यात्रालाई व्यवस्थित गरियो भने यो रोमान्चक हुन्छ। यात्रा प्राय: अविष्मरणीय बन्छ। यात्रालाई नवीन अन्वेषणसँग जोड्न जान्नु पर्दछ। यात्रालाई फलदायी बनाउन यात्राका कण कणलाई गोड्न जान्नुपर्दछ। यात्राले नवीन कुरा, नयाँ अनुभव र ज्ञान दिन्छ।
इतिहास भन्छ- कोलम्बसले अमेरिका यात्राबाटै पत्ता लगाए। यस्ता अनेक महान घटना छन् यात्रले दिएका। यात्राले याद दिन्छ, सम्झना दिन्छ र दिन्छ गन्तव्य। यात्रामा अनेकथरी मान्छेहरू देख्न पाइन्छ। विविध घटना परिघटना नि हेर्न पाइन्छ। अनेक कला, संस्कृति, वातावरण, रहनसहन देख्न र महसुस गर्न पाइन्छ।
यात्रालाई विवेकशील तवरले उपयोग गर्न जानियो भने यसबाट अधिकतम फाइदा लिन सकिन्छ र जीवन्त सिर्जना रचना गर्न सकिन्छ। यात्राबाट घाटा हुने भए मान्छे किन यात्रा गर्दथ्यो होला र! काम बनाउन नि यात्रा, आफ्नो विकास गर्न नि यात्रा। खुसी पाउन नि यात्रा, आनन्द लिन नि यात्रा। जीवनमा केही पाउन यात्रा, जीवन बनाउन यात्रा र खुसी मनाउन यात्रा।
यात्रा लामो दूरीका वा छोटो दूरीका हुन सक्छन्। त्यस्तै लामो समय लाग्ने वा छोटो समय लाग्ने हुन सक्छन्। यात्रा अन्तरदेशीय वा अन्तर्राष्ट्रिय हुन सक्छन्। तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नु नि यात्रा, पृथ्वीवासी मान्छेले अत्याधुनिक रकेटबाट चन्द्रमा र मंगलग्रहमा पुग्नु नि यात्रा। कुनै प्रकृतिप्रेमी थोराङ्गला पुग्नु नि यात्रा। घरबाट कार्यस्थल र कार्यस्थलबाट घर आउनु नि यात्रा। कुनै नयाँ ठाउँ जानु नि यात्रा। साथीभाइ भेट्न जानु नि यात्रा। अझ भनौं, कुनै एक ठाउँवाट अर्को ठाउँ जानु नै यात्रा। विज्ञानको भाषामा भन्ने हो भने स्थिर अवस्थाबाट चलायमान अवस्थामा जानु नै यात्रा। बाटोमा पैदल हिँड्नु नि यात्रा। सवारी साधनको प्रयोग गर्नु नि यात्रा।
यात्राका उदेश्य फरक फरक हुन सक्छन्। उदेश्यनुसार यात्राका प्राप्ति नि अवश्य फरकफरक हुने नै भए। कुनै यात्रा सामान्य भइदिन्छन् भने कुनै विशेष। विशेष यात्राले अनेक याद दिलाउँछन्। अझ भनौं, विशेष यात्राका याद अविस्मरणीय भइदिन्छन्। विशेष भइदिन ठूलै कुराको प्राप्ति हुनै पर्दछ भन्ने नि होइन। यात्रामा भएका घटना, अनुभव, क्षणले मन छुनुपर्यो। चित्त बुझ्नु पर्यो। अनि त त्यो सानै कुरा पनि महान् भइदिन्छ।
वास्तवमा खुसी सानो कुरामा छ। विज्ञान प्रविधिको अद्भूतपूर्व विकासले सिर्जना गरेको भौतिक विकास र सुखसयलले मान्छे खुसी छैन र त अहिले अध्यात्मावादतिर दौडिरहेको छ। चन्द्रमा र मंगलग्रहमा पुग्ने मान्छे अहिले योग, ध्यानमा दौडिरहेको छ। अझ, माटोमा जीवन र आफ्नो अस्तित्व खोजिरहेको छ। प्रकृति नै महान् हुन्। प्रकृतिको विरुद्ध जानु भनेको मानव अस्तित्व संकटमा पार्नु हो, दु:ख बेसाउनु हो भन्ने सत्यलाई स्मरण गरी प्राकृतिक जीवनशैली अनुसरणको बाटोमा मान्छे हिँड्न लागेको छ। पूर्वीय दर्शनको खोजी, अध्ययन-अनुसन्धान, प्रकृतिको संरक्षण आदि यसकै परिणाम हुन्।
यात्राका बारेमा बयान गरी साध्य छैन। जे जोस्, माथि नै भनियो, यात्राले याद दिलाउँछ। यात्राले याद दिलाउने मात्र होइन, यात्राले हराएका याद भेटाउने नि रहेछ। यात्राले यादहरू छोड्दाका कथा भेट्दो नि रहेछ। अब म यादहरू छोड्दाको कथा भेटेको यात्राको बारेमा भन्दै छु।
आज मेरो कार्यस्थलबाट घर जाने क्रममा डिल्लीबजारको बाटो हुँदै जाँदै थिएँ। घर जाने क्रमको आजको मेरो डिल्लीबजारको यात्राले छोडेका यादहरूको कथा भेट्यो। यादहरू छोड्ने र यसरी छोडेकै यादहरूकै कारण केही बन्ने अठोट गरिरहेका बटुवा वा सडक यात्रीका कथा सुन्यो।
डिल्लीबजारको सडकमा मसँगसँगै हिडिरहेका दुई विद्यार्थीका कुराकानी मेरो कानमा ठोक्किन पुगे। एकजना बहिनीको कलेजमा मिल्ने साथीसँग केही कुरामा मनमुटाव हुन पुगेछ र त्यसले अलि ठूलै रूप लिएछ। झगडाको क्रममा दुई साथीबीच व्यक्त भएका वचनले ती बहिनीको मनमा ठूलो चोट परेछ र त्यसलाई ईखको रूपमा लिइएछ। तर यसरी झगडा हुनुको वास्तविकता अहिलेसम्म पनि थाहा भएनछ। अहिले झगडा गरेको साथीको सम्झना भने आउनेरहेछ। ती विद्यार्थी बहिनीका यस विषयका लामै कुरा मैले सुनें ती बहिनीका कुराबाट सिर्जना भएका विषयवस्तु, सन्दर्भ र दृष्यलाई कल्पनामा उतारी भावात्मक रूपमा मिलाई प्रस्तुत हरफ तयार पारे र प्रस्तुत गरेँ-
यादहरू छोडी गयौ
यादहरू छोडी गयौ मुटु भने चुँडी लियौ
सुख सबै आफै लियौ पीडा भरी मलाई दियौ
कुन दिनको संयोगले भेट हाम्रो हुन गयो
त्यही भेटको वियोगले आज मेरो जीवन रोयो
रत्तिभर थाहा छैन कहाँ मेरो गल्ती थियो
अन्जानको विछोडले रेटीरेटी पीडा दियो
यादहरू छोडी...
कति सुन्दर कला तिम्रो अरूलाई भुलाउने
मन मुटु चुँडी लिन सपनामा डुलाउने
धन्न तिम्ले याद छोड्यौ नत्र म त खोक्रो हुन्थेँ
पीडा पनि नछोड्या भा म त सुख्खा बोक्रो बन्थेँ
यादहरू छोडी...
Shares
प्रतिक्रिया