छन् र मात्रै नभए हलभरि सुनिन्थ्यो सुक्सुकाहट।
लुजा (वर्षा शिवाकोटी) प्रेम पोख्छिन् र मन लुट्छिन्। कसैलाई भिलेनका रुपमा प्रस्तुत नगरिएको फिल्ममा सबैभन्दा सकारात्मक उनै देखिन्छिन्। कसैले नकारात्मक भूमिका निर्वाह नगर्दा पनि सकारात्मक केही हुँदैन। सबैभन्दा ठूलो कुरा समय हो भन्ने पाठ मज्जाले सिकाउँछ फिल्मले।
साथी, प्रेम, समर्पण, सहयोग र परिवार यो सबै कुरा पछिल्लो समय मानिसबाट खोसिँदै गएको छ। खोसेको पनि उही सपनाले हो। त्यही कुराको स्मरण गराउन मात्रै रमेश बिजी लेखकका रुपमा आएका छन्। अन्यथा यो कथा होइन वास्तविकता हो, यो समयको।
हलबाट बाहिरिँदै गर्दा छपक्क भिजेका आँखा लिएर पर्खिरहेका थिए रमेश बिजी। दाइलाई देखेपछि भक्कानिरहेको मन थाम्न सकिनँ। दाइको अँगालोमा जोडले रोएँ। अस्वाभाविक रुपमा धड्किरहेको दाइको मुटुको चाल स्वाभाविक हुन कति समय लाग्यो मलाई छैन। सायद सम्हालिन गाह्रो भयो, अनि उहाँले लेख्नु भयो ‘मैले कथा हैन व्यथा लेखेको हो। यति धेरै माया भगवान म हृदयभरि सम्हाल्न सकूँ!’
अघिल्लो साँझ के–के दौडधुपले घर फर्किन अबेला भयो। झण्डै रातको १२ बजे बल्ल फेसबुक खोल्न भ्याएँ। नारायण दाइको म्यासेज आइरहेको रहेछ, ‘बहिनी भोलि बिहान ८ बजे फिल्म हेर्न आउन भ्याउनु हुन्छ?’ हामी दाजु–बहिनीको भ्याउने र नभ्याउनुबीचको लुकामारी केही दिनदेखि चलिरहेको थियो। मेरो अवस्थाले भन्नु पर्दा ‘म भ्याउँदिनँ दाइ’ भन्ने थियो। अवस्थालाई मनले किचेर माथि आउन दिएन। मैले ‘म आउँछु’ भनेँ। म थुप्रै पटक रोएको छु दाइको आडमा बसेर। यसपटक दाइको काँधमा रोएँ र हलबाट फर्किएँ।
बानेश्वरबाट थापाथलीसम्म आउँदा पनि खै के–के आइरह्यो मनभरि। संगीताले स्कुटी हाँकेकी छ। मेरो हिक्का रोकिएकै थिएन। मन भारी भैरहेको थियो। रोक्न खोज्दा पनि आँसु बरर... खसिरहे। संगीताले स्कुटरको ग्लासमा देख्ली भनेर मैले मुन्टो उसको ढाडमा अड्याएँ। स्कुटीबाट झरेपछि उसको मुखमा राम्रोसँग नहेरी राम्रोसँग जाऊ है भनेँ। उ कुपन्डोलतिर लागी। मैले लामो लामो पाइला गरेर थापाथली चोक क्रस गरे।
नारायण दाइले हलबाट बाहिर निस्कँदै गर्दा भन्नु भएको थियो, ‘बहिनी केही लेख्नु हुन्छ होला पन!’ म मुन्टो हल्लाएर बाहिर निस्केँ। एउटा सिनेमाले तरल बनाएको हृदयको ठिक ठाउँमा आइसकेको छैन। फेरि मलाई सिनेमाका सबै पक्ष केलाएर लेख्न पनि आउँदैन। मलाई त हृदय लेख्न आउँछ, संवेदना लेख्न आउँछ। नारायण दाइ, यो पालि आँसु सुकेकै छैन। संवेदनाबाहेक मेरो हृदयले केही छाम्न सकेन। अर्को पालि है!
Shares
प्रतिक्रिया