ad ad

ब्लग


बेइजिङमा कफी गफ गर्दैगर्दा चिनियाँ युवतीको हाउभाउले तान्यो

बेइजिङमा कफी गफ गर्दैगर्दा चिनियाँ युवतीको हाउभाउले तान्यो

चेतनाथ आचार्य
मंसिर १८, २०७७ बिहिबार १५:१७,

नोभेम्बर २३ तारिख (मंसिर ८ गते) सोमबार समसामयिक विषयमा केही बहस गर्ने उद्देश्यले सिद्धि अर्याल हामी बसेको ठाउँमा आउनुभयो। उहाँ बेइजिङको पूर्वी क्षेत्रको तेस्रो र चौथो चक्रपथको बीचमा बस्नुहुन्छ। हामी अर्थात् सहकर्मी लक्ष्मी लम्साल र मचाहिँ पश्चिमी क्षेत्रको चौथो र पाँचौँ चक्रपथ बीचमा बस्छौं। उहाँ र हामी बस्ने ठाउँ २२ किलोमिटरभन्दा टाढा हुनुपर्छ।

हामी बसेको क्षेत्रमा आउनु भएकाले उहाँ हाम्रा लागि पाहुना हुनुभयो। तर पाहुनालाई हामीले निवासमा ल्याउन सकेनौँ। कोरोना महामारीपछि बसोबास क्षेत्रमा कसैलाई पनि ल्याउन अनुमति छैन। अर्यालले कतै कफी खाँदै कुरा गरौँ भन्ने प्रस्ताव गर्नुभयो। हामी बसेको नजिकै वान्ता प्लाजाभित्र केएफसी, म्याकडोनाल्डदेखि थुप्रै चिनियाँ रेस्टुरेन्ट छन्। त्यतै जाऔँ भनेर अर्याललाई लिएर वान्ता पुगियो, बिहान १० बजे।

भित्र पसिसक्ता अर्यालले ‘एक्साइटेड’ हुँदै भन्नुभयो, ‘उ स्टारबक्स रहेछ नि। लौ त्यहीँ जाऊँ कफी खान।’

गर्मी महिनामा हप्ताको दुईपटक पुग्ने वान्ता प्लाजाभित्र स्टारबक्स छ भन्ने कुरा मैले ख्याल गरेको थिइनँ। ‘बाहुनले च्याउ खाओस् न भेउ पाओस्’ भनेजस्तै कहिल्यै कफी खाने भए पो ! नेपालमा कफी खाने मान्छे कि डलर कमाउने विकासे व्यक्ति हुन्छन् कि उच्च घरानाका। यो मेरो बुझाइ हो। अरूले कसरी सोच्छन्, थाहा छैन। अर्यालले नै कफी अर्डर गर्नुभयो। लक्ष्मीजी र म हम्मेसी कफी नखाने, खाइहाले पनि क्याफेचिनोमा टन्न चिनी हालेर नेपाली चियाजस्तै बनाएर खाने। सिद्धी अर्यालले अर्डर गरेको कफी हेर्दा कालो, खाँदा तीतो अनि टर्रो।

सुरुप्प पारेर लक्ष्मीजीले भन्नुभयो, ‘हैट ! किशोर नेपाल र नारायण वाग्लेले खाने कफीजस्तो पो रहेछ।’

काउन्टरबाट एक मुठी चिनीका प्याकेट ल्याएर राख्नुभयो। मैले एक प्याकेट हालेर जसोतसो खाएँ। उहाँले तीनपटक चिनी थपेर पनि चुक खाएजस्तो अनुहार बनाउँदै पिउनुभयो। बेइजिङमा नोभेम्बरको सुरुमै जाडो बढ्छ। जाँदो नोभेम्बर त्यसमाथि घनन बजेर चल्ने सिरेटोले सेकेपछि जो कोही बाक्लो ज्याकेट लगाउन बाध्य हुन्छन्। बाहिर चिसो भए पनि घर, बजार, गाडी, रेल, पसल सबैतिर हिटिङ सिस्टम भएकाले भित्र न्यानो हुन्छ।

कफी पसलको सबैभन्दा कुनातिरको ठाउँ रोज्यौँ, हामीले। कुरा अलिक लामै गर्ने ‘मुड’ थियो। अमेरिकाबाट स्वास्थ्य प्रणाली व्यवस्थापनमा विद्यावारिधि गरेर नेपाल तथा दक्षिण एसियाका विभिन्न देशमा काम गरी साझा पार्टीमा प्रवेश गरेका युवा उमेरका अर्यालसँग थुप्रै कुरा गर्नु थियो। मासिक दसौँ लाख रुपैयाँ तलब खाने मान्छे एक्कासि कसरी राजनीतिमा हाम फालेको होला भन्ने जिज्ञासा थियो नै। थप तुलबुल लागेको थियो- साझा पार्टी छोडेको कुराले। कुराको थालनी त्यहींबाट भयो।

मेरो मानसपटलमा अर्याल विकासे मान्छे। निश्चित कार्ययोजना तय गर्ने, समय सीमा तोक्ने, जनशक्ति र प्रविधि छुट्ट्याउने, बजेट व्यवस्था गर्ने, चुनौती र सम्भावना लेखाजोखा गर्ने, ‘हाइपोथेटिक’ योजना बनाउने र त्यहीअनुसार नजिता निकाल्ने। व्यवहारमा जेसुकै होस् कागजमा गज्जबको उपलब्धि बनाउने काम विकासे कार्यकर्ताले गर्छन्। तह फरक होला, सोहीअनुसार योजना र भाषा पनि फरक होलान्। तर नेपाली कम्युनिस्टको चलनचल्तीको भाषा सापटी लिने हो भने रूप मात्र फरक, सार उस्तै।

हामी दुई पत्रकारको जिज्ञासामा चिसो पानी खन्याउँदै अर्यालले एकै अनुच्छेदमा भन्नुभयो, ‘मैले साझा पार्टी छाडे पनि नेतृत्व पंक्तिलाई दोष दिन्नँ। उहाँहरू काम गरिरहनुभएको छ। म भोलि फेरि सामेल हुन पनि सक्छु। अहिले बाहिर बसेर सहयोग गर्छु भनेको छु। म साझा पार्टीलाई मात्र होइन, देशका लागि राम्रो काम गर्ने सबै पार्टीलाई सहयोग गर्न इच्छुक छु।’

यो त प्रवासमा बस्ने सबै नेपालीले बोल्ने भाषा हो। कसैलाई दोषी नदेखाएर अवसरवादी कुराजस्तो लाग्यो, मलाई।

मेरो दुविधा चिर्दै उहाँले भन्नुभयो, ‘देश बनाउने कुरा डलरमा तलब खाएर गरिएको गफजस्तो सजिलो छैन। त्यहीँभित्र बसेर काम गर्दा थोरै अनुभव भयो। अनगन्ती समस्याको जन्जालभित्र पसेर काम गर्दा चाँडै निराश हुने सम्भावना पनि हुने रहेछ। सधैँ सकारात्मक सोच र आशावादी हुनुपर्छ, तब देशलाई केही गर्न सकिन्छ। त्यसकारण सबै पार्टीमा राम्रा मान्छे पनि थुप्रै छन्। सबै राजनीतिज्ञलाई गाली गरेर ती राम्रा मान्छेलाई पनि उही बोरामा कोच्नु एकदम गलत हो।’

कुरा मनासिव लाग्दै थियो।

‘त्यसो भए गर्ने के?’ लक्ष्मीजीले प्वाक्कै सोध्नुभयो।

चुरो कुरा नै यही हो। कुराको पोयो समाएर अर्यालले हामी दुई पत्रकारलाई व्याख्या गर्न थाल्नुभयो। वफादार विद्यार्थीले शिक्षकको लेक्चर सुनेजस्तै हामी उहाँको कुरामा मत्रमुग्ध भयौँ।

‘देश किन बनेन भन्नेबारे हामीले गफ मात्र धेरै गर्‍यौँ, तर सिन्को भाँचेनौँ,’ अर्यालले भन्नुभयो, ‘देश बिग्रनुमा नेता मात्र होइन, नागरिक पनि उत्तिकै जिम्मेवार छन्। हरेक व्यक्तिले आफ्नो कर्तव्य र अधिकार राम्ररी बोध गर्नुपर्छ।’

म अर्यालका कुरा सुन्दै थिएँ। मेरा आँखा ठीक अगाडिको भित्तामा ठोक्किए। त्यहाँ एक जना २५ वर्ष हाराहारीकी चिनियाँ युवती ल्यापटपमा औँला चलाउँदै थिइन्। हुन त चिनियाँको उमेर अनुमान गर्न सकिन्न। अनुमान गरेभन्दा ५/७ वर्ष बढीका हुन्छन्। मलाई लाग्यो– उनी कुनै विश्वविद्यालयको विद्यार्थी हुनुपर्छ।

नेपथ्यबाट सुमधुर धुनले लठ्याएको थियो। बिहानको खाना खाने समयभन्दा अगाडि भएकाले स्टारबक्समा त्यति भीड थिएन। मलाई अर्यालको कुराले भन्दा ती चिनियाँ युवतीको हाउभाउले तान्यो। गफलाई नै छल्ने गरी कस्तो हाउभाउ देखाइन् भनेर सोच्नु होला। नढाँटीकन भन्ने हो भने मलाई उनको हाउभाउले तानेकै हो। मैले १५ मिनेटजति उनको अनुहार नियालेँ। मुखमा मास्क लगाएकी ती युवतीले मतिर हेरिनन्। छेउछाउमा को छन् भनेर वास्ता पनि गरिनन्। नेपथ्यबाट आएको संगीतप्रति उनको कुनै रुचि भएजस्तो लागेन। मलाई उनको हाउभाउले तानिरह्यो।

उनका अगाडि एक मुठो कागज थियो। त्यही हेर्दै उनी ल्यापटपमा लेखिरहिन्। बेलाबेला कफी पिउँदै उनले आफ्नो काम सकिन्। ल्यापटप बन्द गरेर झोलामा हालिन्। साइडतिर कागज कोचिन् र उठेर हिँडिन्। हामी देश बनाउने गफ गरिरहेका थियौँ। हाम्रो चर्को स्वरले उनलाई एक रत्ति असर गरेजस्तो लागेन। उब्रिएको समयमा जाडो छल्दै उनले एक कप कफी पिएर आफ्नो काम सकिन् र हिँडिन्। हो, मलाई उनको यही शैलीले तानेको हो।

चिनियाँहरूको काम गर्ने तरिका गज्जबकै हुन्छ। सन् २०१७ जुनमा चीनको कान्सु प्रान्तको कान्नान तिब्बती स्वायत्त प्रिफेक्चरमा गरिबी निवारण कार्यक्रमको अवलोकन/भ्रमण गर्ने मौका मिलेको थियो। १९ जना पत्रकारमध्ये म मात्र विदेशी थिएँ। चीनका सिन्ह्वालगायत धेरैजसो सञ्चारगृहका चिनियाँ युवा पत्रकार भ्रमणमा सहभागी थिए। भ्रमण सकेर फर्किंदाको दृश्यले मलाई निकै प्रभाव पार्‍यो।

लान्चौ विमानस्थलमा बोर्डिङ पास लिएर सुरक्षा जाँच गरिसकेपछि चिनियाँ पत्रकार सबै आआफ्नै ल्यापटपमा घोत्लिरहेका थिए। विमानभित्र पनि सबै उस्तै व्यस्त। बेइजिङ आएपछि मैले सिन्ह्वा समाचार समितिमा काम गर्ने पत्रकारलाई किन ल्यापटपमै भुलिएको भनेर सोधेँ।

उनले हँसिलो अनुहार बनाएर भनिन्, ‘लान्चौ विमानस्थलमा रहँदाको डेढ घण्टा र उडानको २ घण्टामा तीनवटा स्टोरी तयार गरेर अफिसलाई इमेल गरेँ। आजको काम सकियो।’

ए, काम गर्ने तरिका त यो पो रहेछ! हामी भए कुनै ब्रेकिङ न्युज होइन, फिचरलाई किन हतार गर्नु भन्छौँ। उनीहरू भने विमानमा पनि काम सकेर तुरुन्तै पठाउँदा रहेछन्। मैले हाइस्पिड रेल चढ्दा पनि चिनियाँहरू ल्यापटपमा काम गरिरहेको देखेको छु। यस्तै विषयमा एउटा अत्यन्त प्रेरणादायी कुरा पनि पढेको थिएँ।

गत जनवरी मध्यतिर चीनको हुपेइ प्रान्तको उहानमा कोरोना महामारी फैलिएपछि क्वाङचौमा बसेर काम गर्ने चीनका प्रख्यात् श्वासप्रश्वास रोग विज्ञ चोङनानसानलाई उहान बोलाइयो। उनी प्लेन होइन, हाइस्पिड रेल चढेर पुगे र त्यसको कारणबारे भने, ‘मलाई प्लेनमा काम गर्न उति सजिलो लाग्दैन, जति सजिलो हाइस्पिड ट्रेनमा हुन्छ।’

चीनमा यसरी ९३ वर्ष पुगेका डाक्टर पनि यात्रा गर्दा काम गरिरहेका हुन्छन्। उनै डाक्टरलाई पछि चीनले जनताको हिरो भन्दै राष्ट्रिय उच्च पद दिएर सम्मान गर्‍यो।

अब एकछिन सोचौँ त- खाली समय हामी नेपाली के गर्छाैं? अनामनगरमा भेला भएर ५ राउन्ड चिया पिउँदा पनि हाम्रो गफ सकिँदैन। नेताले देश बिगारे, कर्मचारीले काम गरेनन्, यो देशमा कसैको भलो हुँदैन, बेरोजगारी बढ्यो, युवा पलायन भए, महँगी बढ्यो आदि इत्यादि। त्यति मात्र हो र! क्रिकेट, चलचित्र, हिरोइनका अफेयरदेखि अमेरिकाको राष्ट्रपति निर्वाचनसम्म व्याख्या गर्न हामीलाई कसैले भेट्दैन। कोरोना विशेषज्ञ त हामी सबै नेपाली भइसकेका छौँ। सार्वजनिक बसमा पनि उही कुरा सुनिन्छ। वल्लो घरको छतबाट पल्लो घरको छतमा यही विषयमा गफ जोतेर बिहान कटाइन्छ, टेलिफोनमा घण्टौँ कुरा गर्छाैं। तर प्रतिफल शून्य!

हामीले सोचेनौँ- उब्रिएको समयलाई केही रचनात्मक काम गरेर सदुपयोग गरौँ। केही काम नभए करेसा वा छतमा तरकारी रोप्न सकिन्छ। कहिल्यै नतिजा नदिने गफ मात्र रोप्न जान्यौँ, हामीले। आफ्नै घर/कोठा सफा गर्न नसक्ने, तर गफमा देशकै सफाइ गर्न भ्यायौँ।

चिनियाँहरू धेरै गफ गर्दैनन्। उनीहरूलाई अमेरिकामा को राष्ट्रपति भयो केही मतलब हुन्न। आफ्नै देशको कुन प्रान्तमा को गभर्नर छ, अहँ प्रायः चिनियाँलाई थाहा हुन्न। बेइजिङमा बसोबास गर्ने धेरैजसो चिनियाँलाई बेइजिङकै मेयर को छ भन्ने थाहा छैन। आफ्नो जिम्मेवारी र काममा दत्तचित्तले खट्छन्। त्यसैले उनीहरू भन्ने गर्छन्, ‘चीनको कुनै पनि ठाउँमा तपाईं २ वर्षपछि पुग्नुभयो भने पूरै नयाँ ठाउँमा गएको महसुस गर्नुहुनेछ।’ 

हामी तीन जना देश बनाउने गफ गरिरहेका बेला ती चिनियाँ युवतीले ल्यापटपमा के गरिन्, त्यो त थाहा भएन। तर पक्कै केही काम नै गरिन्।

(इमेलः [email protected])

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .