ad ad

ब्लग


फिनल्यान्ड आउन चाहनेले बुझ्नै पर्ने कुरा

संसारकै खुसी मुलुकमा विदेशीले भोग्ने दु:ख
फिनल्यान्ड आउन चाहनेले बुझ्नै पर्ने कुरा

तस्बिर : एआई


श्रवण खनाल
साउन १८, २०८१ शुक्रबार ९:११, हेल्सिन्की, फिनल्यान्ड

फिनल्यान्डमा नेपाली विद्यार्थीहरू आउने क्रम ह्वात्तै बढेको छ। पहिला एक्लै आउने चलन थियो तर आजभोलि जोडी (डिपेन्डेन्टसहित) आउने क्रम बढ्दो छ। नेपालमा रहेका शैक्षिक परामर्शदाता अनि यताका शैक्षिक संस्थाहरूले नेपाली विद्यार्थी आउन थप प्रेरित गरेको बुझिन्छ।  

१२ कक्षा पास गरेपछि विदेश जाने होडबाजी नेपालमा सामान्य भएको छ। विगतका वर्षहरूमा विदेशी विद्यार्थी यस्तो अत्यधिक मात्रामा आउँदैन थिए अनि फिनल्यान्डको आर्थिक विकासका सूचकांक सामान्य थिए। त्यसैले विद्यार्थीहरू सुरुमा केही केही संघर्ष गर्नु परे पनि सजिलै सेटल हुने गर्दथे। तर अहिले अवस्था त्यस्तो छैन। यो कुरा फिनल्यान्डमा बसेकाले नेपालमा विदेशिन हुटहुटिएका युवालाई बुझाउन गाह्रो छ। तर गत एक वर्षमा आएका नेपाली विद्यार्थीहरूको अवस्था बुझ्दा यो तथ्य भनिदिन जरुरी हुन्छ ताकि नयाँ आउनेले यी सबै यथार्थ मनन गरुन्। 

हो, बाहिरी रूपमा हेर्दा फिनल्यान्डको शिक्षा अनि यहाँको जीवनशैली, सामाजिक सुरक्षा, आदि लोभलाग्दो देखिन्छ। नेपालमा बसेर फिनल्यान्डबारे सुन्दा संसारकै खुसी मुलुकको सूचीमा लगातार उच्च स्थानमा पर्ने गरेको, विद्यालय सिकाइमा विश्वमै नाम कहलिएको, बेरोजगारी भत्ता, निःशुल्क स्वास्थ्य, शिक्षाका कारण आकर्षण स्वाभाविक हो। तर यहाँको कठिनाइपूर्ण जीवनबारे कहीँ कतै सुनिँदैन। 

६ महिना घाम देख्न नपाउँदा कति त त्यसै डिप्रेसनमा जान्छन् । फिनिस नागरिकहरूकै आत्महत्या दर उच्च रहने गरेको छ, जुन कुरा खासै समाचार बन्दैन। फिनिस अति कठिन भाषामध्ये पर्छ र काम दिन मन लागेन भने यही भाषाको निहुँ देखाएर विदेशीलाई थाहा नपाउने गरी किनारा लाइदिन्छन्। यो देशमा अध्ययन गरेर उच्च ओहोदामा पुगेकाहरूले समेत आफूलाई पाखा लगाइएको महसुस गरेर अरु देश सरेका प्रशस्त उदाहरण छन्। 

नयाँ नीतिले यहाँको स्थायी आवासीय अनुमति पाउन पनि पहिलाभन्दा गाह्रो बनाउँदै लगिएको छ। निशुल्क भने पनि शिक्षा, स्वास्थ्यको अवस्था खस्किँदै छ र स्वास्थ्य बिमा नहुनेहरू आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित हुँदै जान थालेका छन्। त्यसैगरी सुरक्षाको स्थिति पनि दिन प्रतिदिन गिर्दो छ। 

फिनल्यान्डले कोरोना महामारीको असरबाट सुध्रिन नपाउँदै युक्रेन युद्धको चपेटा झेल्नु परेको छ। जसका कारण रुसजस्तो ठूलो छिमेकी मुलुकसँग शत्रुताको सम्बन्ध स्थापित भएको छ। झण्डै ७० हजार युक्रेनी शरणार्थीको चाप बेहोर्न बाध्य भएको छ। यसले गर्दा यहाँ बेरोजगारको संख्या अत्यधिक बढ्नुका साथै चरम आर्थिक मन्दी देखिएको छ। कोठाको भाडा दर अनि खानेकुराको भाउ आकाशिएको छ। फिनल्यान्डको पर्यटन लगायत अन्य व्यापारमा रुसीहरूको ठूलो हिस्सा हुने गर्दथ्यो, सीमा बन्दको कारण जुन अहिले शून्य भएको छ। नेपाली विद्यार्थीहरूले धेरैजसो काम पाउने क्षेत्र ठूला होटल हुनेगर्थ्यो जुन अहिले आफै मन्दीमा फसेको छ। 

नेपालबाट विद्यार्थीबाहेक सिजनल भिसामा समेत आउन थालेको खबर सुनिन्छ, जुन अझै खतरनाक छ। यहाँ ५–६ महिने भिसामा आउन १०–१२ लाख त एजेन्टलाई नै बुझाउँछन् रे। यता आएपछि त्यही भिसा अवधिमा समेत काम नदिएको गुनासो सुनिन्छ। युवाको कलिलो दिमागमाथि खेल्दै एजेन्टहरूले त्यहाँ पुगेपछि कोही चिनेको नेपालीले काम दिन्छ अनि पर्मिट फेर्न पाइन्छ। त्यो भएन भने स्पेन, पोर्चुगल गएर कार्ड बनाएर बस्न मिल्छजस्ता गलत सूचना दिने गर्दा रहेछन। नेपालमा बस्दा यी कुरा सामान्य र पत्यारलाग्दो हुन्छ र भरखरका युवाले सजिलै विश्वास गर्छन्। विगतका दिनमा एकाध कोही त्यसरी सेटल भएको उदाहरण दिएर झुक्याउने गरेको पाइन्छ। तर, यथार्थ त्यस्तो होइन।

पहिला युरोपेली मुलुक छिरेकाहरूलाई पोर्चुगल गएर कागज बनाउने सजिलो तरिका थियो तर सन् २०२४ को नयाँ सरकारले यसलाई पूर्णतः बन्द गरेको छ। जुन कुरा सायद नेपालका एजेन्टले थाहा नै पाएका छैनन् अथवा थाहा पाएर पनि कामदारलाई धोका दिइरहेका छन्। नयाँ सरकारले अब गैरईयूका नागरिकलाई रोजगारीको सुनिश्चितता नभएसम्म पोर्चुगलमा आवासीय अनुमति नदिने नियम ल्याएको छ, जुन कुरा सामान्य गुगल गरेर पनि थाहा पाउन सकिन्छ।  

फिनल्यान्डका कलेजहरूले नेपाल लगायत अन्य मुलुकबाट विद्यार्थी ल्याएर अर्थोपार्जन गर्न थालेको स्पष्ट झल्किन्छ। किनकि ईयूबाट आउने विद्यार्थीसँग शुल्क लिन मिल्दैन। विगत केही वर्षयता यहाँका शिक्षण संस्थाले सरकारबाट पाउने अनुदान घटेको वा बन्द भएको छ। त्यसैले नेपाली विद्यार्थीले सरल रूपमा कलेज भर्ना पाउँछन् अनि प्रक्रिया पूरा गरेपछि भिसा पनि पाइन्छ। त्यसैले होला, गएको एक वर्षमा फिन्ल्यान्ड आउने नेपाली विद्यार्थी दर संसारकै दोस्रो नम्बरमा परेको छ।

यता आएपछिका बारेमा भने प्रायः विद्यार्थीले खासै धेरै नसोचेकोजस्तो देखिन्छ। गन्तव्य के हुने, पढेको विषयको भविष्य के छ, त्यसैमा रोजगारी पाइन्छ कि पाइँदैन अनि नेपालबाट विदेश पैसा पठाउने नियम कस्ता छन् भन्नेतर्फ नेपाली विद्यार्थीले पर्याप्त जानकारी हासिल नगरेको पाइन्छ। सामाजिक सञ्जालमा सजिलै फिनल्यान्डमा पैसा हाल्दिनुस्, नेपालको खातामा हाल्दिन्छु भनेर विज्ञापन गरेको पाइन्छ जुन आफैमा गैरकानुनी देखिन्छ र यसले कुनै पनि बेला नसोचेको कानुनी झमेला निम्त्याउन सक्छ। यसैगरी खातामा यता हाल्न लाउने तर नेपालमा नदिएर फट्याइँ गरेका समाचार नि आउन थालेको छ। एकोहोरो सुन्दर भविष्यको कल्पनामा मात्रै नडुबेर यस्ता व्यावहारिक ज्ञान पनि बटुल्न पर्ने हुन्छ। अझ अभिभावकहरू धेरै चनाखो हुनुपर्ने हुन्छ।

फिनल्यान्डमा वर्षौँ बसेका, भाषा जानेका अन्य आवश्यक सीपसहित स्थायी आवासीय अनुमति पत्र भएका समेत बेरोजगार छन् भने फ्याट्ट कोही नयाँ आएकालाई कसरी काम दिन सम्भव होला? कोही चिनेजानेको वा भनिदिने छ भन्दैमा नयाँ रोजगारी सजिलै सिर्जना गर्न सकिने कुरा होइन। कुनै पनि कम्पनीले कामदार लिन सक्ने सीमित दायरा हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ। 

यहाँ नेपालीद्वारा सञ्चालित होटल व्यवसायहरू न्यून मात्रामा छन्। त्यो पनि अहिलेको मन्दीको कारण व्यापारमा कमी भई आफै टिक्न धौधौ अवस्थामा छन्। यस्तो अवस्थामा नवआगन्तुकका जति गुनासो र कठिनाइ सुने पनि व्यवसायीको मर्का आफ्नै हुन्छन् र नयाँ रोजगारी दिन असमर्थ हुन्छन्। नयाँ विद्यार्थी अनि अन्य भिसामा आउनेहरूको समस्या सुन्दा सहानुभूति जनाउनेभन्दा अरु गर्न सक्ने अवस्थामा छैनन्। कतैकतै फाट्टफुट्ट काम पाइहाले भने पनि त्यसैको मात्र भरमा खर्च धान्न मुस्किल हुन्छ। 

यसो भन्दै गर्दा फिनल्यान्ड आउनै नहुने भन्ने होइन। नेपालकै पैसाले पूर्ण रूपमा यहाँ आएर पढ्न सक्छु, जागिर खोज्न पर्दैन अनि नितान्त पढ्ने उदेश्यले जाँदैछु, कोर्स सकेपछि केही न केही होला नत्र आर्जन गरेको ज्ञान लिएर नेपाल फर्कन्छु भन्नेलाई नराम्रो छैन। फिनल्यान्डमा हासिल गरेको डिग्रीले अन्य मुलुकमा पनि काम पाउन सकिन्छ। तर फेरि त्यत्रो कलेज शुल्क बुझाएर अनि महिनामा कम्तीमा नि ५०–६० हजार खर्च गरेर स्नातक अथवा स्नातकोत्तर गर्नुको औचित्य पनि केलाउनु पर्ने हुन्छ। अहिलेसम्मको अवस्थामा फिनल्यान्डमा कोर्स पूरा गरेपछि काम पाउने सजिलो विषय भनेको नर्सिङ देखिएको छ। तर अत्यधिक उत्पादनसँगै यसको पनि दायरा खुम्चन सक्छ भन्ने मनन गर्न जरुरी छ। 

यहाँ साँच्चिकै कामदार आवश्यक भएर नियम अनुसार सेवासुविधाको ग्यारेन्टी सहित आउने कामदारहरूलाई त राम्रो छ। तर जसरी नि छिरे पुग्छ भन्ने सोचाइले आउँदा अनेक हन्डर पाउन सकिन्छ। फिनल्यान्डले ट्यालेन्ट बुस्ट स्किम अन्तर्गत विदेशी दक्ष कामदार ल्याउने गरेको छ, जसमा मुख्य त भारतबाट सूचना प्रविधि अनि फिलिपिन्सबाट नर्स आउने गरेका छन्। यस्ता दक्ष, सीपालुहरूको तलब, सेवा–सुविधा आकर्षक हुनुका साथै ल्याउने कम्पनीहरू पूर्णतः जवाफदेही हुन्छन्। 

यी सबका अलावा फिनल्यान्डमा सरकार पनि राष्ट्रवादी (आप्रपासीप्रति कठोर) गठन भएको छ, जसले दिन प्रतिदिन आप्रवासीलाई असहज हुने नीति बढाउँदै लगेका छन्। अतः पहिला जानेहरूका सुन्दर तस्बिर, मस्ती गरेका भिडिओ हेरेर अनि उनीहरूको सफलता देखेर त्यस्तै कल्पना गरेर फिनल्यान्ड नआउनुहोला। एकाध यही कठिनाइबीच पनि जेनतेन सेटल भएका छन् भने कयौँ नयाँ विद्यार्थीहरू एक वर्षसम्म पनि कुनै उपाय नलागेर निराश भएर नेपाल फर्कन थालेका छन्। समय, परिस्थिति बदलिएको छ, सम्पूर्ण रूपमा बुझेर अनि त्यो अनुसार आफू सक्षम भएन-भएको ढुक्क भएर मात्रै आउनु उचित हुन्छ।

फिन्ल्यान्डमा रोजगारीको अवस्था, विदेशीले पाउने सुविधाहरू, आवासीय अनुमतिका व्यवस्था, शैक्षिक अवसर र प्रक्रियाहरू आदिबारे आधिकारिक वेबसाइट वा निकायबाट सजिलै बुझ्न सकिन्छ। फिन्ल्यान्डमा उच्च शिक्षाबारे आधिकारिक वेबसाइटहरूमा  आवश्यक सम्पूर्ण जानकारी बुझिने गरी राखिदिएको छ। यतिसम्म कि अध्यागमन फिन्ल्यान्डको वेबसाइटमा त पढ्न नसक्ने अथवा पढ्न जाँगर नभएकालाई सुन्न मिल्ने व्यवस्थासमेत गरेको छ। 

नेपाली विद्यार्थीहरूले काम अनि अन्य अवसरको लागि फिन्ल्यान्डलाई पनि अस्ट्रेलिया, अमेरिका, क्यानडाजस्ता ठूला देशहरूझैँ  सोच्ने गरेको पाइयो, जुन अत्यन्त गलत हो। ती निकै ठूला अर्थतन्त्र भएका अनि अंग्रेजी बोलिने देश हुन् भने फिन्ल्यान्डको रोजगारी र व्यापारको दायरा अत्यन्त न्यून छ। अझ आप्रवासीहरूका लागि झन् धेरै सीमितता छन्। 

यो लेखमार्फत फिनल्यान्डबारे राम्रा कुरा सुनेर आफ्नो भविष्य बनाउने कल्पना गर्ने नेपालीलाई हतोत्साहित गर्न खोजिएको होइन। तर समाचारमा सुनेकै भरमा, कन्सल्टेन्सी तथा एजेन्टहरूका कुरामा मात्र भर नपरेर आफैले सूक्ष्मरूपमा बुझेर निर्णय लिँदा पछि पछुताउनुपर्ने छैन भन्न खोजिएको हो। हो, नेपालमा गाह्रो छ तर अन्यत्र पनि त गाह्रो हुन्छ नि, होइन र? उकुसमुकुस भयो भनेर देश छोड्दैमा पराया देशमाचाहिँ के कसरी फिट भइहालिन्छ होला, मनन् गर्नैपर्छ। देश छोड्नुअघि मसँग के खुबी छ, जुन म जाने देशमा प्रयोग हुन्छ र म टिक्न सक्छु भनेर गम्नैपर्छ। 

आउनुअघि फिनल्यान्डबारे बुझ्न यहाँ अहिले रोजगारीको अवस्था, विदेशीले पाउने सुविधा, आवासीय अनुमतिका व्यवस्था, आदिबारे आधिकारिक वेबसाइट वा निकायबाट सजिलै बुझ्न सकिन्छ। आजभोलि विभिन्न फेसबुक ग्रुपबाट यस्तो जानकारी लिने गरेको पाइन्छ।

केही घन्टा इन्टरनेटमा खोजेर आधिकारिक रूपमा बुझ्न पनि अल्छी लागेर वा नजानेर वा जेको पनि तुरुन्तै जवाफ चाहिहाल्ने युवा मनोविज्ञानलाई कतिपयले दुरुपयोग गरेको पनि भेटिन्छ। जस्तै, फेक जब अफर, कन्ट्य्राक्ट लेटर, कोठाभाडा डिल आदि।

फिन्ल्यान्डमा रहने अग्रजहरूबाट पनि नयाँ विद्यार्थी एवं कामदार भिसामा आउनेले धेरै सहयोग, सुझावको अपेक्षा गरेका हुन्छन्, जुन स्वाभाविक पनि हो। यहाँ हुने नेपालीहरू मनकारी नै छन्। सम्भव भएसम्म सहयोगी भाव राख्छन्। आफूले जानेको कुरा बताइदिन्छन्। भन्न मिल्ने ठाउँमा कामको सिफारिस पनि गरिदिन्छन्। तर नेपालमा बस्नेले आशा गरेझैँ जतिखेर पनि फेसबुकमा झुन्डिरहने अनि अधिक मात्रामा सोधिने जिज्ञासा मेटाइदिने फुर्सद हुँदैन। फेरि आफूले बोलेका, लेखेका कुरामा जिम्मेवारी पनि लिनुपर्छ। त्यसैले फ्याट्ट कसैले केही सोध्नासाथ जवाफ फर्काउन सम्भव हुँदैन।

कामको लागि पनि सबैले भनिदिने जब पोर्टल उही हुने गर्छन् किनकि यहाँ काम लगाउने मध्यस्थ कम्पनीहरू हुन्छन्, जसले प्राप्त आवेदनको आधारमा छनौट गर्दछन्। त्यसैले अग्रजहरूले गर्न सक्ने सहयोगको पनि सीमितता हुन्छ।

हाल चलनमा आएका फेसबुक ग्रुपमा त अति नै सामान्य स्तरका जिज्ञासाहरूको बाढी लाग्छ, जसले गर्दा धेरैले त त्यस्ता ग्रुपहरू हेर्न पनि छोडिसके। समयको कति महत्त्व हुन्छ। ‘मैले नेपालको लाइसेन्स ल्याउन बिर्सेँछु, फिन्ल्यान्डमा गाढी चलाउन मिल्ला कि नाइँ? कति पैसा लिएर आउँदा हुन्छ? आज अन्तर्वार्ता दिएको, अब कति दिनमा भिसा आउछ?’ जस्ता प्रश्नहरूको जवाफ दिन गाह्रो पर्छ, ग्रुप सदस्यहरूलाई। त्यसैले कमसेकम आफूले पनि विवेक प्रयोग गर्ने बानी गरौँ। यस्तो बानीले फिनल्यान्ड आएपछि पनि सूचना खोज्न अनि आफूलाई स्थापित गर्न मद्दत गर्दछ।

अनुभव साटासाट गर्ने उद्देश्यले हुने यस्ता छलफल फाइदाजनक पनि हुन्छन् तर एउटाले भोगेको समस्या र समाधानका उपाय सबैलाई काम लाग्छ भन्ने हुँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .