ad ad

ब्लग


सर, तपाईं रिसाएको सुहाउँदैन!

सर, तपाईं रिसाएको सुहाउँदैन!

स्थिरबाबु सुवेदी
साउन ३२, २०८१ शुक्रबार ७:५८, पोखरा

शिक्षण पेसामा आबद्ध भएको पनि करिब २४ वर्ष पुगेछ। कहिले गाँउको विद्यालय त कहिले बजारका, कहिले सरकारी त कहिले गुठीका, शिक्षण पेसामा रमाएको विगत र वर्तमानले सधैँ मेरो लागि खुसी थपिरहेको छ। नढाँटीकन भन्दा कक्षा १० को अंग्रेजी र नेपाली विषयमा निबन्ध लेख्ने शीर्षक र विषयवस्तु छान्दा वा सरहरूले जीवनको लक्ष्य विषयमा निबन्ध लेखाउँदा मैले खालि ‘मेरो जीवनको लक्ष्य शिक्षक’ शीर्षकमै लेखेँ। अरु केही सपना देखिनँ र लेखिनँ पनि। मलाई अहिले लाग्दछ, यस संसारमा भाग्यमानी, आफूले सोचेको र चाहेजस्तो पेसामा लागेका व्यक्तिभित्र म पनि पर्छु होला। 

विभिन्न पेसाका अवसर र चुनौती त हुने नै गर्दछन्। तर धेरैले भनेजस्तो पैसाको छेलोखेलो नभए पनि शिक्षण पेसा गहकिलै लाग्दछ। समाज, विश्व कहाँ जाँदैछ, सो परिस्थितिको जानकार थोरबहुत शिक्षक पनि हुने गर्दछन्। ग्राहकले कति कमेन्ट गरे, कति पुलबाटा भत्के, कति बिरामी मरे होलान्, कति सामान टुटेफुटेका परे होलान्, कतिले पैसा सापटी लगेर दिएनन् होलाजस्ता चिन्ताका विषयमा शिक्षण पेसामा हुँदैनन्। सधैँ स्वच्छ, निर्दोष, सचेत बालबालिकासँग सुन्दर बिहानीसँगै सुमधुर व्यवहार गरिन्छ। मज्जा पनि लाग्दछ, हरेक वर्ष नयाँ सपना मेरो सामु आउँदछन् र म उनीहरूको सपना पूरा गर्न सदा तत्पर रहन्छु। थाहा छैन ती सपनाहरू मैले कति पूरा गरेको छु। तर थाहा छ पूराचाहिँ गरेकै छु।

यही प्रसंगमा म आफ्नै विद्यालयको परिवेशमा केन्द्रित हुन चाहन्छु। मैले अहिले अध्यापन गर्दै आइरहेको विद्यालयको मोडालिटी अनुसार कक्षा ४ देखि कक्षा १२ सम्म जुनसुकै कक्षामा पनि अध्यापन गर्नुपर्ने हुन्छ। यो कुराले विद्यालयमा प्रवेश गर्दाको समय, करिब १७ वर्षपहिले मलाई अलि असजिलो महसुस हुन्थ्यो। मलाई लाग्दथ्यो, म त माध्यमिक तहको शिक्षक, अहिले यी साना कक्षाका केटाकेटीलाई सम्हाल्नु पर्‍यो। तर परिवेश फरक रहेछ, ती निर्दोष साना बाबुनानीसँग घुलमिल हुनु, रमाउनु र सिक्नु सिकाउनु त झनै विशेष क्षमता पो रहेछ। 

त्यसैले अहिले कक्षा ४ होस् वा कक्षा १२ मेरा लागि सबै महत्त्वपूर्ण छन्। अहिले त झन् सबै तहका विद्यार्थीहरूसँग घुलमिल हुन सकिने, फरकफरक तरिकाले शिक्षण गर्न पाइने कुराले रमाइलो नै लाग्दछ। अझ यसैमाथि जुनसुकै तह र तप्काका शिक्षक साथीहरूसँग अनुभव साटासाट गर्न पाउँदा बडो गज्जब नै हुन्छ।
 
शिक्षणकै क्रममा कोभिड १९ पछिको समय अलि जटिल र असामान्य बनेको थियो। भौतिक रूपमा शिक्षण कार्य गर्न अलि अनौठो जस्तो, विद्यार्थीहरूको मन र रुचि पनि अलि कम भए जस्तो, डिभाइसमा अलि बढी नै केन्द्रित हुन खोज्ने बानी परे। अर्कोतर्फ शिक्षकबिना नै कयौँ विषयवस्तु बालकले आफै सिकेको पनि अवस्था छ। यी र यस्तै अवस्थामा शिक्षक कक्षाभित्र छिर्नु पर्दछ, सबै बालबालिकाको अनुहार पढ्नु पर्दछ र चाहिने विषयवस्तु सकेसम्म विद्यार्थी केन्द्रित भएर दिनु पर्ने देखिन्छ। 

यी र यस्तै परिवेशमा म कक्षा शिक्षणको सुरुवात कसरी गर्ने, के कुराले सकारात्मक सन्देश प्रवाह होला भन्ने कुरा आजकल अलि बढी ख्याल गर्ने गरेको छु। विभिन्न तहका कक्षाहरू जस्तो कि कक्षा ४, कक्षा १० वा कक्षा ११ मा नै किन नहोस्, जब म कक्षा कोठाको ढोकाबाट प्रवेश गर्दछु, विद्यार्थीहरूलाई मैले नजर लगाउन भ्याउँदा नभ्याउँदै उनीहरूले मलाई पढ्ने गर्दछन्, मेरो मुहार, मेरो प्रसन्नता र मन्द मुस्कान हेर्ने गर्दछन्, जब म यिनै कुरा लिएर कक्षामा प्रवेश गर्ने गर्दछु।  

सबैको मनमा वा अनुहारमा एउटा सकारात्मक सन्देश फैलिँदो रहेछ, उनीहरूले कहिलेकाँही हल्का प्रश्न गर्छन् पनि, ‘सर हजुर त आज खुसी देखिनु भएको छ त?’ अनि मैले कुनै प्रश्नको उत्तर दिनु पर्दैन, उनीहरूले बुझिहाल्छन् कि सर आज खुसी हुनुहुन्छ त्यसैले पनि कक्षामा पढाएको पनि बुझिन्छ वा मज्जाले सोधेर, छलफल गरेर सिक्न सकिन्छ। यसले कक्षामा सकारात्मक वातावरण निर्माण हुँदो रहेछ। 

त्यति मात्र कहाँ हो र, सर खुसी साथ प्रवेश गर्नु भएको दिनमा त गृहकार्य बिर्सेकै भए पनि वा गर्न नसकेको भए पनि सरले सरल तरिकाले भन्नुहुन्छ वा सकारात्मक तवरले सुझाव दिनुहुन्छ भन्नेसम्म पनि बालबालिकाको मस्तिष्कमा पर्दो रहेछ।  

त्यसैले शिक्षकका रूपमा कक्षाकोठामा प्रवेश हाम्रा कुनै पनि समस्याहरू देखिनहुँदो रहेनछ। आफू जलेर अरुलाई उज्यालो दिने व्यक्ति शिक्षक नै हुन् भनेर त्यसै भनिएको होइन रहेछ। जेसुकै परिस्थिति होस्, तिनलाई पन्छाएर मात्रै कक्षाकोठामा उपस्थित हुनुपर्दो रहेछ। 

हुन पनि हो, साना ती बालबालिकालाई के थाहा, हाम्रा दरबन्दी, सुविधा, तलब, बढुवाजस्ता समस्यालाई म मनमै राखेर हाँसेको छु भन्ने कुरा। जस्तोसुकै होस्, मुस्कानका साथ पसियो भने बाल मस्तिष्कमा राम्रै प्रभाव पर्दोरहेछ। त्यति मात्र कहाँ हो र! कुनै दिन अलि मलिन अनुहार बनाएर गइयो भने उनीहरूको पढ्ने लेख्ने चाहना र गतिविधिमा पनि धेरै नै फरक प्रभाव पार्दो रहेछ। 

आजका बालबालिकाले मुस्कान देख्न खासै पाएका हुँदैनन्। अभिभावकहरूको व्यस्त समय, बचेको समय पनि परिवारसँग भन्दा डिभाइससँग, बाँकी रहेको समय पनि उनीहरूलाई असन्तोष पोख्दापोख्दै बित्दछ। यसो गरिनस्, उसो गरिनस् भन्ने गुनासो नै बढी पस्किन पुगिन्छ। बालबालिकाले आफ्नो समयलाई कसरी व्यवस्थापन गर्ने, त्यसबारे अरु नै प्रसंगामा छलफल गरौँला तर उनीहरूले पाइरहेको माया र सकारात्मक सन्देश अपुग छ।

कतिलाई लाग्न सक्छ, यो के नौलो कुरा हो र, सबैले गरेकै छ त, भोगेकै त हो नि! तर मैले यसलाई त्यति हल्का रूपमा लिएर यहाँ पस्केको होइन। विश्वास दिन चाहन्छु करिब ५ वर्षयता मैले पढाउने कक्षामा नजिकबाट नियालेर, कहिलेकाँही उनीहरूसँग जिज्ञासा राखेर यस कुरालाई अझ बढी महत्त्व दिएको हुँ।

कहिलेकाँही मेरो मलिन अनुहार वा अलि फरक मुहार देखे भने कुनै समय बचेर अनौपचारिक रूपमा र प्रसंगमा प्रश्न मैले गरेँ भने बालबालिका भन्ने गर्छन्, ‘सर, तपाईं रिसाएको सुहाउन्न, रिसाउन हुन्न, अनुहार मलिन बनाएर नआउनु क्या!’ 

त्यसैले भन्न त सजिलो हुँदो रहेछ तर कक्षामा प्रसन्न मुद्रामा प्रवेश गरेर विषयवस्तुलाई उनीहरू सामु पस्कनु चुनौतीपूर्ण छ। तर, यो अति आवश्यक छ। समग्रमा आजका बालबालिकाले मुस्कान भनौँ वा खुसी र सकारात्मक परिवेश कमै देखेका छन्। तसर्थ मुस्कान सहितको कक्षा प्रवेश, हृदयमा छुने गरि सिकाइ हुने हो भने बालबालिकाहरूमा सकारात्मक सन्देश प्रवाह हुने र उनीहरू हामीले चाहेको जस्तो संस्कारी र समझदार व्यक्ति बन्दारहेछन् भन्ने लाग्दछ। 

(सुवेदी गण्डकी बोर्डिङ स्कुल पोखराका गणित शिक्षक हुन्)               

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .