उसको नाम प्रेम थियो अनि प्रेमको प्रेममा परेकी म सीमा। हामी एकअर्कालाई असाध्यै माया गर्थ्यौँ। यस्तो लाग्थ्यो कि हामी एकअर्काविनाको जीवन नै असम्भव छ।
त्यसैले हामीले दुई वर्षको प्रेमपछि भागेर बिहे गर्यौँ। किनकि हामीलाई थाहा थियो त्यो जातपात थितिमा गाँठो परेको समाजले हाम्रो अन्तरजातीय प्रेम स्वीकार्दैन।
हामी भागेर काठमाडौँ आएका थियौँ। अन्जान सहरमा हामी दुई बाहेक आफ्नो भन्ने कोही थिएन।
बिस्तारै अलिअलि भएको पैसा पनि सकिँदै थियो। एकदिन घरबाट एक्कासी फोन आयो र हामी तिमीहरूलाई स्विकार्छौँ, जे हुनु भइसक्यो घर फर्केर आऊ भन्ने कुरा भयो।
त्यसपछि हामीले भोलिपल्ट बिहानै रुकुमको टिकट काट्यौँ। तर समाजमा अन्तरजातीय विवाह गरेकै कारण धेरै अपहेलना सहनुपर्यो।
हामी त्यही ठाउँका थियौँ जहाँ एक सच्चा प्रेमीले प्रेम गरेकै कारण ज्यान गुमाउनुपरेको थियो। त्यसैले कहीँकतै डर पनि लाग्थ्यो- घरपरिवारका अन्य सदस्यले स्वीकार गरे पनि आमाबुवाले स्विकार्नु भएको थिएन।
बिस्तारै सबै ठीक हुँदैथियो। एक दिन घरमा गाउँले भेला भएर सबै जना अमेरिका गएको भन्दै मेरो प्रेमलाई पनि अमेरिका पठाउने कुरा भयो। तर उनले हाम्रो विवाह पनि भर्खर भएको र आफू नेपालमै केही गर्छु भनेर अमेरिका जाने कुरा सिधै अस्वीकार गरे।
त्यसपछिका दिनमा यही विषयलाई लिएर दिनहुँजसो घरमा झगडा हुनथाल्यो।
फेसबुकका भित्तामा फलानो सपनाको देश पुगेकोमा बधाई भनेर आउँथे। गाउँमा यसले यति कमायो, उसले यति कमायो भनेर तुलना हुन्थ्यो।
केही गरौँ भन्दा हामीलाई हौसला दिने कोही थिएनन्। उसका धेरै साथी अमेरिका गएका थिए, कोही जाँदैथिए। यी यावत् कुराहरूले गर्दा उसको मन परिवर्तन भएछ। ऊ अमेरिका जान तयार भयो, मैले पनि भविष्य राम्रो होला भन्ठानेर मन सम्हालेर हुन्छ भनिदिएँ।
यसअघि समस्या पर्दा १/२ हजार रुपैयाँ नदिने छिमेकीहरू अमेरिका जाने भन्दा ५०/६० लाख ऋण दिन तयार भए। पैसाको जोहो भयो र मेरो प्रेम अमेरिका जाने दिन पनि आयो।
बिहान-बेलुका खाना खाँदा पनि मलाई खोज्ने मेरो प्रेम कसरी त्यहाँसम्म पुग्ला मलाई यही पिर हुन्थ्यो।
बिदाइका क्रममा मलाई प्रेमसँग मुटुछाप अँगालो हालेर रुन मन थियो तर पनि म नै कमजोर भएँ भने महिनौँ लगाएर अमेरिकासम्म पुग्ने ऊ कसरी सम्हालिएला भनेर हाँसेजस्तो गरी बिदाइ गरेँ तर भित्र गएर आँखामा आँसु रहुन्जेल रोएँ।
गएको केही दिनसम्म त फोनमा कुरा भएको थियो। उसले आँखामा आँसु लुकाएर खुसी भएझैँ गर्थ्यो।
एक दिन उसले ‘सानु अबदेखि मैले फोन गर्न पाउदिनँ। सिधै अमेरिका पुगेपछि फोन गर्छु। आफ्नो ख्याल गर है’ भन्दै फोन राख्यो।
त्यो दिनदेखि ऊ सम्पर्कविहीन थियो। मेरो मनमा छटपटी मात्र हुन्थ्यो। बेलाबेला अमेरिका जाँदै गरेका बाटोमै मरे भन्ने खबर आउँथ्यो। यस्तो खबर सुन्दा मुटु फुटेझैँ हुन्थ्यो।
खै किन हो, एक दिन बिहानैदेखि मनमा फरक खालको बेचैनी थियो। अनौठो अनुभूति भइरहेको थियो। छातीभित्र आँधीबेहरी र भूकम्प चलिरहेको थियो। मेरो प्रेमको एकदमै याद आइरहेको थियो। यस्तो लाग्थ्यो- सायद ऊ कुनै अप्ठ्यारोमा परिरहेको छ र मलाई बोलाइरहेको छ।
दिउँसो करिब साढे दुई बजेको थियो। एक अन्जान नम्बरबाट फोन आयो। मेरो प्रेमले फोन गर्यो होला भनेर हतार-हतारमा उठाएँ। अपरिचित व्यक्तिले छोटो कुराकानीमा ‘प्रेम अब रहेनन्, उनको जङ्गलमै निधन भयो’ भने।
मेरो सास रोकिएझैँ भयो। मुटु फुटेझैँ भयो। भक्कानिएर रोएँ। तर मलाई अँगालोमा हालेर किन रोएको सानू म छु नि भन्ने मेरो प्रेम मसँग थिएन।
मलाई त्यो अपरिचित मान्छेको कुरा विश्वास नै लागिरहेको छैन। अझै पनि मेरो प्रेमले अमेरिका पुगेर फोन गर्छ कि झैँ लाग्छ। तर यो अब सम्भव छैन।
मैले त्यो दिन प्रेमलाई जान नदिएको भए भन्ने मनमा आइरहन्छ। मान्छेलाई सासको मूल्य उसको आफ्नै वा उसको मायालुको अन्तिम सासले सिकाउँदो रहेछ।
यस्तो लाग्छ- भगवान्ले किन मेरो प्रेमको साथ अन्याय गरे? ऊ सबैको भलो नै चाहन्थ्यो। काँडैकाँडाको जीवनमा पनि उसले दिनेहरूलाई त केवल फूल र सुवास मात्रै दिएको थियो! भलै उसलाई कसैले केही दिएन।
प्रेमले छोडेर गएको बखत म पनि अब रहँदिनहोला झैँ लाग्थ्यो। तर पनि छोडेर जानेसँग सँगै जान नसकिने रहेछ। उसले त छोडेर गयो, अमेरिका जाँदा काढेको ५०/६० लाख ऋण अब कसरी तिर्ने भनेर घरमा अर्को चिन्ता थियो।
प्रेमको देहावसानपछि दिनहुँजसो साहु घरमा आउँथे। ब्याज थपिँदै थियो। त्यसैले अलिकति भए पनि ऋण कम गरौँ भनेर भएको जग्गा सबै साहुको हात लगायौँ। बचेको एउटा घर पनि पहिल्यैदेखि ऋणमा थियो। दु:खीलाई सधैँ दु:खैदु:ख भनेझैँ त्यही घर पनि भूकम्पले भत्काइदियो।
त्यो रहर किन्नलाई राखेको धितोसम्म गुमेपछि आज जिन्दगी नै लिलाम भएको छ। भनिन्छ, जीवन जिउँदा हरेक मानिस पीडाको टोकाइ र खुसीको चरम स्वादले बारम्बार रुन्छ। जीवन जिउँदा हरेक पल जब मानिस रुन्छ, त्यो उसको नयाँ जीवनको सुरुआत पनि हुनसक्छ।
Shares
प्रतिक्रिया