म आमाले सिकाएको संस्कार र मर्यादाको तगारोभन्दा माथि उभिएर उहाँमाथि नै प्रश्न गर्न बाध्य भएकी छु अहिले। कहिलेकाहीँ नजवाफ बन्नुहुन्छ आमा। कयौँपटक मुस्किल परेको छ उहाँलाई मेरा प्रश्नको सामना गर्न।
हाम्रो समाजमा अहिलेसम्म छोरीको कमाइ खानु हुँदैन भन्ने धारणा छ। समय यतिधेरै अगाडि बढिसकेको छ। तर समयसँगसँगै मान्छेहरूको चेतनामा परिवर्तन भने भएको छैन। यो कति दुःखद कुरा हो, म कहिलेकाहीँ आफैँसँग तर्कवितर्क गर्छु। कत्ति कुरा समयकै हातमा छोडेर विनानिष्कर्ष टुङ्गो लाउँछु।
तर यसपटक लामो समयदेखि मस्तिष्कमा बहस गरिरहेको यो प्रसंग तपाईंसँग पनि सेयर गर्न मन लागेको छ।
मलाई संस्कारी हुनुपर्छ भनेर सिकाइयो। आफ्नो काम आफैँ गर्नुपर्छ, कसैमाथि परनिर्भर हुनु हुँदैन भनेर सिकाइयो।
शिक्षा आफैमा एउटा लगानी हो। म माथि यति ठूलो लगानी गरियो। अहिले पनि सम्झिरहेकी छु। म ३–४ कक्षामा पढ्दा प्राथमिक विद्यालयमा छोरीहरूलाई स्कुल पठाउनेको परिवारलाई तेल दिने नियम बनेको थियो। छोरीहरूलाई शिक्षामा सहभागी गराउन र अभिभावकलाई प्रेरित गर्न सरकारले त्यसो गरेको थियो होला।
म अंग्रेजी माध्यमको निजी स्कुलमा पढ्थेँ। हरेक दिन १२ बजे बटुकोमा खाना राखेर सुतीको कपडाले बाँधेर हजुरआमाले ल्याइदिनुहुन्थ्यो।
मेरा कतिपय साथीहरू भने घरभन्दा टाढाको सरकारी स्कुलमा पढ्न जान्थे। कतिपय राम्रो आर्थिक अवस्था भएकाहरूले पनि छोरी त्यतै पठाउँथे।
उनीहरू मलाई भन्थे– दिउँसो हलुवा खान पाइन्छ तिमी पनि हामीसँगै पढ न। मलाई पनि उनीहरूसँगै पढ्न पाए भन्ने लाग्थ्यो।
अलिपछि अलि बुझ्ने भएपछि मलाई एउटा प्रश्नले सताउन थाल्यो– गाउँका सम्पन्न परिवारले समेत आफ्ना छोरीबहिनीलाई सरकारी स्कुलमा पढाउँदा मेरी आमाले मलाई किन निजी स्कुल पठाउनुभयो? जबकि घरमा आमा र बुवा दुवैको जिम्मेवारी उहाँ एक्लैले काँध हाल्नुपरेको थियो।
अरुले भन्दा सजिलोसँग र छिटो मैले थोरैथोरै भए पनि अंग्रेजी सिक्न सकेँ। सकेर हो अथवा नसकेर, खाएर हो वा नखाएर, आफूले एक सरो मात्र लाएर निरन्तर २ वर्षसम्म निजी स्कुलमा पढाउनुभयो। फलस्वरूप म कहिल्यै अंग्रेजी विषयमा फेल भइनँ। त्यतिमात्र होइन, गाउँमा जहाँ ट्युसन हुन्थ्यो, त्यहाँ पुर्याउन छुटाउनु भएन।
निजी स्कुल होस् वा ट्युसन, जहाँ पनि म एक्ली केटी हुन्थेँ। अरु सबै मेरो उमेरका केटाहरू हुन्थे।
म बच्चा हुँदा बिहानै अँध्यारोमा आधाबाटोसम्म पुर्याउन जानुहुन्थ्यो आमा। अहिले सम्झन्छु, मलाई पुर्याउन जाँदा हामी सँगसँगै हुन्थ्यौँ। तर साथी भेटिसकेपछि म साथीसँग जान्थेँ। उता आमा एक्लै फर्कनुपर्थ्यो। अँध्यारोमा एक्लै फर्कंदा उहाँलाई मलाईजस्तो डर लागेन होला? आजभोलि यस्तै कुरा सम्झेर म कयौँपटक भक्कानिएकी छु। खैर, यस्ता भावनात्मक कुरामा के अल्झनु?
छोराले कमाउँछ, पाल्छ, मर्दा अन्त्येष्टि गर्दछ भन्ने परम्परागत विश्वासमा आधारित समाजले छोरीमाथि लगानी गर्दैन। फलस्वरूप छोरीबाट आशा गर्नबाट पनि डराउँछ।
छोरालाई भविष्यमा पाल्ने र सुख–सुविधा दिने भरपर्दो आडका रूपमा हेरिन्छ भने छोरीलाई चाहिँ ‘कुशल गृहिणी’ बनोस् भन्ने आकांक्षा राख्ने गरिन्छ। त्यसैले छोरीले घरकाजमा आमालाई सघाउने कार्यमा प्राथमिकता पाएका हुन्छन्।
सम्पन्न घरहरूमा समेत छोरीलाई औपचारिक शिक्षामा भन्दा पकाउनेदेखि कुशल गृहिणी बन्ने व्यावहारिक शिक्षामा सानैदेखि प्रेरित गर्ने गरिएको पाइन्छ।
प्रायः आमा भन्नुहुन्छ, बिहे गरेर गइसकेकी छोरीको कमाइ खानु हुँदैन। पाप लाग्छ रे।
यस्तो सोच कसरी बन्यो होला? मलाई लाग्छ, छोरीको कमाइ खानु हुँदैन उनीहरूले भनेका हुन्, जो छोरीमाथि लगानी गर्न नै हिच्किचाएका थिए। अर्काको घर जाने जात हो भन्दै जिम्मेवारीबाट पन्छिएका थिए। यो मेरी आमामाथि लागू हुँदैन।
अब त्यो पुरानो सोच बदलेर छोरीको कमाइ खानु नपरोस् भन्नुको साटो छोरा र छोरी दुवैमाथि समान लगानी गर्नुपर्छ र समान अपेक्षा गर्नुपर्छ भन्ने सोच हुनुपर्छ।
समानता फैलाउन पनि त विभेदमा पूर्णविराम लगाउनुपर्छ, होइन र?
यसै हप्ता सामाजिक स्तरीकरण शीर्षकमा प्रिजेन्टेसन तयार गर्नुपर्ने थियो। यसै सन्दर्भमा खोजी गरिरहेकी थिएँ। लिंगका आधारमा गरिने स्तरीकरणबारे अलि बढी चासो भयो। त्यतिबेला मलाई त्यो मानसिकताको स्मरण भयो, मानिसहरू छोराहरूले मात्र कमाएर परिवार पाल्नुपर्ने धारणा राख्छन्।
तर त्यहीँ समाजमा हुर्किएकी मैले लक्ष्मी बनेर बन्धक बन्नु परेन कहिल्यै। आमाले आत्मनिर्भर बनाउनतर्फ जोड दिनुभयो र मैले जानेका हरेक कामको मूल्यांकन गरेर स्वतन्त्र छोडिदिनुभयो। अनुशासनमा बसेर मैले मेरो खुसीले बाँच्ने वातावरण पाएँ। आफूले बाँचेको जीवनबाट सिकेर मलाई आफ्नो खुट्टामा उभिन पटकपटक घच्घच्याइरहनुभयो।
जसको कारणले मलाई लागिरहन्छ, म यदि असफल भए भने मेरै कारणले हुनेछु। होइन भने त मलाई गतिलो बनाउन आमाले कुनै कसर बाँकी राख्नुभएको छैन।
हाम्रो समाजमा छोरीले आफू जन्मिएको घरलाई मेरो घर हो भन्ने अधिकार पाउँदैनन्। तर मलाई त्यो अधिकार चाहिएको छैन। किनभने अब आफ्नो घर आफैँले बनाउन सक्नेगरी सक्षम भएर उभिएकी छु। यसर्थ लाग्छ, कुनै पनि छोरीलाई जबर्जस्ती पराई घरमा धकेलेर त्यही घरलाई आफ्नो घर बनाउन बाध्य बनाउनुभन्दा उसलाई आफैँले घर बनाउन सक्नेगरी सक्षम बनाएर उभ्याउन जरुरी छ।
आजको जमानामा पनि हाम्रो समाजमा भएका यस्ता विकृति पन्छाएर अघि बढ्न नसक्नु हाम्रो भूल हो।
छोरालाई जस्तै छोरीलाई पनि अधिकार, कर्तव्य र जिम्मेवारी सिकाउन जरुरी छ। छोरीले पनि परिवार पाल्नुपर्छ, जीवनभर घरको काममात्र गर्ने होइन, परिवेश र अवस्थाअनुसार छोराले जस्तै जिम्मेवारी बोक्नुपर्छ। अब यो नियम पनि समाजले नै स्थापित गर्नुपर्छ।
Shares
प्रतिक्रिया